बालकृष्ण खनालउस्तै हुँदैनन् सब
फाले ज्यान लडेर राज्यसँग जो, लोक्तन्त्रको खातिर नेता भ्रष्ट भए र पो त जनको, धोका भयो आखिर। हाम्रो हैन बुझौँ कुरा सबजना, राम्रो चुनै है अब हेरौँ शुद्ध सफा पवित्र मनको, उस्तै हुँदैनन् सब।।

बालकृष्ण खनाल :
पाटीको भरमा परेर बसियो, मिल्नेछ मौका भनी
आसै आस बिते सबै दिनहरू, भेटेन केही पनि।
बाठाले सबथोक लुट्दछ यहाँ, भोकै सिधा मर्दछ
मौका मिल्छ सधै उहीँ चतुरको,जो पाउमा पर्दछ।।
आशा गर्न हुँदैन रैछ भुल भो, आशा निराशा भयो
आशै आश गरेर जीवन पुरै, आधा बुढाे भै गयो।
नेतानै सबथोक हो भनिकनै, बोकेर झोला बित्यो
मैले जीवनमा गरे जति सबै, सन्तानले पो सिक्यो।।
छोरो लठ्ठु भयो गयो पछिपछी, झोला समाईकन
हालौँ भोट कहाँ छ कोर गतिलो, लाग्दैन हाल्ने मन।
देखे भ्रष्ट सबै यिनै नजरले, कस्को भरोशा गरौँ
छोडी गाउँ कतै अरू मुलुकमा, लाग्दैछ बस्ती सरौँ।
खाने अन्न जुटेन यो मुलुकमा, बाँझो छ धर्ती सबै
भोको पेट कसेर बाहिर हिँडे, छोरा र छोरी कठै।
कोही सौदि पुगे कमाउन भनी, कोही पुगे भारत
कोही छैन यहाँ युवा र युवती, कुर्छन् बुढाले घर।।
फाले ज्यान लडेर राज्यसँग जो, लोक्तन्त्रको खातिर
नेता भ्रष्ट भए र पो त जनको, धोका भयो आखिर।
हाम्रो हैन बुझौँ कुरा सबजना, राम्रो चुनै है अब
हेरौँ शुद्ध सफा पवित्र मनको, उस्तै हुँदैनन् सब।।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest






































