विश्व शाक्य‘अनावृत अण्डकोष’ र मेरी नातिनी
अब भयो फसाद ? के भनेर जवाफ दिने ? ‘हो’ भनेर जवाफ दिऊँ भने किताब ‘अण्डकोष’ होइन । ‘होइन’ भनेर जवाफ दिऊँ भने फेरि प्रश्नहरूको पेटारो लाग्नेछ । भयो फसाद ?

विश्व शाक्य :
दुईचार दिनअगाडि विदेशमा रहेको छोरालाई भखरै निस्केका मेरा दुईवटा किताब पठाउन हुलाक गएको थिएँ । सरुविन्दको नाम सुनेको मात्र होइन पत्रपत्रिकामा पढेको पनि थिएँ । उनी पोखराको दक्षिणी भेक मझेरीपाटनका, म पोखराको मध्यभेक तेर्सापट्टिको । उनी निक्कै समय यता पश्चिमाञ्चल क्षेत्रीय हुलाकमा कार्यरत छन् फेरि पनि हाम्रो भेटघाट थिएन । यो एउटा दुःखलाग्दो मात्र होइन लाजमर्दो कुरा पनि थियो । आत्मप्रशंसा र आत्मप्रचारमा दुवैजना लाज मान्ने भएर नै यो लाजमर्दो स्थिति सिर्जना भएको होला ।
धेरै वर्ष भयो, हुलाक भित्र पसेको थिइनँ । कुनै जमाना थियो, दिनहुँजसो हुलाक गइन्थ्यो । दुई दिन पत्र आउन ढिलो हुँदा हुलाकीसँग दिनको तीन पटक सोधपुछ गरिन्थ्यो । चिट्ठी सर्टिङ गर्ने कोठामा धर्ना कसेर बसिन्थ्यो । त्यो बेला त्यस्तै थियो । अहिले त्यस्तो रहेन । चिट्ठी पठाउने नै आफैँसँग भएपछि हुलाकमा चिट्ठी नै कहाँबाट ? हुलाकघर बाहिर दायाँ-बायाँको वातावरण परिवर्तन भए पनि तीस वर्षअगाडिको हुलाकघर आज पनि उस्ताको उस्तै छ । हुलाकघरभित्र काम गर्ने अनुहार एकदुईबाहेक सबै फेरिएका रहेछन् ।
किताबको पोका लिएर हाकिमको कोठातिर लागें । विदेश पठाइने पार्सल (पोका) पहिला हाकिमबाट रुजु गरिनुपर्ने रहेछ । कोठाभित्र ट्रेकिङ जाँदा लगाउने टोपी लगाएर बसिरहेको सरुविन्दलाई मैले प्रथम नमस्कार गरें । मलाई आफ्ना अगाडि उभिएको देखेर उनले अनायासमै “ओहो दाइ ! नमस्कार ! आज अचानक ?” भन्दै आश्चर्य व्यक्त गरे । मैले विदेशमा रहेको छोरालाई मेरा नयाँ पुस्तकहरू पठाउन लागेको जानकारी दिएँ । उनले केही प्राविधिक कुराकानी र सुझाउसहित काम सकिदिएर एकछिन, सँगै बसेर कुराकानी गर्ने इच्छा जाहेर गरेँ । मेरो पनि सरुविन्दसँगको पहिलो साक्षात्कार थियो । चूपचाप म उनका पछि लागेँ । माथिल्लो कोठामा हामी निकै बेर बस्यौँ । समसामयिक साहित्यिक गतिविधि, साहित्यमा देखापरेका भाट प्रवृत्ति र गुट, उपगुटमा विभाजित साहित्यिक सङ्घसंस्थाहरूबारे कुरा गर्यो । महिना दिनअगाडि मात्र विमोचन भएका हास्यव्यङ्गय नाटिका सङ्ग्रह ‘विकासे च्याङ्ग्र्रो’ र लोकार्पणउन्मुख ‘बुद्ध देवता होइनन्’ का कुरा उठे । (यिनै किताब म छोरालाई पठाउँदै थिएँ ।) उनले मेरा यी किताबहरू पाउनुपर्ने हक जाहेर गरे । मैले अर्को भेटमा उपलब्ध गराउने वचन दिएँ । सरुविन्दले नजिकैको दराज खोलेर एउटा किताब निकाले र त्यसमा ‘अनवरत साधनारत अग्रज स्रष्टा तथा स्नेही मित्रवर श्री विश्व शाक्य ! सप्रेम भेट- सरुविन्द २०५९/५/२४’ लेखेर दिए । उनले दिएको किताबको नाम मैले सुनिसकेको थिएँ । “किताबको नाम किन यस्तो राख्नुभएको ? थाहा छ ? तपाईंको यो किताबको नाम लिन एउटा कार्यक्रममा एकजना गुरुलाई कस्तो आपत् पर्यो ? ‘अनावृत’ दुईपटक भन्नुभयो गुरुले ‘अण्डकोष’ भन्नेवेला भित्तातिर फर्कनुभयो । कारण त्यस कार्यक्रममा महिलाहरू पनि हुनुहुन्थ्यो ।” मेरो यस भनाइमा उनी अलिकति पनि प्रभावित भएनन् । न उनले आश्चर्य माने, न मजा नै उनले स्वाभाविक रूपमै आफ्नो भन्नुपर्ने कुरा सबै व्यक्त गरे जुन उनले उचित सम्झेका थिए तर उनको किताब ‘अनावृत अण्डकोष’ नै सिर्जना गरेको एउटा अर्को प्रसङ्ग चर्चा गर्न उपयुक्त लागेर उल्लेख गर्ने धृष्टता गर्दैछु ।
सरुविन्दबाट प्राप्त ‘अनावृत अण्डकोष’ (पुस्तक) अध्ययन टेबुलमाथि थियो । तीजमा २-३ दिन स्कुल बिदा भएको कारण छोरी माइत आएकी थिई । नातिनी पनि सँगै आएकी थिई ऊ साह्रै चकचके र जिज्ञासु थिई नौलो जे केही कुरा देखे पनि खोजीनीति गरिहाल्ने । अध्ययन टेबुलमाथि राखेको किताब देखेपछि उनले सोधी- “हजुरबा, हजुरबा यो किताब हजुरले लेख्नुभएको हो ?” मैले होइन भनेर जबाफ दिन नभ्याउदै उसले सोधिहाली- “हजुरबा !” उसले एकएक अक्षर केलाउँदै भनी “हजुरबा ! अनावृत ‘अनावृत’ भनेको के हो ?”
“तँलाई किन चाहियो ?” मैले आफ्नो काममा व्यस्त रहँदै भनें । ऊ कहाँ मान्नेवाला थिई । उसले जिद्दी गर्दै भनी भन्नोस्न हजुरबा अनि ‘अ ण्ड कोष’ अ “अण्डकोष’ भनेको के हो नि ?” उसले सरसरी पढेर सोधी- हजुरबा यो “अनावृत अण्डकोष भनेको के हो नि ?” मलाई साह्रै अप्ठेरो पर्यो, के भनेर सम्झाउने उसलाई ? अण्डकोषको शाब्दिक अर्थ बताइदिऊँ भने झन् नाटीकुटी सोध्नेछ, यताउति बताइदिऊँ भने भोलि यथार्थ कुरा बुझ्ने अवस्थामा म झुटो सावित हुने भो धर्मसङ्कमा परँे । उसको जिद्दी भने सयमा उनन्सय पनि भएको थिएन । केही सुख नपाएपछि मैले भनें “तँ त्यस्ती ज्ञानी मान्छे, पढ्न सिपालु मान्छे भएर… यो किताब हो भन्ने पनि थाहा नपाएर हजुर बासँग के हो भनेर सोधिराखेकी ?” मेरो जबाफ उसलाई चित्त बुझेन । ऊ झन् जिज्ञासु भएर सोध्न थाली “अँ, हजुरबा पनि ! किताब हो भन्ने त थाहा छ नि यहाँ लेखेको यो ‘अण्डकोष’ भनेको के हो भनेर पो सोधेकी त ।”
हामी नातिनी हजुरबाका बीच कुरा भइरहेका थिए । यसैबीच “नातिनी हजुरबा के कुरा गरिरहेकी ?” भन्दै छोरी टुप्लुक्क आइपुगी । मबाट जबाफ नपाइरहेकी नातिनीले आमातिर झम्टिँदै गएर सोधी “मम्मी, मम्मी ‘अण्डकोष’ भनेको के हो ? हेर्नुस् न हजुरबाले बताउँदै बताइदिनुहुन्न । मम्मी ।” उसले प्रश्न दोहर््याउनुअगावै आमा चाहिँले पुलुक्क मतिर हेरेर अनुहार रातोपीरो पार्दै छोरीलाई हकारेर कोठाबाहिर निस्किई । नातिनीले अनुहार अँध्यारो पारी । उसको जिज्ञासुपन र निश्छलतामा दया लागेर आयो । उसलाई सम्झाउने प्रयासमा मैले भनें- “हेर् नानू ! त्यसको माने तिम्री मम्मीले बुझेकै छैन, जानेको मात्र छ । त्यसैले भागी । यसको राम्रो अर्थ मलाई पनि थाहा छैन, किनभने यो किताब मैले हिजो मात्र लिएर आएको । यो सबै पढेपछि बल्ल थाहा हुन्छ यो ‘अनावृत अण्डकोष’ भनेको के हो भनेर ।”
“अनि के !’ उसले अरू जिज्ञासु हुँदै सोधी- ‘अण्डकोष’ भनेको किताब हो ?” अब भयो फसाद ? के भनेर जवाफ दिने ? ‘हो’ भनेर जवाफ दिऊँ भने किताब ‘अण्डकोष’ होइन । ‘होइन’ भनेर जवाफ दिऊँ भने फेरि प्रश्नहरूको पेटारो लाग्नेछ । भयो फसाद ? मैले उम्कने एउटै प्रयास गर्दै भनें- हेर् नानू ! ‘अण्डकोष’ भनेको किताब हो कि के हो यो किताब जसले लेखेको हो नि त्यै अङ्कलसँग सोध्नुपर्छ । अनि बल्ल थाहा हुन्छ !”
थाहा छैन किन, यसपटक ऊ चूप लागी । उसको ध्यान अन्यत्रतिरै मोडियो । तर ‘अनावृत अण्डकोष’ले उब्जाएको यो प्रसङ्ग मेरा लागि अविस्मरणीय मात्र नभएर अनुत्तरित नै रहन गएको छ ।
०००
जनमत / २०५९ भदौ ३१
‘मिस्टर मोमो’ (२०६५)
Subscribe
Login
0 Comments
Oldest







































