पर्छ ! पर्छ !! पर्छ !!!
आयोग बनाउनुपर्छ, प्रतिवेदन तयार गराउनुपर्छ तर फेर्नु हुँदैन । आठ वर्ष भए पनि केही छैन । हामी त आठ सय वर्षसम्म भाषण गरिरहने छौं, ‘हुनुपर्छ ! गर्नुपर्छ !! फेर्नुपर्छ !!!’ तर फर्ने होइन ।
हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
‘वर्तमान शिक्षा प्रणाली अत्यन्त दूषित छ । यसमा आमूल परिवर्तन गर्नुपर्छ ।’ भनेर फलाना नेता या मन्त्रीले फलानो ठाउँमा भाषण गरे भनेर दिनदिनै सुनिन्छ । भारतका राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्री, राज्यहरूका मन्त्रीहरू, नेता, व्यापारी नेता सबैले यही भन्दै छन्, ‘शिक्षाको पद्धति फेर्नुपर्छ ।’ यो ‘यो फेर्नुपर्छ’ भन्ने कुरो राष्ट्रपतिले पचास पटक, पण्डित नेहरूले दुई सय पटक र प्रत्येक मन्त्रीले कम्तीमा पाँच सय पटक त भने होलान्, ‘फेर्नुपर्छ ! फेर्नुपर्छ !’
तर आठ वर्ष बिते, फेरिएको छैन । कतै घरमा आगो लाग्दा ‘पानी ल्याओ ! पानी ल्याओ !’ भनेर कराउने त धेरै हुन्छन् तर वास्तवमै पानी ल्याउने त एक दुई जना मात्र हुन्छन् । अरू सबै त कराउने मात्र हुन्छन् ।
हाम्रा मन्त्रीहरू पनि यस्तै किसिमका कर्मशील मानिसहरू हुन् । उनीहरू पनि हामीसित भन्न चाहन्छन्, ‘बाबु, हामी त यो गर्नुपर्छ र त्यो गर्नुपर्छ भनेर बोल्ने मात्र हौं । हामी गर्दैनौं । यदि गर्ने पनि हामी र भन्ने पनि हामी नै भयौं भने त गडबड भइहाल्छ नि ! काम त बाँड्नुपर्छ । हामी भन्दै गर्छौं र काम अर्कैले गर्नुपर्छ । जसले भन्ने हो उसले गर्नु हुँदैन ।
इमानदारीको उपदेश दिने मान्छेले यदि आफै इमानदारी देखाउन थाल्यो भने गडबडी हुन्छ । सत्यको उपदेश दिनेहरूले मिथ्या बोल्नैपर्छ । अनि यसरी ‘गर्नुपर्छ, हुनुपर्छ र फेर्नुपर्छ’ को घोष घोषित भइरहन्छ । यस उपदेशको धुवाँले गर्दा त निसास्सिनुपरेको छ ।
आखिरमा मेरो मनमा यस्तो प्रश्न उठ्छ ‘शिक्षापद्धति फेर्छ कसले ? शिक्षाको सम्पूणर् व्यवस्था त सरकारले आफ्नै हातमा राखेको छ । विश्वविद्यालयको शिक्षाको सञ्चालन मन्त्री या राज्यपालको कुलपतित्वमा हुन्छ । अनि फेर्छ कसले ? जसले फेर्नुपर्ने हो ऊ ‘फेर्नुपर्छ’ मात्र फलाकिरहन्छ । फेर्नुपर्छ भने किन फेर्दैनौ त ?
तर हुँदैन । फेर्नु हुँदैन । यसरी त गडबडी हुन्छ । यदि फेरियो भने भाषण गर्ने आनन्द नै समाप्त हुनेछ । त्यसैले आयोग बनाउनुपर्छ, प्रतिवेदन तयार गराउनुपर्छ तर फेर्नु हुँदैन । आठ वर्ष भए पनि केही छैन । हामी त आठ सय वर्षसम्म भाषण गरिरहने छौं, ‘हुनुपर्छ ! गर्नुपर्छ !! फेर्नुपर्छ !!!’ तर फर्ने होइन ।
०००
(यो लघु आकारको लेख हिन्दीका सुप्रसिद्ध व्यङ्ग्यकार हरिशङ्कर परसाईको ‘परसाई रचनावली ४ को ‘चाहिए ! चाहिए !! चाहिए !!! बाट अनुवाद गरिएको हो । ‘चाहिए’को नेपाली ‘चाहिन्छ वा पर्छ’ दुबै हुन्छ र यहाँ ‘पर्छ’ उपयुक्त छ- अनुवादक ।)
Subscribe
Login
0 Comments
Oldest