ललिता ‘दोषी’यहाँ यस्तै छ भाइ !
तिमी ओइलाएजस्तै
म पनि ओइलाई सकेको छु
हिँड्दा हिँड्दै थाकी आफैसँग
चुपचाप बसेको छु
भैगो हतार नगर भाइ !
भोलि यहाँका बस्तीबस्तीले चिन्छन्
आज तिमी छैनौ, म छैन
भोलि हाम्रो नाम अमर हुन्छ
यहाँ यस्तै छ भाइ !
औँसीमा जून खोजिन्छ
जिउँदो छउन्जेल घोचपेच
मरेपछि मात्रै पुजिन्छ
आस्था एउटै भाइ !
मरेर अमर हुने
आज फ्याँकिएका रचना
होलान् ती आकाश छुने
यहाँ यस्तै छ भाइ !
मरेपछि तस्बिरले चिनाइन्छ
बाचुन्जेल प्रेरणाले हत्या
मरेपछि प्रेरणा जगाइन्छ
माथि उठ्न साहित्य होइन भाइ !
आफन्त पो चाहिन्छ
दुई–चार अक्षर केरकार गर्न जान्नलाई
यहाँ ठूलो कवि लेखक बनाइन्छ
आफन्त छन् भने ‘क’ मात्र लेखे पुग्छ
अर्थसर्थ चाहिँदैन अनर्थै भए पनि
वाहा ! वाहा ! प्रशंसा पाइन्छ
तिम्रा आफन्त छैनन् भाइ !
त्यस्तै मेरो पनि
भावना किन उर्लिदो हो कुन्नि !
वास्तविकता बुझेरै पनि
भन्छन् कति छपाइस् ?
लेखेर पो के पाइस्
तेरो भावना भाव नै हैन
त शून्यमा हराइस्
म हराएको होइन भाइ !
आफन्तको प्रतिस्पर्धाले
डराएको मात्र हुँ
भावनाको प्रतिस्पर्धा छैन यहाँ
त्यसैले कलम नचलाएको मात्र हुँ ।
बुद्धनगर काठमाडौँ
शब्दाङ्कुर, कात्तिक,२०६९
Subscribe
Login
0 Comments
Oldest






































