विश्व शाक्यएै मूला ! म किन ठूला ?
न म कसैको चम्चा बनेँ । न कसैको हनुमान हुँ भनेँ । न कहिल्यै कसैलाई गोडेँ । न राजनीतिको खोल ओढेँ । अनि, म कसरी ठूला ? एै मूला ! भन, म किन ठूला ?

म, आफ्नै छानोमुनि, मानो खाएर
सन्तोषको बेलिविस्तर लाएर
आनन्दसँग बसिरहेको मान्छेलाई
बिनसित्तिमा ठूलो मान्छे रे !?
झोँकै चल्ने !?
एै मूला ! भन, म किन ठूला ?
न मैले मान्छे गिँडेँ ।
न मान्छे मार्दै हिँडेँ ।
न होलीवाइनमा बिकेँ ।
न समृद्धिको कुरा झिकेँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?
मैले न कसैकी स्वास्नी ताकेँ ।
न कसैकी स्वास्नी सुटुक्क डाकेँ ।
न घरकी, न परकीलाई ढाकेँ ।
न देवी देउतालाई झैँ भाकेँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?
न मलाई सत्ताको मात लाग्यो ।
न मलाई भत्ताले भात लाग्यो ।
न कसैको मैले झापड खाएँ ।
न कतै जुत्ताको लापड पाएँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?
न मैले कमिशनको ‘क’ जानेँ ।
न भ्रष्टाचारको ‘भ’ जानेँ ।
न कुनै नेतालाई देवता मानेँ ।
न परम परमेश्वर ठानेँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?
न म कसैको चम्चा बनेँ ।
न कसैको हनुमान हुँ भनेँ ।
न कहिल्यै कसैलाई गोडेँ ।
न राजनीतिको खोल ओढेँ ।
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?
बुझिस् !?
ठूला हुन ढाँट्नु पर्छ ।
मान्छे मार्न आँट्नु पर्छ ।
रात-विरात बैंश साट्नु पर्छ ।
छप्काई छप्काई मान्छे काट्नु पर्छ ।
अनि बल्ल ठूलो मान्छे हुन्छ ।
देशको ढुकुटीको भान्छे हुन्छ ।
यी सबै गर्न डराउने बबुरो म,
अनि, म कसरी ठूला ?
एै मूला ! भन, म किन ठूला ?
मूला ! म किन ठूला ?
१९ फागुन २०७६
पोखरा
Subscribe
Login
0 Comments
Oldest







































