सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘दश औतार’ भित्रका हास्यव्यङ्ग्य केन्द्री समीक्षा

नेपाली हास्यव्यङ्ग्य समीक्षाका क्षेत्रमा अर्यालको नाम सदासर्वदा सुनौलो अक्षरमा रहिरहने सामग्रीका रूपमा यस कृतिको मूल्य अङ्कित भएको कुरा अध्येता सबैले मनन गर्ने नै छन् ।

Nepal Telecom ad

नेपाली हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट साधक भैरव अर्यालको समीक्षात्मक निबन्धको सङ्ग्रह हो ‘दश औतार’ । अर्याल मूलतः हास्यव्यङ्ग्य निबन्धलेखनका अद्भुत शिल्पी हुन् परन्तु, उनको यो सङ्ग्रह पूर्ण हास्यव्यङ्ग्यात्मक छैन । हास्यव्यङ्ग्यमा केन्द्रित रही पूर्वप्रकाशित केही समीक्षात्मक निबन्ध र केही अन्य व्यक्तिकेन्द्री प्रभावपरक निबन्धहरूको सँगालो बनेको पाइन्छ । लेखकले सुरुमा हामी पाठकलाई उल्लु बनाएका छन् : विषयसूचीमा दश ओटाको नाम दि पुस्तकभित्र आठ ओटा मात्र निबन्धहरू समावेश गरेर । उनका ‘भैरव अर्याल’ र ‘भिनाजु-भूतको’ शीर्षकका निबन्धहरू लेखिएकै छैनन्, पुस्तकमा तिनका शीर्षक मात्र दिई पानाहरू त्यत्तिकै खाली छाडिएका छन् । यो उनको लेखनमाथि उनले गरेको ठूलो व्यङ्ग्य हो भन्ने मलाई लागेको छ ।

प्रस्तुत सङ्ग्र्रहमा रहेका आठ ओटा निबन्धहरूमध्ये पाँच ओटा मात्र हास्यव्यङ्ग्य विषयसँग सम्बन्धित छन् ः ‘व्यङ्ग्यबाजेलाई एउटा खुलापत्र’, ‘लेखनाथज्यूको भोजन भट्ट’, ‘व्यङ्ग्यविनोदी देवकोटा : केही झल्याकझुलुक’, ‘तिवारी गुरु र भान्सेबाजे’ र ‘व्यङ्ग्यकार रिमाल : एक दृष्टि’ यीबाहेक अरू तीन निबन्धहरूमा ‘खरदारबाजे र इतिहासको ठेली’ ‘इतिहासशिरोमणि बाबुराम आचार्य’सँग सम्बन्धित, ‘सम्पादक प्रेमराज शर्मा’ गोरखापत्रका वरिष्ठ सम्पादक प्रेमराज शर्मासँग नै सम्बन्धित र ‘शङ्करदाइ र फ्रैङ्क क्यापरा’ विशिष्ट साहित्यकार शङ्कर लामिछानेसँग रहेका छन् ।

यो आलेख समीक्षक अर्यालका व्यङ्ग्यविषयक समीक्षामा केन्द्रित भई गरिएको छोटो टिप्पणीमूलक चिरफार मात्र हो जसको सन्दर्भ रहेको छ ‘दश -औतार’ को सेरोफेरो । अर्यालको पहिलो समीक्षात्मक निबन्ध व्यङ्ग्यबाजेलाई एउटा खुलापत्र रहेको छ । व्यङ्ग्यबाजे भनेका आदिकवि मानिएका भानुभक्त नाचार्य हुन् । अर्यालका आँखामा नेपाली साहित्यलाई व्यङ्ग्यले भरिएका स्वादिला कालमा प्रदान गर्ने विशिष्ट अग्रज भएकाले भानुभक्त व्यङ्ग्यबाजे हुन् । पत्र वा चिठीका रूपमा ’श्रद्धेय कविबाजे’ भन्दै सम्बोधन गरिएको चुनावले नेपाली समाजमा बाँच्नुका दुःखलाई ठूलो विसङ्गतिका रूपमा चित्रण गर्दै समाजप्रति झटारो हानिएको छ । ठाउँठाउँमा हस्यौलीका चस्काले हान्ने अर्यालको शिल्प र शैलीले समीक्षाभित्र सिर्जनशील पाइन भरेको देखिन्छ । जातले बाहुनबाजे भए पनि खानपानले गतिछाडा बनेकाहरूको नबोलेको प्रस्टै देखिन्छ ।

भानुभक्तलाई उनले ठट्यौला र व्यङ्ग्यविनोद निकै न पराउने व्यक्ति भनी पारख गरेका छन् । तारापतिसित बन्दुकबारे गर्ने, जनमा बस्दा आफूले उडुस उपियाँको नाचगान चैनका साथ हेर्न पाएको भन्दै विनोद गर्ने भानुलाई अर्यालले सही मूल्याङ्कन गरेका छन् । साहित्यिक बाजे मनुले तत्कालीन राजनीतिक र सामाजिक स्थितिहरूमाथि तिखो व्यङ्ग्य गरे । शाकरी र चाप्लुसीलाई मूलमन्त्र मान्ने प्रशासनिक कुसंस्कारमाथि ‘मानमाथि पनि भुक्तमान थपिदिने’ राणाकालीन प्रशासनको मृदु भाषामा धज्जी उडाए अनि वर्तमान काठमाडौँको फोहोर र दुर्गन्धले सडेगलेको अवस्थालाई ‘कान्तिपुरीका विष्टा मूत्रले अभिसिञ्चित षड्सुवास सुग्दै बाँचिरहेको’ भन्दै घतलाग्दो छेडखानी गरे । भानुभक्तलाई साहित्यिक हास्यव्यङ्ग्यका आदिस्रस्टा र प्रथम प्रयोक्ता मान्दै मीठो, छोइने र वस्तुस्थितिलाई उदाङ्गो पार्ने भानुभक्तीय व्यङ्ग्यपरिहास मानवीय छ अनि निजी अनुभूतिलाई सामाजिक अनुभूतिका रूपमा साधारणीकृत गरेर सहज संवेद्य तुल्याउने शाश्वत चेतनाको स्तरमा अभिव्यक्त छ । नेपालको प्रशासनमा राणाकालदेखि हालसम्म हाबी रहेको भोलिवादी वा दीर्घसूत्री कामचोर भ्रष्ट प्रवृत्तिको खोइरो खन्ने काम भानुभक्तले नै निडर भएर सुरु गरेका हुन् भन्ने मूल्याङ्कन अर्यालको छ । यस क्रममा अर्यालले भानुका ‘एक मन चित्त लगाई चाकरी’, ‘रोजरोज दर्शन पाउँछ…’, ‘लामखुट्टे उपियाँ उडुस यी सँगी…’, ‘बिन्ती डिट्ठा विचारीसित…’, ‘भोलिभोलि हुँदैमा सब घर बितिगो….’ जस्ता हास्यव्यङ्ग्ययुक्त कविताहरूको उद्धरण पेस गरेका छन् ।

लेखनाथज्यूको भोजन भट्ट कविशिरोमणि लेखनाथद्वारा लिखित ‘लक्ष्मीपूजा’ नाटकको विदूषक पात्र भोजन भट्टका हास्यात्मक क्रियाकलाप, बोलीवचन, व्यवहार आदिबाट अभिव्यक्त मानवजीवनका सत्यमाथि प्रकाश पार्ने समीक्षात्मक निबन्ध हो भोजन भट्ट विनोदप्रिय स्वभावका छन्, निस्पृह भावका छन् र मपाइँको अभाव भएका छन् । त्यसैले अर्याललाई यी प्रिय छन् । उनका लागि यी लड्डु, पेडा, बम्बैसनजस्तै स्वादिला छन् । यिनको पेट परमेश्वरलाई घनघोर ठूलो ठान्ने आनीबानी, अचम्मको नाम, थेगो, लेनो, तुक्का र टुक्का मिलेको कुराकानी अर्याललाई अति मीठो लाग्छ । पैसाले कहिल्यै लोभ्याउन नसक्ने यिनको निर्लोभीपना मन पर्छ । पैसालाई अरिङ्गाल ठान्ने र बढी जम्मा गरे त्यसले नराम्रोसँग टोक्ने विचार राख्ने भोजन भट्ट मपाई र स्वार्थका विरोधी भएको उल्लेख गर्दै ठट्यौला अनि हँसीखुशीसाथ संयमी जीवन बिताउने एक आदर्शवादी व्यक्तिका रूपमा चित्रित भएका छन् । वास्तवमा व्यावहारिक छलकपटबाट विरत भएका मानिसमा नै मानवीय सद्वृत्तिहरू विकसित हुन्छन् । लेखनाथले जन्माएका भोजन भट्ट यस्तै छन् त्यसैले यी लेखनाथका आदर्श मान्छे हुन् । संयमी तथा ऋषिजस्ता लाग्ने भोजन भट्ट लेखनाथप्रवर्तित मज्जाका मान्छे हुन् । भैरव अर्यालको के ठहर छ भने भोजन भट्ट वास्तवमा लेखनाथकै प्रतिनिधित्व गराउन सिर्जना गराइएको मनमौजी पात्र हो । जसरी समीक्षकहरूले ‘पिंजराको सुगा’ लाई राणाकालीन नेपालको राजनीतिक अवस्थाको प्रतीक मानेका छन् त्यसरी नै ‘लक्ष्मीपूजा’ नाटकलाई पनि अर्यालले राणाहरूकै पालाको भोगविलासमय सामन्ती जीवनको प्रतीक मानेका छन् । आफ्नै शब्दमा यसरी मूल्याङ्कन गरेका छन् : “लेखनाथज्यूलाई पनि आफ्ना मालिकका मोजी छोराहरूका साथ खालखाल चहार्नुपर्दो हो- एक नम्बरको जुवाडेजस्तो भएर, तर वास्तवमा उहाँ खास जुवाडे होइन, चटुकाजीको पछि लाग्ने बाहुन द्यौता भोजन भट्टजस्तो निस्फिक्रीको मान्छे हुनुहुन्थ्यो होला ।” (पृ.१३) यसमा राणाकालीन राजनीतिक र सामाजिक जीवनको प्रतीक मात्र होइन हाम्रो आध्यात्मिक चेतनाको प्रतीकात्मक अभिव्यक्ति पनि लेखनाथले यहाँ प्रस्तुत गरेका छन् । समीक्षक अर्याल यसो भन्छन्ः “लक्ष्मीपूजा पनि लेखनाथज्यूको हिन्दू अध्यात्मवादी चिन्तनको एउटा अभिव्यक्ति हो । यस दृष्टिले हेर्दा वस्तुतः जीवन लक्ष्मीपूजाको एक चहाड (चाड) हो,… तर जीवन यसरी भौतिकताको महमै टाँस्सिएर ज्यूँने वस्तु होइन, मान्छेले झिङ्गा ज्यूँनु हुँदैन । ज्यूँनुपर्दछ निस्पृह र हँसीखुशीसाथ निस्पृह, निष्काम भएर अर्थात् भोजन भट्टजस्तै । लक्ष्मीपूजाका लेखनाथ सायद यसै भन्नुहुन्छ, ।” (पृ.१४)

लेखनाथका भोजन भट्ट वैरागी छन्, व्यावहारिक प्रपञ्चमा पटक्कै लाग्दैनन् । अनेक जन्मको कल्याण यही जन्ममा खिचेर पेडैपेडा खानुपर्छ भन्ने जीवनवादी दृष्टिकोण राख्छन् । अर्यालको ठहर छ : “लेखनाथज्यूले विदूषकको पाठ खेल्न निम्त्याएका भोजन भट्टले उनका सबै आध्यात्मिक आन्द्राभुँडी सोहोरेर नायक बोलिदिएका छन्, नायक खेलिदिएका छन् । …. लेखकको मन्तव्य प्रकट गर्ने प्रवक्ता … भोजन भट्ट एक नपत्याउँदा नायक हुन् लक्ष्मीपूजाको ।” तर आध्यात्मिक निर्लिप्तताको जलप दिने भोजन भट्ट उनको व्यक्तिवादी प्रवृत्तिका कारणले आधुनिक युगको नायक हुन सुहाउदैनन् भन्ने स्पष्ट दृष्टि पनि अर्यालको रहेको छ । अर्यालले भोजन भट्टलाई ‘एउटा वेदान्तदर्शनले प्रभावित ऋषिजस्तो, अर्को अर्थमा लेखनाथज्यूको तरुण तपसीजस्तो, अझ भनूँ भने लेखनाथैजस्तो’ भनी टिप्पणी गरेका छन् भने अन्तिम निष्कर्ष यसरी दिएका छन् : “लेखनाथज्यूको आध्यात्मिक फोटो भोजन भट्टले आफूमा खिचेको छ, “साँच्चै एउटा असफल नाटक लक्ष्मीपूजाको धेरै हृदसम्म सफल नायक हुन् भोजन भट्ट, जसको ठट्यौली स्वभावले हामीलाई हँसाएर मात्र छोड्दैन, चिन्तनका तन्तुहरूलाई पनि एक पल्ट हल्लाई छाड्छ ।” (पृ.१८) ।

यसरी भैरव अर्याल लेखनाथको नाटकमा प्रयुक्त विदूषक पात्र भोजन भट्टका माध्यमबाट हास्यका दृष्टिले जीवनलाई सुखमय बनाउने र आध्यात्मिक जीवनशैलीका दृष्टिले वैराग्यमा रमाउने नैतिक चेतनालाई प्रवाहित गर्ने साहित्यिक मूल्यका बारेमा बोल्न समीक्षाका भाषामा प्रस्तुत भएका छन् ।

‘व्यङ्ग्यविनोदी देवकोटा : केही झल्याकझुलुक’ निबन्धमा अर्यालले लक्ष्मीप्रसाद देवकोटाका विभिन्न रचनाहरूमा रहेका व्यङ्ग्य तथा हास्यका बारेमा आफ्नो समीक्षात्मक दृष्टि प्रस्तुत गरेका छन् । देवकोटा विशेषतः व्यङ्ग्य र विद्रोहका स्वर आफ्ना कविताहरूमा उराल्छन् । विराट कवि सम्मेलनमा वैदिक छन्दमा अङ्ग्रेजी कविता अचम्मसँग भट्याउने देवकोटाको विलक्षण प्रतिभाको चर्चासँगै महाकवि र आधुनिक निबन्धकार, सौन्दर्यका पुजारी र व्यङ्ग्यविनोदका चमत्कारी देवकोटाको चिनारी दिने काम भएको छ । देवकोटाका विविध स्वरूपका व्यक्तित्वको चित्रण गर्दै देवकोटालाई नेपाली साहित्यका औतारी लामा आदि रूपमा वणर्न गरेर कल्पनामा मुक्त उडान भर्ने देवकोटाका आधुनिक निबन्धमा पाइने विशेषताहरूमध्ये व्यङ्ग्यविनोद पनि एउटा भएको कुरा अर्यालको समीक्षक आँखाले केलाएको छ । देवकोटाका हाँसो उमार्ने खालका निबन्धका विविध प्रसङ्गहरूलाई देखाउँदै ‘कल्पना’ निबन्धभित्रको एक प्रसङ्गमाथि यसरी टिप्पणी गरेका छन् : “हिँड्दाहिँड्दा पैतालादेखि सब जिउ खिएर लिखुरलिखुर गर्दै घर आइपुगेको टुपीको कुरा सुन्दा हाँस्नु त स्वाभाविकै हो, गँजडीलाई तेस्रो दर्जाको भलाद्मीत्व पहिराउँदै लहडशून्यलाई चौथो दर्जासम्म नदिई गद्धु पुरुषमा गनिदिएर उनले यहाँ गजबको व्यङ्ग्य सिर्जना गरेका छन् ।” (पृ०२३) ।

व्यङ्ग्य र विनोदको हातेमालो गराउने शक्ति देवकोटामा थियो । उनी प्रतीकका माध्यमबाट अलङ्कारका पछि मात्र लाग्ने रबाफी साहित्यकारहरूलाई व्यङ्ग्य प्रहार गर्न पनि सिपालु थिए । उनका ‘धूम्रपानसित क्षमायाचना’, ‘कविराजको च्याङ्ग्रे खच्चर’ जस्ता पूरै हास्य-व्यङ्ग्यात्मक निबन्धहरूको वणर्न उद्धरणसहित प्रस्तुत गरिएको छ । त्यस्तै आधुनिक शिक्षाले मान्छेमा निहित विराटता, भौतिकता र स्वतन्त्रताहरूलाई ठिगुर्‍याएकोमा कटाक्ष गर्ने ‘हाई हाई अङ्ग्रेजी’, ‘गधा बुद्धिमान् कि गुरु ?’, ‘भलादमी’ जस्ता व्यङ्ग्यात्मक निबन्धहरूको र ‘हास्यरस’ जस्तो हास्यको सैद्धान्तिक विवेचना प्रस्तुत गर्ने निबन्धको चर्चा गरिएको छ ।
उनका व्यङ्ग्यविनोदका उज्यालाले भरिएका कविताहरू झन् शक्तिशाली छन् । बोक्रे प्रेम र बक वेदान्त दुवैलाई उडाउँदै लेखिएको कविता ‘बोके प्रेम’ व्यङ्ग्यभन्दा विनोदको प्राधान्य भएको कविता ‘एक डल्लो आलु, बाहुनको खन्चुरोपन, डरछेरुवापन आदिको हाँसउठ्दो चित्रण भएको ‘शाकुन्तल महाकाव्यको एघारौं सर्ग र उसकै प्रियतमाको हास्यात्मक वणर्नले भरिएको पन्ध्रौँ सर्ग, शत्रुमर्दनको बाहुनबाजेमाथि बर्सेको गाली र गर्जनमा झल्केको हास्यको प्रसङ्ग सम्झाउने ‘सुलोचना’ महाकाव्यको कवितांश रमाइला लाग्छन् । विनोद वा हास्य उत्पादनका उद्देश्यले नै लेखिएको ‘मनोरञ्जन’ कविता सङ्ग्रहभित्रका अनेकौं हास्यात्मक कविताहरू साँच्चै मनोरञ्जनात्मक छन् । देवकोटाले जीवनमा हास्यको औचित्य र आवश्यकतामाथि कविताकै माध्यमबाट प्रकाश पारेका छन् । ‘मनोरञ्जन’ भित्रका कविताहरूमा हास्यकविताका नवीन माध्यमहरूको नाम र प्रयोग गरेर देवकोटाले हास्यको जादुमय परिस्थितिको सिर्जना गरेका छन्, व्यङ्ग्यको मृदु मुस्कान छरेका छन् । अश्रुहास, व्यङ्ग्यचित्र, गिज्यौली, ढोलकी, उताउली, पानी हाँसो, वृत्तिछाया, छोइदिल्लगी जस्ता नयाँ नामहरूबाट हास्य र व्यङ्ग्य छचल्काउनु देवकोटाको विशिष्ट योगदान हो नेपाली हास्यव्यङ्ग्यको विकासमा ।

‘कविराजको च्याङ्ग्रे खच्चर’ निबन्धमा जस्तै व्यङ्ग्यचित्र खिच्ने कौशल ‘बकराबाबा’ कवितामा पनि देवकोटाले देखाएका छन् जहाँ शब्द, शैली र भाव तीनै स्रोतबाट व्यङ्ग्य बहेको र हास्य चुहिएको भेटिन्छ । देवकोटाले आदती स्वभावको विरोधी चेतनाबाट हास्यरसको सिर्जना हुन्छ भन्ने सैद्धान्तिक निष्कर्ष निकालेका छन् । यसको प्रयोग उनी आफ्नै ‘नयाँ जमाना’ कवितामा गरेर आधुनिक सभ्यताप्रति हाम्रो आदती स्वभावले गरेको विरोध देखाउँदै हँसाउँछन् भने कट्टरपन्थी ‘शठ पण्डित’ लाई पनि गज्जबले छ्यास्छन् । दिल्लगीको प्रयोग ‘भ्यागुर नारान’ उपहासात्मक कवितामा गरिएको छ, जहाँ एउटा पहाडिया केटो पाइला-पाइलामा आफ्ना आदतहरूसितको विरोध पाउँछ र सजिएको बिछ्यौनाभित्र पस्न नसकी खाटमुनि निदाएको उपहास्य स्थिति देखाउँछ । यस कविताभित्रका कथा, चरित्र, चित्र, शैली अनि दुई परम्परा सुहागरातमा नमिल्ने सभ्यताको अडबाङ्गेपना सबै हाँसउठ्दा छन्, त्यसैले देवकोटाका शब्दमा यो ‘उपहास- गिज्यौली’ बन्न पुगेको छ । व्यक्तिगत आक्षेपजस्तो मानिने हास्यात्मक छोइदिल्लगीका रूपमा देवकोटाले केही वरिष्ठ नेपाली साहित्यकारहरूको शब्दकार्टुन प्रस्तुत गरेका छन् । ‘तिगडम्’, ‘लाटाको तिर्सना’, ‘यो युगलाई ढ्वाँग भनूँ कि ?’ जस्ता थुप्रै कवितामा देवकोटाले मनोरञ्जनात्मक भाषाशैलीमा जीवन र जगत्का बाह्य र आन्तरिक विकृति, विरोधाभास र ढोंगहरूलाई उडाएका छन् भन्ने समीक्षक अर्यालको दृष्टिसँगै ‘मनोरञ्जन’ भित्रका कविताहरूमाथिको समालोचकीय निष्कर्ष यसरी प्रकट भएको छ- “‘मनोरञ्जन’ मा गुलिया लड्डु बनाउँदाबनाउँदै कतै काँठे कसार ती कँट्ठिएका पनि छन्, कतै शब्दैमा मात्र बाँचेका ‘ढोलकी’ पनि । तैपनि भन्नुपर्छ ‘मनोरञ्जन’ ले देवकोटाको विनोदी वा हास्यकविको अवतार राम्ररी देखाएको छ ।” (पृ०३२)

देवकोटाका व्यङ्ग्यविद्रोहका दृष्टिले सशक्त रहेका ‘पागल’, ‘बाघले बच्चा किन खान्छ ?’, ‘साँढे’, ‘दालभात डुकु’, ‘भाँचूँ कि मेरो कलम’, ‘गधा’, ‘भूतलाई झटारो’, ‘प्रभुजी’ मलाई भेडो बनाऊ’ जस्ता कविताहरूको समीक्षा अर्यालले गरेका छन् । मानवीय दुष्प्रवृत्ति र दुराग्रहहरूले मानवताको बाटो बिथोलेको देखेर त्यस्तो मात्स्यन्यायी प्रवृत्तिमाथि ‘पागल’, ‘बाघले बच्चा किन खान्छ ?’ जस्ता कविताहरूमा व्यङ्ग्यका गोली ठोकेका छन् भने यस्ता सामाजिक विकृति, वैषम्य र विरोधाभासमाथि उपहासनिन्दाका गुलेली हानेका छन् । बाँच्ने अधिकारै नभएको मत्स्यन्यायी सामाजिक व्यवस्थाप्रतिको विद्रोहको स्वरलाई व्यङ्ग्यका भाषामा बाघका गर्जनमा परिणत गरेर अभिव्यक्त गरेका छन् । मत्स्यन्यायले ग्रस्त जङ्गली समाजमा अन्याय, अत्याचार र शोषणको निर्मूल कहिल्यै हुँदैन भन्ने ठान्ने देवकोटा व्यङ्ग्यविद्रोहीका रूपमा प्रस्तुत हुन साँढेका शब्दमा ‘साँढे’ कविताभित्र कुर्लन्छन् । भोकप्यासले पीडितहरूका प्रतिनिधि बनेर देवकोटा मान्छेको अन्तिम ‘आँ’ मा पनि दालभात डुकुको अतृप्त धोको बाएको देख्छन् र मानवोचित तह नमिलेको समाजको कुशासनमाथि प्रहार गर्छन् ‘दालभात डुकु’ कवितामा । गुलेली, गोली र तोपले तह लगाउन नसकेको मान्छेको विसङ्गत समाजमा कविको बोली र कलमको गोलीले के नै गर्न सक्छ र भन्ने भोकलाई भ कि मेरो कलम’ कविताका माध्यमबाट प्रकट गर्छन् । “गधालाई गुरु मानेको भए मेरो दुनियाँमा यतिको आत्मपतन हुने थिएन” भन्दै मान्छेको कथित गुरुत्वमाथि नै कठोर व्यङ्ग्यबाण कस्ने देवकोटा चेतनशील भएर समाजलाई सुधार गर्न खाज्नु नै अभिशापमय रहेछ भन्ने आशयका साथ प्रभुसित आफूलाई चेतनाशून्य भेडो बनाइदिन पुकारा गर्छन् ‘प्रभुजी मलाई भेडो बनाऊ’ भन्ने कवितामा ।

अन्तमा व्यङ्ग्यविनोदी देवकोटाको वास्तविक स्वरूपलाई अर्यालले यसरी मूल्याङ्कन गरेका छन् : “देवकोटाको भेडो बन्ने पुकार त मान्छेको ज्ञान र कर्ममा देखिने भयङ्कर असामञ्जस्य एवम् विरोधाभासप्रतिको एउटा ललकार हो । यसरी खोज्दै र खोतल्दै जाने हो भने देवकोटाले जीवन र जगत्का विविध पक्षमा व्यङ्ग्यको माध्यमबाट सामञ्जस्य र समीचीनता खोजेको देखिन्छ । त्यसैले भन्न कर लाग्छ देवकोटाले हास्यव्यङ्ग्यलाई केवल मनोरञ्जनमा मात्र नखुम्च्याई सत्यको उद्घाटन गर्न सक्ने क्षमता दिएका छन् र जीवन र जगत्का सर्वकोणीय उबडखाबड छामी सामञ्जस्य र सत्य खोज्ने व्यापकता र गहिराइ दिएका छन् ।” (पृ०३६)

‘तिवारी गुरु र भान्सेबाजे’ शीर्षकको समीक्षात्मक निबन्धले बहुप्रतिभाशाली साहित्यकार भीमनिधि तिवारीको हास्यव्यङ्ग्यात्मक शक्तिको मूल्याङ्कन गरेको छ । निबन्धको सुरुमै साहित्यकारलाई भान्छे भनी गरिएको टिप्पणी साँच्चै मार्मिक छ : “वास्तवमा साहित्यकार एउटा भान्छे नै हो, ऊ जीवनलाई कोसा छोडाउँछ, गाँठा ताछ्छ । श्रुति र अनुभूतिका नुन-भुटुनसाथ प्रतिभाको कराहीमा छड्काइएको जीवनरस नै साहित्यकारको परिकार हो यस्ता परिकारहरू एकपछि अर्को थप्दै भीमनिधि-भित्रको ‘भान्छेबाजे’ले पबितै पस्किसकेको छ ।” (पृ०३८)

भान्छे बाजे वास्तवमा साहित्यकार भीमनिधिकै विम्ब हो । नेपाली साहित्यका पाठकहरूलाई अनेक प्रकारका रचनाहरूका परिकार तयार पारेर पस्किँदा पनि कहिल्यै सन्तुष्ट नभइदिँदाको स्थितिप्रति कटाक्ष गर्दै कविले आफूलाई भान्छे बाजेका रूपमा उभ्याई यस्तो स्वादिलो व्यङ्ग्य कवितात्मक स्वादमा अभिव्यक्त गरेका हुन् । विसङ्गतिले भरिएको नेपाली समाजमा भद्रगोलको स्थिति देख्ने तिवारीका लागि गजल गाउँदा, भजन भन्दा, चित्रविचित्र व्यथाका कथा हाल्दा दर्जनौँ चरित्रका नाटक खेल्दा पनि केही भएन । उनले जतिसुकै स्वच्छ सरल इमानदारीसाथ साहित्यसेवा गर्दा पनि जस प्राप्त भएन अर्थात् उनको स्वच्छ ध्यान कतैबाट भएन । शृङ्गार वा भक्ति वा करुणाका भाव जतिसुक पोखे नि त्यसको सही स्वाद लिन कोही तयार नभएपछि भद्रगोले नेपाली समाजको व्यस्ततालाई नङ्ग्याउने उद्देश्यले तिवारी व्यङ्ग्य र विद्रोहका स्वर उराल्न थाले । अब पहिलेका धैर्यनिधि तिवारी ‘विस्फोट’ कवितासङ्ग्रहसँगै व्यङ्ग्यनिधिका रुपमा तोप पड्कन थाले । अर्यालको ठहर छ : “डेढबीस वर्ष जागिर खाँदा पनि थोत्रो साइकल नछुटेको र एक डोको पुस्तक लेख्दा पनि उचित प्रतिष्ठा नपाएको वैयक्तिक भोकलाई साधारणीकृत गरी आफ्नो जुगको आर्थिक, सामाजिक अवस्थाप्रति भीमनिधिज्यूले व्यङ्ग्यको गुलेली ताक्नुभएको छ । जति जागिर खाए पनि हेन्डिल, पाउदानी फेरिन नसकेको आफ्नो साइकलदेखि लिएर जति जे फेरिए पनि आफ्नो रूप नफेरिने सामाजिक असन्तुलन, आर्थिक वैषम्य र जुग राजनीतिक गुटबन्दीहरू प्रत्यक्ष देख्नु, भोग्नुपरेकाले भीमनिधिभित्रको कविलाई विद्रोहनिधि बन्न बाध्य गराएको छ … उहाँले विद्रोहको गुलेली व्यङ्ग्यलाई बनाउनुभएको देखिन्छ … ‘खसीको टाउको’ जस्तो कविता लेखेर आर्थिक वैषम्यलाई छनक मार्न व्यङ्ग्यनिधिमा साटिनुभएको छ ।” (पृ.४०-४१)

‘कविता-नन्द’, ‘कविता-कुञ्ज’, ‘विस्फोट’ र ‘सिंहदरबार’ हुँदै ‘तितौरा मस्यौरा’ कवितासङ्ग्र्रहसम्म व्यङ्ग्यात्मक यात्रा गर्दा कहिले नेताको नैतिकतालाई गिज्याउने, कहिले कर्मचारीवृत्तिलाई खिज्याउने, कहिले थोरै उपलब्धिको क्षणिक महत्ताभासले फुल्ने नेपाली प्रवृत्तिलाई छ्याँस्ने प्रवृत्ति अँगाल्दै तिवारीको व्यङ्ग्यले देश, काल, परिस्थिति सापेक्ष हुँदै परिवेशको व्यापकता खोज्न थालेको र जीवनसापेक्ष भएर यसका अन्तर्य बेतह र विरोधाभासहरू छाम्न पुगेको देखिन्छ । अर्याल व्यङ्ग्यलाई पनि हास्यरसको प्रमुख उत्पादक मान्छन् अनि हास्य उत्पादनका अन्य माध्यमहरूमा विकृति वा वक्रोक्ति (आइरनी), उक्तिवैचित्र्य (विट), अनुकरण (क्यारिकेचर), प्यारोडी आदि पर्ने उल्लेख गर्दै यीमध्ये भीमनिधिले आफ्ना व्यङ्ग्य कवितामा हास्यको मिठास भर्न उक्तिवैचित्र्य वा वाग्वैदग्ध्य वा कथनको विचित्रतालाई विशिष्ट रूपमा अँगालेको तथ्यमाथि प्रकाश पार्छन् ।

अर्यालले हास्यव्यङ्ग्यका उपस्थितिका आधारमा तिवारीका कविताहरूलाई तीन प्रकारका मानेका छन् : सफल हास्य कविता, हास्य र व्यङ्ग्यको समन्वय भएका कविता तथा न हास्य न व्यङ्ग्य भएका कविता अर्थात् हास्य कविता, हास्यव्यङ्ग्यात्मक कविता र हास्यव्यङ्ग्यशून्य कविता भनी उक्त तीन वर्गका कवितालाई निश्चित गर्न सकिन्छ । अर्यालका अनुसार उनका सफल हास्य कविताहरू हुन् : मेरी श्रीमती, शनिवारको बिदा, साँढे बुबा, जिन्दावाद, साझा सेवा, भैंसी, मध्यमवर्गकी श्रीमती आदि । यी विषयवस्तु र उपमा, रूपक आदि शिल्पका दृष्टिले उत्कृष्ट हास्य प्रस्तुत गर्न सफल छन् । हास्य र व्यङ्ग्यको समन्वय दर्शाउने उच्चकोटिका कविताहरू हुन् : मेरो जीवन, बाङ्गो आदि । यस क्रममा भीमनिधिको हास्यका विशेषताबारे अर्यालले यस्तो फैसला गरेका छन् : “नेपाली समाजका दैनन्दिन प्रयोगमा आउने सानातिना कुराहरूबाट अजीव अजीव उपमा, विम्ब र रूपकहरू जडेर सहजतासाथ हसाउनु उहाँका हास्यको विशेषता हो, हास्योत्पादनका लागि शाब्दिक विकृति, भाषाको खिचडी वा बलात्कारको उरन्ठ्यौल्याइँ भीमनिधि गुरुमा प्रायः पाइँदैन नै भने हुन्छ ।” (पृ.४४)

व्यङ्ग्यकार रिमाल एक दृष्टि शीर्षकको अर्को समीक्षात्मक निबन्धले गोपालप्रसाद रिमालको ‘तिमी को ?’ भन्ने कविताभित्र अभिव्यक्त व्यङ्ग्यको र उनको विशिष्ट व्यङ्ग्यकलाको मूल्याङ्कन गरेको छ । हास्यव्यङ्ग्यका स्रष्टा तथा समीक्षक अर्यालका दृष्टिमा रिमालको ‘तिमी को ?’ एक सफल व्यङ्ग्य कविता हो । एक सच्चा देशभक्त, क्रान्तिकारी र स्वतन्त्र नेपालका स्वप्नद्रष्टा रिमाल नेपाली साहित्यमा नाटककार र कविका रूपमा विशिष्ट स्थान हासिल गर्न सफल छन् । उनले ‘मसान’ नाटककारा कामुक प्रेमलाई र ‘यो प्रेम’ नाटकद्वारा भावुक प्रेमलाई व्यङ्ग्य गरेका छन् । कवितामा चाहिँ ‘तिमी को ?’ कविताद्वारा नेपालीका आम स्वभाव र चरित्रहरूमाथि साँच्चै मार्मिक व्यङ्ग्य प्रहार गरेका छन् । अर्यालले रिमालको व्यङ्ग्यसामर्थ्यको चिनारी उनकै शब्दमा यसरी प्रकट गरेका छन् ः “वीरतामा नाम कमाएको नेपाली र अशक्यतालाई नै प्रिय ठान्ने नेपालीका बीचको विरोधाभास, आफ्ना दुर्गति र अवनतिको वास्तै नगरी अरूको निम्ति ‘जित’ लिइदिन जाने लाहुरे नेपाली जीवनको विसङ्गति, अशक्यतालाई शक्ति आर्जनबाट होइन अहङ्कार प्रदर्शनबाट छोप्न चाहने विडम्बना, पराईसँग दाहा ङिच्याएर क्रान्तिको भ्रान्ति उधारो माग्ने विकृति इत्यादि यस कवितामा चित्रित छन् । आत्मविश्वास, आत्मबल, जाँगर, सुधार र सच्चा अर्थको वीरताका आकाङ्क्षाहरू यस कवितामा छन् । ‘यहाँ शृङ्खला ल्याउन खोज्ने तिमी को ?’ भनेर नेपाली जीवनमा बढ्दो विसङ्गतिलाई सहज संवेद्य व्यङ्ग्यवाणले उधिन्ने यस कविताले कविमा निहित व्यङ्ग्यकलाको छनक मात्र राम्ररी दिएको छैन साथै नेपाली व्यङ्ग्यकाव्यमा पनि एउटा चिल्लो पात थपेको छ ।” (पृ.४९) रिमालका कतिपय अन्य कविताका पङ्क्तिहरू उद्धृत गर्दै अर्यालले रिमाललाई ‘शब्द र अर्थ दुवैको संयुक्त वैचित्र्य उत्पन्न गरी व्यङ्ग्यसहित हास्यको पनि सिर्जना गर्ने’ कविका रूपमा चिनाएका छन् । वास्तवमा रिमालले ‘तिमी को ?’ कवितामा हामी नेपालीहरूको अज्ञान, दुर्बलता, स्वार्थ, अहङ्कार र सङ्कीर्ण पाशविकताको धज्जी उडाएका छन् । यस्ता गज्याङगुजुङबाट उन्मुक्त मान्छे नै रिमालले ठहर्‍याएको सच्चा देशभक्त, स्वतन्त्र र क्रान्तिकारी वीर तथा स्वाभिमानी नेपाली हो अर्थात् कवि रिमालको वास्तविक पहिचान हो ।

यसरी हास्यव्यङ्ग्यका स्रष्टा भैरव अर्याल यस समीक्षात्मक निबन्धसङ्ग्रहका माध्यमले एक सफल हास्यव्यङ्ग्य समीक्षकका रूपमा प्रस्तुत भएको देख्न सकिन्छ । स्रष्टा अर्यालले जसरी हास्यव्यङ्ग्यात्मक सिर्जनाका तहबाट नेपाली समाजको सूक्ष्म चिरफार गरेका छन् त्यसरी नै प्रस्तुत सङ्ग्रहको समीक्षाबाट नेपाली साहित्यका पाँच विशिष्ट साहित्यकारहरूका हास्य र व्यङ्ग्यले भरिएका उत्कृष्ट रचनाहरूबारेमा सूक्ष्म विश्लेषण गरेर आफूलाई हास्यव्यङ्ग्य साहित्यका उच्चतम द्रष्टाका रूपमा चिनाएका छन् । नेपाली हास्यव्यङ्ग्य समीक्षाका क्षेत्रमा अर्यालको नाम सदासर्वदा सुनौलो अक्षरमा रहिरहने सामग्रीका रूपमा यस कृतिको मूल्य अङ्कित भएको कुरा अध्येता सबैले मनन गर्ने नै छन् ।

००००
२०७० पुस २७
नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर
‘सम्झना, भैरव स्मृतिग्रन्थ’ २०७८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको सम्मान

शहीदको सम्मान

डा. भरतकुमार भट्टराई
तीन ठाेकान

तीन ठाेकान

डा. भरतकुमार भट्टराई
व्यङ्ग्यको मूल : विसङ्गति

व्यङ्ग्यको मूल : विसङ्गति

डा. भरतकुमार भट्टराई
फोहोरको थुप्रो

फोहोरको थुप्रो

डा. भरतकुमार भट्टराई