तिलक लुइटेलसुन्तला कि नरिवल ?
छिमेकीले सीमाको सुन्दर भूमि मिचेको देख्ता खासै लाज नलागे पनि कुहिएका सौगातले कुट्ता हाम्रा नेता लाजले भागे ।

देश त अर्कै हो तापनि छिमेकी हुनाले रीतिरिबाज उस्तै उस्तै छन् । चाडपर्व, बिहाबटुलो, तिथिश्राद्ध, मेलाजात्रा, उत्सव आदिमा बोल्ने बोलाउने पनि दोहोरो चलेकै छ । आखिर जिउँदाको जन्ती र मर्दाको मलामी भनेको छिमेकी नै हो । त्यही भएर त हाम्रामा निर्वाचन भयो, बोलाइयो । ज्ञानी नै हुन्, छिमेकीमा काम पर्दा आए, निर्वाचनमा सहभागी भए, आफ्ना बलबुतो, बुद्धि दैयाले भेटेसम्म सहयोग गरे ।
त्यसै दिन छोरीका बिहेको लगन जुरेको रहेछ, हाम्रैमा कामको मारामार भएकाले दुई हप्ता पछि सारेर अर्को लगन निकालेका रहेछन् । यता चुनावको मतगणना सकियो । केही बाहरू र केही नानीबाबुहरूले जिते । छिमेकी छोरीका बिहेको निम्तो पनि आयो ।
सहमति, सहकार्य, मेलमिलापमा हाम्रो देश पहिलेदेखि नै प्रसिद्ध छँदै छ । हालमा चलेको गठबन्धन सरकार, गठबन्धन चुनाव तिनका ज्वलन्त उदाहरण भइहाले । अरु पनि त्यस प्रकारका मिलेमतोमा भएका महान् कामहरू छन्, त्यतातिर नलागौँ । अब नयाँ सरकार पनि सहमतिमै बन्छ, सत्ता र भत्ता बाँडफाँड जे गर्नुपरे पनि सहमति जुट्छ । छिमेकी बिहेको निम्तोमा पनि उस्तै सहमति भयो ।
हालका चुनावी विजेता नेताहरू नै जाने कुरा मिल्यो, केही होस पुर्याउने वृद्धहरू र केही जोस देखाउने युवाहरूको टोली, त्यसमा सबैका अफिसियल र आफन्तहरू समेत सामेल हुँदा सानो सानो जम्बो टोली बिहेमा जाने सूची बन्यो । सबैलाई थाहा भएकै कुरा हो, हाम्रामा सुखदुःख जेसुकै पर्दा पनि छिमेकबाट कोसेली आउँछ । उनीहरूका ल्याकतले भ्याउने कोसेली ल्याउँछन् । आफूले पनि रित्तो हात जाँदा त बाउबाजेको नाक जाने भयो । गतिलो कोसेली लानुपर्दा मुलुकको गच्छे विचार गर्नुपर्यो ।
विदेशी र्यामिट्यान्स लगेर त आफ्नो मौलिकता देखिएन । कृषि उत्पादनकै कोसेली बोक्दा नै देश सुहाउँदो हुने सबैको एकमत बन्यो । देशको इज्जत पनि आफ्नै उत्पादनको प्रस्तुतिमा छ । कृषि उत्पादनमा त धेरै थरी वस्तु छन्, लैजाने चाहिँ के ? अबको फसाद यस्तै पर्यो । सबैले आआफ्ना मत बिसाए, मन्थन भयो र आखिरमा कृषि उत्पादनकै पनि तत्काल खान मिल्ने वस्तु लैजाने निधो भयो । के होला त, त्यस्तो सजिलो, छरितो र सुपाच्य तत्काल खाने वस्तु ?
फसाद यहाँ पनि । युवा खालका नेताले भने– इज्जतिलो कृषि उत्पादन त नरिवल हो, त्यही लैजाऊँ । वृद्ध नेताले भने- होइन, बालवृद्ध सबैले खान पनि सजिलो, रसिलो पोसिलो त सुन्तला नै हो । नरिवल र सुन्तलाका नाममा युवा र वृद्धको विमतिले झन्डै नाराजुलुस, हडताल, ढुङ्गा हानाहान, टायर बालाबाल, झन्डा प्रदर्शन र डन्डा प्रहारसम्मको स्थिति मुलुकमा आयो । न्याय प्राप्ति र हकहितका लागि समर्पित बिचराहरूले दुःख पाएकै हुन् । आखिरमा न्यायालयका सहायताले सुन्तलाकै पक्षको जित भयो ।
बापक्षको मुख हँसिलो भयो । झोक्राएको मुख लगाएरै भए पनि युवा नेताले विदेशी पाहुनाको सत्कार स्वीकार गरे । कोसेलीका सुन्तला प्याक गरेको केही दिनपछि यात्रा सुरु भयो, केही दिनको यात्रापछि बिहाघरको गन्तव्यमा पुगियो, कोसेली जिम्मा लगाइयो । आखिर त गर्मी याममा प्लास्टिक र्यापिङ भएर पन्ध्र दिन बसे । बुढा नेताका रुचिमा लगेका सुन्तला देश र जनताप्रति उनीहरूको सद्भाव कुहिए जस्तै भएर कुहिएछन् । कोसेलीका कुहिगन्धले बिहेघरको परिवेशमा हाम्रा नेताको चालु चरित्र उपस्थित भएकै थियो । उरन्ठेउला त त्यहाँ पनि नहुने कहाँ हो र ? उनीहरूका भावनामा देशप्रतिको इज्जत भएकाले होला कुहिएका सुन्तला देख्नासाथ उनीहरूले आफ्ना देशको अपमान सम्झिए ।
रिसले मुर्मुररिँदै नाना थरी गाली गर्दै कुहिएका सुन्तलाले कोसेली लानेहरूका टाउकै टाउकामा हिर्काउन थाले । छिमेकीले सीमाको सुन्दर भूमि मिचेको देख्ता खासै लाज नलागे पनि कुहिएका सौगातले कुट्ता हाम्रा नेता लाजले भागे ।
देशको नेटो नकाटेसम्म उरन्ठेउलाले लखेट्न छोडेनन् । प्रायः सबैले एकदुई सुन्तला प्रहारको स्वाद पाएकै थिए । जब छिमेकी उरन्ठेउला फिर्ता गए अनि बूढा नेताले लामो सास फेर्दै युवाहरूलाई भने- हाम्रो कोसेली लाने जस्तै उनीहरूको कोसेलीले हान्ने परम्परा रहेछ ।
देख्यौ त, धन्न हाम्रो पाको अनुभव आज काम लाग्यो । तिमीहरू अल्लारेका भनाइमा लागेर नरिवल ल्याएको भए के दशा हुने रहेछ ?
०००
कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest




































