
नेताले त देउतालाई पनि ठग्छ
“देवताहरू हो ! तिमीहरूको यस्तै हरकतका कारण कोही स्वर्ग आउन चाहँदैन । आइन्दा ख्याल गर्नू ! नत्र...!”

कता कता चोरबाटोबाट एकजना ढोंगी नेता स्वर्गमा घुसिहालेछ । देवताहरूले त्यो कुरूप अनुहार देख्नेबित्तिकै चिनिहाले र त्यस फटाहालाई समातेर भक्कुमार कुट्न थाले । त्यो त्यहीं ढल्यो …।
धेरैबेरपछि बडो मुस्किलले धङ्धङाउँदै उठ्यो र केही बोल्ला जस्तो गर्यो । देवताहरूले सोचे कि अब त्यसले आफूले गरेको फट्याइँ र पापको लागि पश्चात्ताप गर्दै क्षमा याचना गर्नेछ ।
त्यो बोल्यो पनि-
“देवताहरू हो ! तिमीहरूको यस्तै हरकतका कारण कोही स्वर्ग आउन चाहँदैन । आइन्दा ख्याल गर्नू ! नत्र…!”
यति बोलेर त्यो त्यहाँबाट पत्ताचोट भाग्यो । र, एकैछिनमा आफ्नै स्वर्गमा पुग्यो ।
शेक्सपियरले त्यसै भनेका रहेनछन्-
‘नेताले पायो भने देवताहरूलाई समेत ठग्छ ।’
हामी त जनता…!
मने भेँडा…!
०००
काठमाडौं