
चार ठोक्तक
भित्रभित्रै मेरो मनमा केले खन्छ, खन्छ त्यही भएर एउटा कुरो मेरो मनले भन्छ चैत बितिसकेपछि सिरिर्र हावा चल्दाखेरि अझैं पनि अन्तिम पटक बिहे गर्न मन छ ।

बाबुराम पोखरेल :
१
हिँड्दाको साइत कस्तो गाडी पनि असल परेछ
गर्भवती महिलालाई यस्ले डाक्टरकै काम गरेछ
म पनि धन्न त्यसै गाडीमा परेछु र मेरो चाहिँ-
कलेजोका दुइटा स्टोन पिसाव थैलीमा पो सरेछ ।
२
आश्वासन त मीठा हजुर तर अलि सस्तो
काम चलिसकेपछि फाल्ने भाँडो कस्तो ?
कबोलहरू कत्ति पनि पूरा भाका छैनन्-
हिजो आज होइसिन्न त भोट माग्दा जस्तो ।
३
भित्रभित्रै मेरो मनमा केले खन्छ, खन्छ
त्यही भएर एउटा कुरो मेरो मनले भन्छ
चैत बितिसकेपछि सिरिर्र हावा चल्दाखेरि
अझैं पनि अन्तिम पटक बिहे गर्न मन छ ।
४
गाडिभित्र यात्रु भन्छन्- “पिङमा बसेजस्तो”
जेठसम्म यात्रा गर्दा, पाउडर घसेजस्तो
असार महिना लागेपछि, यात्रा गर्नु पर्दा-
कुले गरो हिल्याउन, ट्याक्टर पसेजस्तो ।
०००
विराटनगर ।