बद्रीप्रसाद दाहाल ‘भस्मासुर’भुँडेहरूका क्रन्दन
कसरत एक्सरसाइज खालि भकुर्नेछ । स्वाँफाँ- स्वाँफाँ गर्दा पनि खानै दकुर्नेछ ॥ भुँडे-भुँडे गठबन्धन गर्नै क्वै मान्दैन । सतीको नै श्राप हो कि नाम क्वै भन्दैन ॥

बद्रीप्रसाद दाहाल :
जे-जे पनि मिठो मान्ने मुखै चेपारे म ।
थुप्पा मम भुटन करी रूच्ने बेसारे म ॥
जेरीपुरी रसबरी पेडा बर्फी आहा ?
केरा दही तर घिउ भकुर्नै छ चाहा ॥
वाइन र बियरका सिसी लडाउँछु ।
मासु नभै ज्युनार हुन्न भनी कराउँछु ॥
घुमडुल प्राणायम ध्यान योगा पिटी ।
गरूँ भने अल्छी लाग्छ, बस्छु दाह्रा किटी ॥
खेलाँचीमै उल्र्यो भुँडी भन्छन् सबै भुँडे ।
घ्याम्पे बङ्गुर हात्तीपेटे उपनामै के के ?
उत्तानो त सुत्नै हुन्न, यमराजको भय ।
वोल्टेकोल्टे फिर्दा पनि बनिन्छ कि लय ॥
दमाहा नै ठम्याएर नाति गजा हान्छ ।
अगस्ति यो मुख मोरो आँखा चिम्ली खान्छ ॥
ट्याम्पोवाल भन्छन् सोझै डबल लाग्छ भाडा ।
आन्द्रे थैलो फट्टिएर परेँ हालाबाला ॥
कसरत एक्सरसाइज खालि भकुर्नेछ ।
स्वाँफाँ- स्वाँफाँ गर्दा पनि खानै दकुर्नेछ ॥
भुँडे-भुँडे गठबन्धन गर्नै क्वै मान्दैन ।
सतीको नै श्राप हो कि नाम क्वै भन्दैन ॥
०००
धादिङ ।
Subscribe
Login
0 Comments
Oldest



































