लेखनाथ पाेखरेलप्रेत लेखक (घोस्ट राइटर)
दरबारियाको जीवनी लेखनको लागि लखनउका कुनै फुटपाथे नवाफको शैली पछ्याए भइहाल्यो । नेता र हाकिमको लागि दिल्लीदरबारको प्रशस्ती गायनको रेडिमेट शैली छँदैछ ।

कसैको उछित्तो होस् भन्ने लागो कि इच्छापूर्तिको लागि शुभकामना वा तथास्तु आफैँले कसैलाई नसुनाएसम्म मेरो मनमा के कुरा आयो, के गयो, कसलाई थाहा हुने र ! राम्रोको वल्लो भित्ता होस् कि नराम्रोको पल्लो पाखा जहाँसम्म जे सोचे पनि सोच्न पाउने र अरूले मेसो पनि नपाउने । यति फराकिलो छुट दिने ईश्वर कस्तो अलौकिक होला ? यस्तै-यस्तै कुरा मनमा खेलाएर नयाँ सडकको पीपलबोटमुनि उभिइराखेको थिएँ म त्यस दिन ।
यस्तै अवस्थामा एकजना मानिस परैबाट मुसुमुसु हाँस्तै, छेउमा आएर नमस्ते गर्दै चिरपरिचित झैं सोध्न थाल्यो मेरा हाल खबरहरू । उसको सोधाइमा तत्काल द्विविधाग्रस्त हुँदै के भनौँ के गरौं भनेर अन्योल भएको बेला मेरो स्मृतिको ढोका ढ्वाक्क खुल्यो र सम्झेँ- वर्षौं पहिले बिर्खे र ‘गुल्टन’ उपनामले चिनिने त्यो मनुवालाई । जब मैले उसलाई चिने मलाई कुनै अशुभ वस्तु देखेजस्तो आभाष भयो । किनकि यो त्यही मान्छे थियो जो आज भन्दा १५/२० वर्षअगाडि काल्चाको होटेलमा एक ग्लास ऐलाको लागि मेरो खुट्टा ढोग्नसम्म पनि पटक पटक तयार हुन्थ्यो । त्यो बेला ‘हाँस्न नसके मस्किनु, रिसाउन नसके ठस्किनु’ भन्ने भनाइलाई सोचेर पनि यथार्थमा परिणत गर्न नसक्ने अवस्थामा पुगेको मलाई गुल्टनसँग नचाहँदा नचाहँदै परिचय नवीकरणको विकल्प भएन ।
निधारको बीचमा पुरानो घाउको खत, बास्नादार तेल लगाएको चिल्लो कपाल, इस्त्री लगाएर चट्ट परेका लुगा, स्वदेशी छालाको सिलाइको कालो बुट र कालो चस्मा, त्यो बेलाको उसको पहिरन हुने गथ्र्यो । ‘तपाईंलाई कहीँ देखेजस्तो लाग्छ ?’ भन्ने वाक्यबाट चिनजान सुरु गर्न रुचाउने ऊ नाता लगाएर फ्री पेगको बन्दोवस्ती मिलाउन औधी सिपालु र बिछट्ट बाठो थियो । कुन गल्लीको भट्टीमा कुन सालवाला हाकिम छिरेको हुन्छ भन्ने कुराको गन्ध नयाँ सडकको भूगोलपार्कमा उभिएको उसको नाकले कसरी भेउ पाउँथ्यो भन्न गाह्रो छ । तर गोधूलिको आगमनसँगै हरेक साँझ उसको नजरमा परेका हाकिम पसेको भट्टीमा छिरेकै हुन्थ्यो ।
उखान-टुक्का सुनाएर भट्टी नै थर्किने गरी हाँस्नु उसको स्वभाव थियो । साँझ पर्न नपाउँदै खसीको कबाफ र ऐलाका सौखिनको भीड लाग्ने रञ्जना गल्लीस्थित काल्चाकाे होटेलमा प्रायः भेटिने ऊ एउटा उधारो ग्राहक थियो । भीडभाडको समय सकिएपछि मात्र काल्चाले उधारोको कारोबार गर्ने भएकाले ऊ हतारमा ठाडो घाँटी लगाउन आउने पूर्वपरिचित ग्राहकको लागि टेबुल ओगटेर गुन लगाएको अभिनय गर्दै मौका कुरेको हुन्थ्यो । ढल्कँदो साँझसम्म पनि त्यस्तो कुनै दाता ग्राहक आइपुगेन भने उसले शहरका गल्लीको यात्रा सुरु गथ्र्यो । काल्चाको होटेलबाट सुरु हुने उसको त्यो यात्रा, दूधमा पकाएको बँदेलको कबाफ पाइने बाङ्गेमुढास्थित रामचाको भट्टीमा पुगेर टुङ्गिन्थ्यो ।
बग्रेल्ती भट्टीहरू भेटिने भीडभाडयुक्त गल्लीको त्यो यात्रामा फ्री पेग हत्याउन सकिने खालको कुनै परिचित ग्राहक भेटिन्छ कि भन्ने आसमा उसले धेरै भट्टीहरू चहार्ने गर्थ्याे तीमध्ये, चटामरी र खसीको कानको स्वादिलो परिकार पाइने चिरीमैयाको पसल, राँगाको जिब्रो फ्राइ पाइने हाकुचाको पसल, जिब्रो फट्कारिने खालको राँगाको पोलेको छोइला पाइने भीमचाको पसलदेखि दुई पेग तान्दै दुन्मुनिने ऐला पाइने मैँचाको पसल हुने गर्थे । सब ठाउँ घुम्दा पनि दातृनिकाय नभेटिएमा ऊ शान्तिपूर्वक ऊ डेरातर्फ लाग्ने गथ्र्यो । गल्लीका विशिष्ट पकवान बन्ने ठाउँ पहिल्याउन सफल ऊ जिल्लाबाट काठमाडौं आइपुग्न आफ्ना ट्वाँके परिचितको लागि भने असल मान्छे साबित हुन्थ्यो ।
होटेलको चल्ती देखेर डाह गर्ने काल्चाको कुनै आफन्त ग्राहकलाई कुकुरको मासु खुवाउने गरेको प्रमाण जुटाएर उजुर दिएसँगै काल्चा जनसेवा प्रहरीको खोरमा थुनिन पुग्यो । त्यो हल्लाले काल्चाको होटेलमा ताल्चा लाग्यो । काल्चाका ग्राहक छरपस्ट भएर ओटुदेखि बाङ्गेमुढासम्मका भट्टीभित्र छिरेसँगै बिर्खे अलपत्र परेको थियो ।
उसको असली नाम थियो बिर्खलाल । तर लक्कानु र तर्कुल्ले लगाउन सिपालु उसका मित्रमण्डलीले उसलाई ‘बिर्खे’ नामकरण गरेका थिए । त्योबाहेक पनि उसका प्रेमीजनले उसलाई अर्को एउटा उपनाम दिएका थिए । दोस्रो उपनाम कसरी रहन गयो भन्ने विषयमा उसले भनेअनुसारको दुःखद् विवरण यहाँ प्रस्तुत गर्नु उपयुक्त लाग्यो ।
सर्लाही जिल्लाको पहाड़े बस्तीमा थियो उसको घर । गाउँमा स्कुल नभएकाले ऊ आफ्नो गाउँभन्दा एक कोस टाढा रहेको मैथिलबस्तीको स्कुलमा पढ्न जाने गथ्र्यो । गफ हाँक्न औधी सिपालु ऊ गुलेली हान्न र भँगेरी समाउनेमा पनि उस्ताज मानिन्थ्यो । उखुको सिजनमा घाँटीमा झुन्डिएको गुलेली र हातमा लिसो लगाएको लामो लट्ठी बोकेर साँझ-बिहान भँगेरी समाउन इन्दुशङ्कर चिनी मिलको उखुबारीभित्र पस्ने उसको दैनिकी हुने गथ्र्यो ।
उखुबारीभित्र पस्दा उखुका खस्रा पातले दर्फर्याएका उसका गालाबाट रगत निस्किनु उसका लागि खासै मतलबको विषय हुँदैनथ्यो । उसलाई त जसरी भए पनि भँगेरी समाउनु थियो । रगत निस्किनुलाई उसले बहादुरीको चिह्न ठान्दथ्यो । आफ्नो बहादुरीको त्यो चिह्नलाई उसले धोइपखाली गर्नुको साटो साथीहरूलाई देखाउन पुगेको हुन्थ्यो । उसले समातेका ती भँगेरीको परिकार हरिओन र लालबन्दीका होटेलमा पाइने गथ्र्यो ।
मान्छे टाठो थियो । भाषा सिक्न उसलाई बेरै लागेन । कक्षा आठमा पुग्दासम्म ऊ धुवाँदार मैथिली भाषा बोल्ने भइसकेको थियो । कुन्नि के भएर हो ? एस.एल.सी. को टेस्ट परीक्षामा भने ऊ लगातार तीन पटक गुल्टियो । पटक-पटक गुल्टिएको बिर्खेले छिमेकी र मित्रमण्डलीको तर्फबाट दोस्रो उपनाम पायो ‘गुल्टन’ । गुल्टन उपनामले रन्थनिएको ऊ भारतको बिहारतिर छिरेको थियो । भारतको केही महिने प्रवासपछि ऊ काठमाडौं पुग्दा उसको हातमा एस.एल.सी. र आइएका दुवै सर्टिफिकेट थिए ।
धेरै वर्षपछि पुनः यो रूपमा त्यो गफाडी ट्वाँकेलाई भेट्दा, त्यसलाई कुन नामले बोलाउने होला भन्ने कुराले मलाई चिन्तित बनाएको थियो । उसले पाएका दुवै अघोरी उपनाम मलाई पटक्कै मन नपर्ने भएकाले त्यसबाट सम्बोधन नगर्ने सोच बनाउँदै गर्दा यसले आज पनि मलाई काल्चाको होटेलमा पहिलाजस्तै चुना लगाउने सोच बनाएको हुनुपर्छ भन्ने कुतर्क मेरो मनमा एकाएक जाग्न पुग्यो र कसरी उम्किने भन्ने तर्कना आयो । तर, तुरुन्त शङ्काले लङ्का पिर्छ भन्ने उखानलाई स्मरण गर्दै पहिले उसको नियत बुझ्नु बेस होला भन्ने दार्शनिक मार्गलाई अवलम्बन गर्ने निधो गरेँ ।
एकछिनको भलाकुसारीपछि उसले भन्यो ‘दाइ आज मेरोतर्फबाट मोतीमहलमा एक, दुई पेग जाओस् ।’ सुटबुटमा ठाँटिलो देखिएको भए पनि मलाई त्यसको कुरा पत्याउन अलि गाह्रो पर्यो । पहिलेकै जस्तो माइसप ड्राइ क्लिनर्सबाट भाडामा सुट ल्याउने, ठाँटिएर हिँड्ने यसको बानीव्यहोरा सप्रिएको रहेनछ भने त यसले मलाई बिल तिराउन बेर लाउँदैन भन्ने अर्को झस्को तत्काल पस्यो तर यति धेरै अशुभ कुरा सोचेर झस्कोमाथि झस्को पस्न दिनु अनुचित ठानेर उसलाई पन्छाउने नियतले बिस्तारै ‘मलाई पेग चल्दैन’ मात्र भनेँ मैले । यति भनिसक्दा नसक्दै ‘ठिकै छ नि त म पेग तानौँला, हजुरको लागि अरू कुनै व्यवस्था गरौंला भनेर पुनः आग्रहसाथ आफ्नो अडान कायम राख्यो ।
उसको आग्रह सुन्दा यो साँच्चिकै सप्रिएको पो हो कि ! भन्ने एक प्रकारको सोच उब्जियो ममा- बिल तिर्ने परिस्थिति आइपरेमा त्यसले ओल्टाइ पल्टाइ गर्दै गरेको महँगो मोबाइल र हातमा बाँधेको घडीले भ्याउला कि नभ्याउला भन्ने लागेर, राम्ररी नियालेपछि, ट्राइ मार्दैमा केही फरक पर्लाजस्तो नलागेकोले मैले ऊसँग जाने निधो गरेँ । दुवैजना किङ्स-वेतर्फ लाग्यौं ।
’रमझमको साँझ, मोतीमहलको साथ’ भनेर बिर्खेले भने पनि मलाई भने मति बिग्रने बेलाको साँझ, भट्टीहरूको माझ भन्ने भनाइ आभास भयो मोतीमहलमा सराब, कबाफ र सबाबका सौखिनहरूको बाक्लो उपस्थिति देखेर । मेनरोडपट्टिको झ्यालमा बनेको स्टेजमा गजलको कार्यक्रम सुरु भइसकेको थियो । बेलैमा पुगेर जाँडले झ्याप हुन लागेका तन्नेरी तरुनीहरू टेबुल ठटाएर मुन्टो हल्लाउँदै गरेको देखिन्थ्यो ।
कुनाको एउटा खाली टेबुलमा गएर बसेपछि उसले सोधेको थियो ‘के मगाउँ ?’ भनेर मोतीमहलको परिकार सम्झँदै मुखमा पानी आउने मलाई पनि फुतुफुतु अर्डर गरौंजस्तो लागेको थियो । तर बिल तिर्ने कुरा सम्झिएपछि भने चुप लागेर बसें । उसले आफ्ना लागि स्कचको पटियाला पेग मगायो । मेरो लागि लेमोनेड र स्नाक्स । मन-मनमा सोचें बिर्खेको खल्ती दरै छकि क्या हो ! नत्र ‘हर्रो नपाउने जोगी जाइफलको भोगी’ कसरी बन्थ्यो त !
उसको यो हर्कतले उत्साहित मैले बीस वर्षअगाडिका उसका सबै कृत्य र उपनामहरू बिर्सिएझैं गरी सोधें ‘के गर्छौ भाइ आजकल ?’ उसले तत्काल जबाफ दियो- ‘प्रेत लेखकको पर्यायवाची भएको छु दाइ म आजकाल ।’ मैले केही बुझिनँ । त्यसैले फेरि सोधें- ‘त्यो भनेको के ?’ उसले हाँस्दै भन्यो- ‘दाइ, यो देशको परिपाटीबाट निकै टाढा हुनुभएजस्तो छ । काठमाडौँमा बसेर जिगोलो र प्रेत लेखक (घोष्ट लेखक) को बारेमा थाहा नहुनु भनेको त अनौठो कुरा मानिन्छ आजकल ।
जिगोलोको प्रारम्भिक अध्यायमा उसले मलाई महिला स्वतन्त्रता र महिलामुक्तिको बारेमा लामै प्रवचन सुनायो- एक चुट्की सिउँदोको सिन्दुरको भरमा आफ्नो हक जमाउन कहाँ पाइन्छ र दाइ आजकल ? त्यो हक विश्वास र हाम्रो परम्परागत आस्थालाई प्रतिस्थापन गरिसक्यो गाँठले । अब हक जताउनलाई साथमा गाँठ चाहिन्छ र त्यसले पुष्टि गर्न सक्नुपर्छ । नत्र जसले सक्छ त्यसैले उछिट्याउँछ ।
आफ्नो हक कायम राख्न ब्रिटेन, अमेरिका, अस्ट्रेलिया र खाडी मुलुकतिर कर्म खोज्न गएका तन्नेरीहरूलाई के थाहा ? उनीहरूको आस्था र मेहनतको कमाइ यहाँ कसरी भेटी चढेको हुन्छ भन्ने कुरा । रूपैयाँले बङ्गला, गाडीजस्ता सुख-सुविधा सम्पन्नता त दिन्छ नै प्रकृतिले दिएको यौनरूपी उन्मत्त प्यास कसरी बुझाउने ?
‘कामे न विजितो ब्रहमा, कामे न बिजितो हरा’ भन्ने श्लोक सुनाएको उसले सामाजिक मर्यादा उल्लङ्घन गर्न उद्दत कामात्तुर त्यस्ता केही स्त्रीले पर-पुरुषलाई ईन्द्रसमान सुन्दर र शक्तिशाली देख्नु स्वाभाविक हुन्छ भन्दै अनिद्य सुन्दरी अहिल्या र इन्द्र बीचमा पूणर्चन्द्रको कुनै रात घटेको एउटा पौराणिक कथा सुनायो । त्योसँगै सुनायो, यौनजन्य खेलौना (सेक्स टोयज) को अहिलेको प्रपन्च र त्यस्ता खेलौनाको खोजीमा पसल चहारी हिँड्ने त्यस्ता कामातुर स्त्रीको बारेमा ।
त्यतिमा मात्र सीमित नरहेको ऊ तारे होटेलमा मसल देखाएर मोलमोलाइमा लागेका जिगोलोतर्फ लाग्यो र भन्यो- ‘यौन उन्मादले उन्मत्त त्यस्ता स्त्रीलाई आनन्द र उत्सवको अवसर दिएर पुण्यको काम गरेका छन् उनीहरूले । जिगोलोलाई इन्द्रको अवतार ठान्ने यौनपिपासु स्त्रीले उसको अँगालोमा आफूलाई सुरक्षित ठान्नेमात्र नभई आफूले प्राप्त गरेको ईश्वरप्रदत्त अमूल्य बरदान ठानेका हुन्छन् । त्यस्ता स्त्रीले के के मात्र गर्दैनन् ? भन्न सकिन्न ! पोखरामा एउटी संभ्रान्त घरकी महिलाले जिगोलोलाई पैतालीस लाखको कार किनेर दिएको कुरा हिजोको पत्रिकामा पढ्नुभएन दाइ ?’ भन्दै मेरो अनुहारमा हेर्यो ।
जिगोलोको चर्तिकला सुनाइसकेपछि उसले मलाई प्रेत लेखकको बारेमा अर्को अन्त्यहीन लाग्ने खालको प्रवचन दियो । प्रेत लेखक के हो भन्ने कुरा बुझाउनको लागि उसले मलाई धार्मिक ग्रन्थमित्र घुसार्न खोज्दै थियो । भन्यो वेदव्यासको कालखण्डदेखि नै सुरु भएको पेसामध्येको एउटा मर्यादित र पवित्रतम पेसा हो ‘प्रेत लेखन’ । श्रीमद्भागवतका रचयिता वेदव्यास थिए भने लेखन थियो गणेशजीको । अब भन्नुस्, रचना एउटाको लेखन अर्काको भएपछि गणेशजी प्रेत लेखक भएकि भएनन् ?
सकल हिन्दू धर्मावलम्बीलाई पार तार्ने त्यस्तो महान् ग्रन्थको लेखन गर्ने गणेशजीको मर्म मैले आफू प्रेत लेखक बनेपछि मात्र बुझें । मलाई थाहा छ दाइ, अनुभूतिले नै हो मान्छे ज्ञानी हुने भनेको । मलाई अहिले आएर ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आफू मिटाई अरूलाई दिनु जहाँ छ’ भन्ने महाकविको भनाइको मर्म बल्ल प्रष्ट आभाष भएको छ । ममा अब ती सब कुराको कुनै कमी छैन । मानिसहरू धर्म कमाउन सत्सङ्ग गर्छन् । मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारा, गिर्जाघर र अनेक खाले तीर्थाटनमा जान्छन् । अरूहरूको इच्छा पूरा गराउने कामलाई मैले धर्म मान्ने भएकोले मेरो सोच अरूको भन्दा अलि भिन्न छ । प्रेत लेखक बन्ने सौभाग्य पाएपछि मलाई आफू धर्मको सघन क्षेत्रमा प्रवेश गरेर ठूलो पुण्यको काम गरेको अनुभूति हुन थालेको छ ।
मैले सोधें, ‘कति कमाउँछौ त ?’ मेरो भनाइमा फिस्स हाँस्तै उसले सगौरव भन्यो- ‘मोतीमहलमा आएर खाने पिउने मानिसको कमाइ कतिसम्म हुनसक्छ भन्ने कुरा दाइले नबुझ्ने कुरै हुँदैन ।’ ऊ पिउन थाल्यो । मलाई पनि ‘सुठे भलाद्मी’ बन्नु थिएन । क्षणभरमा नै ग्लास र प्लेट रित्याएँ । उसले थप खानेकुराको अर्डर गरेसँगै मैले आफ्नो खाने गति अलिक सुस्त पारें र सोच्न थालेँ, ‘बिर्खे यहाँ पुगेछ ।’ भनेर । थप खानेकुरा लिएर आएको वेटर फर्कनेबित्तिकै उसले मेरा प्लेटमा खानेकुरा थप्दै मलाई आज दाइसँग बस्ता अविभावकसँग बसेको अनुभूति भएको छ’ भन्दै उसका तीन-चार कृतिको नाम लिएर काठमाडौँमा घर जोडेको समेत बतायो । कुरै कुरामा थाहा भयो अस्ति मैले किनेको आत्मकथाको ‘प्रेत लेखक’ त यही रहेछ ।
ऊ भन्दै थियो, ‘कमाउने कुरा भनेको, कला हो दाइ, कला । जति ठूलो कलाकार, त्यति नै धेरै पैसा बुझ्नु भएकै छ नि ‘सोझा औंलाले घिउ आउँदैन क्यारे । घिउ निकाल्न औंला टेढो पार्र्न पर्छ । दह्रो गाँठको व्यवस्था भएमा भर्याङ मुनिकालाई बुइँगलका हुन् भनेर प्रमाण जुटाइदिनेसम्मको कर्म गर्न पनि पछि नपर्ने म कस्तो कुशल कलाकार हुँला ? आफैँ सोच्नुस् त ।’ भन्दै ऊ मज्जाले हाँस्यो ।
भर्याङमुनि र भर्याङमाथिका सन्तानको कुरा त मैले सुनेको थिएँ । उसको बुइँगलको कुराले मलाई द्विविधाग्रस्त बनायो । सोधें- ‘बुइँगलतिरका सन्तान भनेको के नि ? कुनै रोचक घटनालाई सम्झेझैं झ्वाट्टै हाँसो रोकेर साँढेको पछि लागेको स्यालले र्याल काढेजस्तो मज्जाले मुख मिठ्याउँदै भन्यो- ‘भर्याङमुनिकालाई बुइँगलमा पुर्याइसकेपछि उसलाई किन चाहियो बीचको तला ! सुझबुझको लागि त दिमाग चाहियो नि दाइ, दिमाग ।’ ऊ झन् मज्जाले हाँस्यो र फेरि भन्यो, ‘रातारात नवधनाढ्य बनेका प्रशस्ती गायनका भोका मानिस फेला पारेर दुई चारवटा किताब लेख्ने अवसर पाएमा मात्र पनि जिन्दगी मालामाल बन्छ ।
उसको कुरा सुनेर तीनछक परेको मलाई यो प्रसङ्ग निकै रोचक लागेकोले अरु लम्ब्याउन मन लागेर सोधें, ‘अर्काको जीवनको घटनाक्रमको तालमेल मिलाएर लेख्न त निकै गाह्रो होला हो कि ? त्यसमा पनि ऊ आफैले लेखेर सच्याउने लेखकलाई कति नै रुपैयाँ पो दिइहाल्छ होला र ?’ मैले ऊमित्रको प्रेतलाई चोट पुर्याउन खोजेको थिएँ । उसले त्यसलाई जुम्राले टोकेको ठाउँमा कन्याएजतिको पनि मानेन ।
ऊ रक्सीले मातिन लागिसकेको थियो । मेरो कुरा सुनेर मज्जाले हाँस्यो र भन्यो- ‘दाइ, यो देशमा धन कमाउने भनेका ४/५ थरी मान्छे मात्रै छन्’ भन्दै औंला भाँची भाँची मलाई गिन्ती सुनाउन थाल्यो । एक नम्बरमा, चौबीसै घण्टा आँ गरेर मुख खुलै राखेर बस्ने घोरमुखा नेता । दोस्रोमा त्रिभुवन विमानस्थलमा सुन खान पल्केका छाडा साँढे । तेस्रो नम्बरमा प्रेत लेखक । चौथोमा जिगोलो । यो देशमा यिनीहरूबाहेक कसैले पनि मोजमस्तीसहितको सजिलै रुपैयाँ कमाउन सक्दैनन् । काल्चाको पसलमा एक ट्वाक उधारो ठर्रा नपाउने म त यहाँसम्म आइपुगें भनेपछि सोच्नुस् त दाइ देशले कति उन्नति गरिसक्यो ? रह्यो कुरा किताब लेखिदिने, त्यो त मेरो बायाँ हातको खेल हो । मलाई के नै गर्नुपर्छ र ?
कत्ति न ठूलो काम गरे भन्ने ठानेर व्यक्त गर्ने नमिल्ने आफ्ना निजी घटनाक्रमहरू खोतलेर आफूले आफैलाई भुङ्ग्रेलोमा पार्ने खेल उसैको । लेख्ने मिहिनेत उसैको । उसैले इडिट गर्छ । ऊ आफैँले पेज लेआउटसम्म गरेको हुन्छ । मैले त उसले लेखेको कुरामा फुलबुट्टा भर्ने हो र हस्व-दीर्घ मिलाइदिने मात्र हो । नयाँ लेखन नै गर्नुपरे त झन् मज्जा भइहाल्यो । लेखनशैलीको त झन् कुरै नगरौं दाइ । दरबारियाको जीवनी लेखनको लागि लखनउका कुनै फुटपाथे नवाफको शैली पछ्याए भइहाल्यो । नेता र हाकिमको लागि दिल्लीदरबारको प्रशस्ती गायनको रेडिमेट शैली छँदैछ । तपाईंजस्ता रउसेको लागि हिमाल, तराई, पहाडजस्तो शैली खोजे पनि भेटिन्छ । यसमा आपत्तिको कुरै छैन । कुरा मूल्यको मात्रै हो । त्यस्ता बित्पातका कुरा सुन्दा, ‘लाटाले पापा हेरेझैं’ उसको अनुहारमा ट्वाँ… परेर हेरिरहें ।
०००
‘चिबे नकटो’ २०७८ बाट
Subscribe
Login
0 Comments
Oldest






































