जीवनाथ अधिकारीनव जिन्दगानी
हामी नहाँसे किन हाँस्छ फूल हामी सुके सुक्तछ दिव्य मूल । आशाभरोसा युग सुम्सुम्याई बाँचौँ सधैँ हर्षित भै रमाई ॥

जीवनाथ अधिकारी :
नौलो छ आशा छ नयाँ उमङ्ग
पाको छ खासा मनको तरङ्ग ।
अनेक छन् जीवनका कहानी
रच्तै छु जैले नव जिन्दगानी ॥१॥
देखेँ जगत्का अति धेर चाला
सफा, कुनै हिर्दयभित्र काला ।
दागी थिए क्वै परमार्थ भुल्ने
त्यागी थिए क्वै उपकार खुल्ने ॥२॥
आकाशको भार कतै उठाएँ
निधारको चिह्न यतै कटाएँ ।
उमेरले मात्र म हैन ज्येष्ठ
छ दीर्घ यात्रा म भएँ वरिष्ठ ॥३॥
शरीर मात्रै सबथोक हैन
उमेरले अड्चन मानिँदैन ।
उत्साहको खर्पन बोक्छु साथी
धर्ती उचाल्दै म चढूँ कि माथि ॥४॥
यी चाउरी हुन् युगका निसानी
यी बाहुली हुन् बलका सिरानी ।
फुलेर सेतो हिम पाक्न लाग्दा
लाली पहेँलो रसरङ्ग जाग्दा ॥५॥
बोकेँ अझै ढाकर जिन्दगीका
फुल्दो जवानी सुखदुःख भाका ।
भरेर सङ्गीत थपेर ऊर्जा
कसेँ सबैका शिथिलाग्नि पुर्जा ॥६॥
नबिर्स मेरा सिप-शिल्प गाथा
म सिर्जना खोल्दछु भव्य माथा ।
बनाउने मानिस दिव्य आँखा
कालीगढी मै सुरताल भाका ॥७॥
हामी नहाँसे किन हाँस्छ फूल
हामी सुके सुक्तछ दिव्य मूल ।
आशाभरोसा युग सुम्सुम्याई
बाँचौँ सधैँ हर्षित भै रमाई ॥८॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































