ह्यारी- ८०खबरदार !!
हुन पनि हो बाङ्गा फतुरेहरूले सोझा लुतुरेहरूलाई पोलेर, भुटेर, पिँधेर, मुछेर, पुछेर, मिचेर, किचेर मिल्न सक्नेसम्मका परिकार बनाएर खाइसकेका छन् । राजनीतिक पिङमा मच्चिएर यताको फुर्को पनि उताको फुर्को पनि लुछेर सिध्याइसके ।
ह्यारी- ८० :

कस्ता व्यक्तिलाई ‘नेपाली हुँ’ भनेपछि केही नहेरी नागरिकता दिनुपर्छ भनी फतौरे काकालाई सोधेको सिधै उत्तर दिए, “जे गर्नुहुँदैन भनेको छ, त्यो गर्यो भने ऊ नेपाली हो भन्ने चिनेर उसलाई नागरिकता दिए हुन्छ ।” म त अक्क न बक्क भएँ । होइन, यहाँ के गर्न हुने र के गर्न नहुने भन्ने चाहिँ कसले भनिदिने होला ? नेपालको कानुन दैवले जानुन् भन्छन् । कानुनले जता पनि लैजाने हुनाले वकिलअनुसारका बकितम, बकितमअनुसारका लिखितम हुने नै भयो । त्यहाँ नहेर न भन्यो त्यहीँ नहेरी नहुने स्वभाव कसैको छ भने त्यो नेपालीको मात्रै हुन्छ । जो बुढो उही बाटो …., त्यसै भनिएको होइन रहेछ । समाजलाई डोर्याउनका लागि विश्वास गरेकाले नै ऋण लिनदेखि दिनेसम्म, कामको योजना बुन्नेदेखि कार्यान्वयनको गाँठो तुन्नेसम्म घुस खानुहुँदैन, घुस खायो भने भ्रष्टाचार हुन्छ भन्दापनि भन्नेदेखि सुन्नेसम्म, नियम बनाउनेदेखि पालन गर्ने र गराउनेसम्म सबै मतिभ्रष्ट हुन्छन् र छिद्र खोजेर भ्रष्टाचार गरिहाल्छन् । अनि भ्रष्टाचार गर्नुहुन्न भनेर नगरेको छ त ?
ठिक यति बजे आउनुपर्छ है भन्यो भने त्यति बजे त्यहाँ पुग्न त परै जाओस्, हिँड्न पनि सुरु नगर्ने प्रवृत्ति छ । विवाहको भोजमा जाने कुरा होस् कि कार्यालयको काममा जाने, सिटिङ टायमदेखि मिटिङ टायमसम्म, अफिस टायमको होस् या डेटिङ टायम होस् समयमा कुनै काम हुँदैन । यो देशमा भानुभक्तलाई भोलि भन्दै पर्खाउने, भैरव अर्याललाई ‘पख्नोस्’ भन्दै पर्खाउनेले हामी जस्ता तित्रा जसको मुखै त बैरी छ, यस्तालाई यसो नगर भनेर कसैले टेर्छ र ? समयमा काम गर्नुृपर्छ भन्यो बोली मात्र खेर जान्छ गर्दैनन् भने त्यो पक्का नेपाली हो भन्ने बुझ्नुपर्छ । जसलाई चुनाउमा जिताउनै पर्छ भन्यो त्यसलाई जिताउँदैनन्; समयमा ऋण तिर्नुपर्छ भन्यो तिर्दैनन् । झुटो नबोल भन्यो झुटका वाणीको वर्षा नै हुन्छ । यातायात कार्यालयमा काम छिटो होस् भन्यो हुँदैन । लेखा शाखामा बेरुजु नहोस् भन्यो झन् हुन्छ । नेता प्रस्ट होउन् भन्यो, झन् भ्रष्ट हुन्छन् । इदं भ्रष्टं उदं भ्रष्टं हुन्छन् । हाम्रो पहिचान भनेकै जुन काम गर्न हुँदैन भन्यो त्यही गर्ने हो भन्दा अत्युक्ति नहोला ।
वैदेशिक रोजगारका लागि यी यी देशमा जान अनुमति छैन भन्यो भने त्यही त्यही देशमा सबैभन्दा बढी गएको मिथ्याङ्कले प्रस्ट्याएको छ । कुन बाबुआमाले सिकाएका छन्; चोर्नुहुन्छ भनेर, ठग्नुपर्छ भनेर ? नेपाली टायम हो भनेर कसले सिकाएको छ हँ ढिला गर्न भनेर ? संविधान मिच्न हुन्न भन्यो, त्यही गरेका छन्, नातावाद फरियावाद नलगाओ न भन्यो त्यही गरेका छन्, होइन जसले जे गर्न हुँदैन भन्यो त्यही गर्ने परिपाटी हामीले नै बसालेका छौँ भन्दा अत्युक्ति होला र ? कोही कोहीको मत चाहिँ के छ भने काँतर, पानमिरुवा पलायनवादी पामरले मात्र गर्न हुँदैन भन्छ भने कसैसँग नडराई जे पनि गर्न हुन्छ भनी यसका पक्षधर भन्ने गर्छन् । मेरो पनि चाहना होइन, तपाइँको पनि होइन र उसको पनि होइन गर्न नहुने काम गर्ने चाहना । तर पनि भइरहेकै छ किनभने हामी जसले जे भने पनि गरेरै छोड्छौँ । घरी यता धाएर हुन्छ कि कसैका गीत गाएर हुन्छ कि आफ्नो स्वार्थन्धताका लागि काम गरिछाड्छौँ । हो भूपिकै शब्द सापट लिएर भन्न सकिन्छ कि ‘हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौँ ।’
तिहारमा पटाका पड्काउन हुँदैन रे, खै पड्केकै छ । विवाहमा यति जना भन्दा बढी जन्ती जान पाइँदैन गएकै छन् । छुवाछुत, लैङ्गिक विभेदको अन्त्यका लागि लम्स्याङलुम्सुङ जम्स्याङजुम्सुङ भएकै छ, गर्न पाइँदैन गरेकै छ । मिलोमतोमा खेलेर फिक्सिङ गर्न पाइँदैन, राजनीतिमा सेटिङ गरी स्वतन्त्रता हनन गर्न पाइँदैन, सार्वजनिक सेवामा कार्यरतले विनाअनुमति अर्को ठाउँमा कार्य गर्न पाइँदैन, क्रिप्टो करेन्सी चलाउन पाइँदैन, विनाअनुमति कसैको भिडियो खिच्न पाइँदैन तर खै गर्न हुँदैन भनेका यस्ता यावत् कुरा भएकै छ । गर्न नहुने त्यसले हो जसको पावर छैन । पावर भए टावर बनाए नि हुन्छ जतिसुकैको बेबी सावर बनाए नि हुन्छ, पैसावाल र पहुँचवालसँग त्वं शरणम् हुन सक्नेका लागि जे गर्न हुँदैन त्यो गर्न हुन्छ तर अन्यले भने लुत्रे कान लगाएर क्याँक्याँ गर्दै पुच्छर टाँङमुनि छिराएर भाग्नुपर्ने हुन्छ । हात्ती नदेख्ने जुम्रा देख्ने हवाइअड्डा, हात मिलाइरहेका भ्रष्टका रक्षक, आफ्नै इमानजमान बेचिदिनेलाई नचिन्ने सहकर्मी बिचौलियालाई यो काम गर्न हुँदैन भन्न नसक्नु हाम्रो वैशिष्ट्यता हो ।
हुन पनि हाे, हाम्रो सामाजिक मूल्यमान्यता, विश्वास र आदर्शलाई आत्मसात् गर्न नसक्ने हुतिहारालाई के गर्न हुन्छ के हुँदैन भन्ने नै थाहा नभएपछि केही पनि गर्दैनन् नै । आफ्नै देशमा उद्योग खोल्नुपर्छ भन्ने तर भएकालाई धराशयी बनाउने र बेच्ने, कवाडीका दाममा जडीबुटी बेच्ने, पानी बेच्ने, ढुङ्गा बेच्ने, बालुवा बेच्ने, सिमाना बेच्ने, जनतै बेच्ने, महिला बेच्ने, पुरुष बेच्ने, किड्नी बेच्ने, रुख बेच्ने, इमानजमान बेच्ने, वीरता बेच्ने, सेल, रेल, एनसेल सम्म बेच्ने रे । होइन हामीलाई चाहिने सबै कुरा बेचेको बेच्यै बेचेको बेच्यै गर्दा पनि पत्तो नपाउनु नै हाम्रो सौन्दर्यबोधक उच्च चेतना हो, हाम्रो जातीय पहिचान हो जो रेमिट्यान्सबाट बचिरहेको छ । सबैलाई ज्ञात भएको कुरा हो कि गर्न नहुने काम गरिरहनेले हाम्रो पेटमा कब्जियत बढाइरहेका छन्; वायु बढाएर आयु घटाइरहेका छन् ।
हुन पनि हो बाङ्गा फतुरेहरूले सोझा लुतुरेहरूलाई पोलेर, भुटेर, पिँधेर, मुछेर, पुछेर, मिचेर, किचेर मिल्न सक्नेसम्मका परिकार बनाएर खाइसकेका छन् । राजनीतिक पिङमा मच्चिएर यताको फुर्को पनि उताको फुर्को पनि लुछेर सिध्याइसकेकाले अब युवाजमातले गर्न नहुने भएर पनि गरिरहनेको विकल्प खोज्न आपूर्तिकर्ता, मध्यस्थकर्ता, प्रतिस्पर्धी सबैको जोखाना हेर्दै आँगन, बलेँपिँढी, मझेरी, चोटा, कोठा र बुइँगलका भूत मन्छाउनुपर्छ । नत्र देश हिँडेर खाडीतिर, अमेरिकातिर र अष्ट्रेलियातिर पग्लिँदै सकिन्छ । यो काम गर्न हुँदैन भन्दै त्यही गरिरहने हो भने भन्नेहरूको अस्तित्व पनि भर्सेलामा नपर्ला भन्न सकिन्न । अब पनि जनताका लागि सिर्जिएको कृत्रिम दरिद्रताको कब्जियत हटाउने हो भने यही भूमिमा बसेर यहीँको पानी पिउन र सास फेर्न सक्ने पारिस्थितिक प्रणाली मजबुत पार्नुपर्दैन !! खबरदार गर्न नहुने काम गर्नुहुँदैन भनेर गर्नेहरू !!
०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८० पुस ७ गते शनिबार
Subscribe
Login
0 Comments
Oldest










































