साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यदेव वासुदेवको विदाइ

अर्को फोटो कलमले चिउँडोमा घोचेर टाउका माथिबाट निस्केको ढाँचामा फोटो खिचियो । हास्यका नौ अवतारको फोटो पनि खिचियो । दुनियाँ अर्कै थियो ।

Nepal Telecom ad

२०६३ भदौ २५ गते बिहान साँढे ६ बजे टेलिफोनको घन्टी बज्यो । म ओछ्यानमै थिएँ । ‘म रोचक घिमिरे ।’ ‘नमस्कार घिमिरेजी ।’ ‘एउटा कुरा थाहा पाउनु भो ?’ ‘के कुरा ?’ ‘वासुदेवजी बिहान चारबजे बितेछन् ।’ अचम्म साथ ‘हँ, हो र ? !’ ‘खबर गर्नुपर्ने मान्छे भए गर्नुपर्ला । तपाइँ जानुहुन्छ कि आफ्नो इच्छा ।’ यो खबरले हलचल, छटपटी ल्यायो । बिहानको नित्यकर्म एकसाथ सकी टेकवीर मुखियाजीलाई खबर गरँे । उहाँलाई घरमै बोलाएँ र सँगै जाने कुरा गरँे । हासने महासचिव धर्मराज बरालको दुवै फोन लागेन । अरुलाई भन्न भ्याइनँ । मुखियाजी आउनुभयो साढे सातबजे र ट्याक्सी लिएर कुद्यौँ ढुङ्गाअड्डातिर चक्रपथबाट । बाटामा बूढाका बारे थोरै कुरा भए । बूढालाई स्याहार्ने मान्छेको अभाव । दुवै बूढी उहिल्यै बिते । मैलाधैला परिधान । सानो पाउरोटीको पिसमा जीवन गुजारे पनि सधैँ प्रशन्न, दुःख नदेखाउने र कसैलाई दोष नदिने । सबैलाई उत्साह दिने । प्रेरणा प्रदान गर्ने । बूढाको पछिल्लो पालामा सायद एकाकीपन थियो कि ? पुल्चोक घर हुँदा हप्ताको दुईचार पल्ट हामी (अर्थात् दातारामजी जस्तै मुखियाजी पनि पुग्ने गथ्र्यौँ । बूढा कहाँ साम्वभक्त सुवेदी, तुलसी मेहर, रामकृष्ण शर्मा, लीलाध्वज थापा पनि आउँथे । पहिला चक्र राखेको घरपछि मन्त्री क्वाटर बनेको ठाउँमा त केशवराज पिँडाली, भैरव अर्याल, श्रीधर खनाल दाताराम शर्मा, साझाका पन्तजी र हामी हुन्थ्यौँ । समय अर्कै थियो ।

वासुदेवजीकी श्रीमती शान्तिजी खूव माया गर्नुहुन्थ्यो । वासुदेवजीको कार्यालय जगदम्वा प्रेशमा त धेरै साहित्यकारसँग भेटघाट र चियापान हुन्थ्यो । वासुदवेजीले अरुकै स-साना जीवनीहरू छाप्ने काम पनि गर्नुभयो । कुराकानीको टेप गर्ने काम पनि गर्नुभयो साहित्यकार र विकासको विद्युतीय स्वराङ्कन आमलेखनारम्भ यो नै पहिलो हो कि ? मैले धरणीधर कोइराला र तुलसी मेयरको अन्तर्वार्तामा उहाँसँग निकै समय बिताएको थिएँ । हास्य-व्यङ्ग्यको निकै छलफल हुन्थ्यो । उहाँले लेखेको कुरा मलाई नदेखाइ चित्त बुझ्दैनथ्यो र सुधार्न पनि तत्पर हुनुहुन्थ्यो । हामी उट्पट्याङ्ग पनि गर्थ्याैँ । दातारामजीलाई ठूलो नाङ्लोमा, पिँडालीलाई रीजो घोप्टो माटाको गाग्रीमा, गोतामेलाई डालामा ख्वाप्प राखेर, श्रीधरलाई खुट्टा खुस्केको मेचमा झोला बोकाएर, वासुदेवजीलाई समदौरामा सुकुलचकटामा उभ्याएर र आफू चाहिँ अनेकथरि कलमको मुण्डमाला लगाएर फोटो खिचियो । एकपल्ट त वासुदेवजीलाई कार्यालयको टेवलमा बसाएर घुम्ने मेचमा खुट्टा राख्न लगाएर फोटो खिचेँ । अर्को फोटो कलमले चिउँडोमा घोचेर टाउका माथिबाट निस्केको ढाँचामा फोटो खिचियो । हास्यका नौ अवतारको फोटो पनि खिचियो । दुनियाँ अर्कै थियो । रमाइलो थियो ।

एकपल्ट सहित्यकारहरूको समूहमा जगदम्बा प्रेसमा फोटो खिच्दा राजेश्वर देवकोटा मेरो अगाडि उभिएका थिए । उनको टोपीको चुच्चो मेरो चिउँडोको तल घोच्दै थियो । आँखामा झ्ल्याकझुलुक निकै आए । मुखियाजीलाई मैले उही मन्त्रिक्वाटर बनेको ठाउँको घरमा उहिल्यै वासुदेवजीसँग चिनाएको थिएँ । समय कसरी बग्दो रहेछ ! स्मृतिका अनेक पानाहरू पल्टँदै गए । पानी दर्किरहेको थियो । जाडै थियो । हामी ढुङ्गाअड्डा पुग्यौँ । र ओर्लिएर पेट्रोलपम्प पछिल्तिरको उहाँको घरतिर लाग्यौँ । मान्छेहरू आउँदै उभिँदै थिए । बाहिर खुला अनुहारमा रामनामी ओढाएर राखिएको, भदौरे घाम हैन बदली दर्किएर पानीले भिज्दै थियौँ । हाडछाला रूप, लामो चिउँडो र नाक अन्तरिक्षको कतातिर फर्किएको थियो । सायद व्रह्माण्डको सफरमा उडिरहेको थियो वासुदेव लुइँटेलको आत्मा । छाता ओढेरै अभिवादन । गतिविधि निरीक्षणको केही समय उनका हास्य रूपहरू आँखामा झलझली आए । मनमा अँध्यारो हराउँदै गयो । बल्खुतिर हानिए सबै सद्भाव राख्ने नातेदार, छिमेकी र साहित्यकारहरू लावा र खुद्रा छर्दै परम्परा धान्दै अग्निमा होमियो ।

हास्यदेव वासुदेव चौहत्तर साल भाद्र २३ गते जन्मेको । जन्म गतेको दुई दिनपछि २०६३ सालमा बिते र ९० वर्षको दुई दिन मात्र बाँचे । वास्तवमा मान्छेको जिन्दगी नै एकदिन जन्मने र एकदिन मर्ने दुईदिने नै हो । सवैको गति यही हो । तापनि किन तुजुक गर्छ, डाढो गर्छ र रीस, ईबीमा बाँच्छ मान्छे ? मान्छेले दिनको एकपल्ट मात्र मृत्यु सम्झे यो दुनियाँ कति सुखी हुन्थ्यो होला ? दुई दिनको जिन्दगी कति रमाइलो हुन्थ्यो होला ?

हास्य-व्यङ्ग्यकारहरू नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, अर्जुनदेखि यस क्षेत्रका हस्ति धर्मराज बरालसम्म थिए छोटो समयको सूचनाभित्र । काम सकिएपछि मात्र खबर दिनु भन्ने वासुदेवको अगाडिको उर्दी मिचेर मायाको भक्कानो बोकेर जम्मा भएका थिए नगेन्द्रराज शर्मा, रोचक घिमिरे । धेरै स्वनाम धन्य थिए त्यहाँ । जयराम छेउमै एक्लो महसुस गर्दै थिए होलान् । सुषमाजीको भक्कानो फुट्दा सवैमा खिन्नताले असजिलो दुखाइ महसुस गरेको हुनुपर्छ । घाटमा वासुदेवजीका छिमेकीले धेरै ज्ञानवद्र्धक कुरा गरे- नेपाली संस्कृति बारे । रासससँग टेलिफोनको उत्सुकतामा मैले भनँे हास्यक्षेत्रका महर्षि हुन् लुइँटेल । सवैलाई प्रेरणा दिने उत्साह दिने यी हास्यावतार नै थिए ।

हामी पुनः ट्याक्सीबाट जाउलाखेल फर्कियौँ । यसबखत धर्मराज बराल पनि थिए । आफ्नो मन आफैँले बुझायौँ । बूढाको नियतिप्रति अफसोचका सोच मात्र निस्किए ।

घरमा फर्केपछि टेलिफोन आयो रेडियो नेपालबाट । वासुदेव लुइटेलको निधन भएको एउटा समाचार कन्फर्म गर्न । हो बिहान चारबजे बितेका रे । म घाटबाट भर्खर फर्केको । उनी बिते ।

वासुदेवजीकहाँ पछिल्लो समय धेरै भेटघाट हुन सकेन । टाढा बस्नुभयो । दिन माया मारेर जानुपथ्र्यो । मेरो गाडी थिएन । फोनमा पनि कुरा भएन । यत्तिकै बित्यो । समय सधै एकनास हुने रहेनछ । विगतका मिठा दिन र उहाँको उज्यालो अनुहार झलझली सम्झन्छु । ती दिन गए । कहिल्यै नफर्कने गरी गए । सायद सवैको नियति यही हो । जीवन मात्र दुई दिन । यस अवधिका क्षणहरू सकारात्मक सोचमा बितोस् बाँच्नेहरूको र सम्झौँ हास्यदेवको महानवाणी ‘हाँस्नु हँसाउनु हाम्रो अधिकार हो र कर्तव्य पनि ।’ हो यसकै लागि हाँसेर बाचौँ बाँचेर हासौँ ।

उही दिन २०६३
‘फित्कौली’ १२, वासुदेव लुइटेल विशेषाङ्क, फागुन-२०६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x