रमेश खकुरेलतेल पुराणका दुई अध्याय
१. तेलको लाम
हिजैदेखि बसेका छन् तेलका लागि लाममा
दिउसो यत्तिकै ताते टण्टलापुर घाममा ।
न सुत्नु भो न भो खानु न ता आराम गर्नु भो
लघुशङ्का दीर्घशङ्का लाग्दा बाँच्नु न मर्नु भो ।
बिहानीको सौम्य वेला निद्राले जोड नै गर्यो
जुत्ता सिरानी राखेर मार्गमै सुत्नु नै पर्यो ।
अहा कस्तो मिठो निद्रा कहाँ पाउनु सेजमा
थाकेर लस्त पारेको भोको जर्जर देहमा ।
चितुवाको गाँस बन्ने कुन दुष्ट यहाँ मर्यो
टङ्कीमा जो तेल बाँकी झिकी भाग्यो कता मर्यो ।
बिस्तारै लाम सर्दै गो एक रात दुई दिन
बल्ल पालो भयो तेल लिने आनन्दको छिन ।
त्यहाँ पुग्दा सिद्धिएछ बज्रै लागे समान भो
घिच्याई घरमा पुग्दा अर्को दिन तमाम भो ।
२. स्वर्गवासी
अब गुन्द्रुकको झोल हाली गाडी चलाउने
आफै चल्यो भने चल्छ नत्र धक्का लगाउने ।।
किन खन्ने ग्याँस खानी किन पेट्रोलको कुवा
छिमेकीले गर्न थाल्छन् खन्न थाले हुवाँ हुवाँ ।।
झोली फैलाउँदै माग्ने अनुदान कि ता कतै
कि खोला एउटा बेची पानी बग्न दिने उतै ।।
सीमा सारेर के भो र चुप लागी बस्यौं भने
खल्तीमा आउनन् नोट आज्ञाकारी बन्यौं भने ।।
नकराओ देशवासी स्वर्गवासी बनाउँला
मेरा प्रभु जसो भन्छन् उस्तै नाची नचाउँला ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































