साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गान्धीजीको ओभरकोट

मैले भनें, ‘त्यसैले त म पनि यो लगाउँछु नि किनभने मैले त राष्ट्रका लागि त्यस्तो गर्मी नै आउने गरी कुनै बलिदान गरेको छैनँ । त्यसैले यो ओभरकोट लगाउँछु । म यसलाई गान्धीको ओभरकोट भन्छु ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

जाडामा म खादी भण्डारको ओभरकोट लगाउँछु । म यसलाई गान्धीजीको ओभरकोट भन्ने गर्छु । बिल्कुल गान्धीजीको जस्तै सादा सिइएको र राजनीतिज्ञहरूको गान्धीवादजस्तै सतही । फिटिङको आवश्यकता नै नहुने । ख्याउटे साथीदेखि लिएर बलियो पहलवान, दुबैले लगाउन सक्ने । केही मानिसहरू यस्ता हुन्छन् जसले शरीरमा लबेदा लगाएको जस्तो पार्छन् । उच्च श्रेणीको उन लिएर मूल्यवान् ओभरकोट सिउने दर्जीद्वारा काँधको फिटिङ गराउँछन् र पिठ्युँ तथा छाती नपाउँछन् । लम्बाइ निश्चित गर्छन् । धागो छनोट गर्छन् । अनि दुईतीन पटक ट्रायल दिन जान्छन् । दर्जीसित बहस गर्छन् ।

तर यो ओढिने गान्धीवादमा अर्थात् ओभरकोटमा कुनै झन्झट छैन । कुनै बिचौलिया छैन । दुइटा बाहुला छन् , साढे चारफुटे तन्नेरीदेखि लिएर छफुटेसम्मका लागि एउटै साइजको । समताको सिद्धान्त हो यो । सर्वोदय पनि यही हो । बाहुलाबाहेक एउटा फेरो पनि हुन्छ जसले शरीरलाई अगाडि र पछाडिबाट बेरेर राखेको हुन्छ । टाँकहरू पनि यस्ता सर्वहारा हुन्छन् कि एकै वर्षमा धागो चुँड्न थाल्छ अनि टाँकहरूलाई फेरि टाँस्नुपर्छ ।

जम्माजम्मी यो सर्वहाराको ओभरकोट हो र यसको उत्पादन गरेकामा खादी बोर्डलाई धन्यवाद दिनैपर्छ । मानिसहरू त संस्थामा घोटाला छ पनि भन्छन् । म यसलाई दुष्टहरूको दुष्प्रचार मान्छु । गान्धीजीका भक्तहरूले त के घोटाला गर्लान् र ? कहिल्यै गर्दैनन् होला ।

यो गान्धीजीको ओभरकोट अद्भुत छ । म त गान्धीजीका देनहरूमा स्वराज्यभन्दा पनि ओभरकोट महत्त्वपूणर् मान्दछु । यसलाई धुलाउनु पनि पर्दैन । यो मैलो नै हुँदैन । एकजना मित्रले भने – यसमा त इस्तिरी पनि हुँदैन । यो लगाएर त म राति रेलगाडीमा सुतिदिन्छु । अनि बिहान हेर्छु त एउटा पनि मुजा परेको हुँदैन । यसलाई तपाईं बाकसमा बन्द गर्नुस् र झिक्नुस् ताजा पाउनुहुनेछ । अरू त अरू यसलाई वर्षैभरि माटाको घैंटामा राख्नुस् र झिक्नुस् । जस्ताको तस्तै पाउनुहुनेछ । कुनै अन्तर पर्दैन । भाँडामा जस्तो राखेको थियो त्यस्तै निस्किन्छ । ठिक माटाको घैंटामा कोचेको गान्धीवादजस्तै समय आएपछि घैंटाबाट झिकेर लगाउन वा ओढ्न सकिन्छ ।

यो अद्भुत सस्तो कोट गान्धीवादीहरूको एउटा अनुपम उपहार हो ।
यो यति तात्छ कि कम्बल नओढिकन पनि सुत्न सकिन्छ ।
मैले जब यो लगाउँछु तब मैले गान्धीजीको बाख्राको छाला पो ओढिरहेको छु कि भन्ने लाग्छ ? अन्य देशभक्तहरूलाई यस्तो नलागेको हुनसक्छ किनभने गान्धीजीले त्यो बाख्रो छिटै बेचिदिएका थिए । केही पर्खेका भए आज अन्तराष्ट्रिय स्तरमै निकै ठूलो व्यवसाय हुने थियो । पब्लिक सेन्टरमा एउटा उद्योग खोलिन्थ्यो र संसारैभरि यस्तो विज्ञापन छपाइन्थ्यो –

‘गान्धीजीको बाख्राको कोट । रिअल गान्धी कोट । मिङ्क कोटभन्दा उच्चस्तरको ।’ भारतीय हस्तकलाका अन्य वस्तुसँगै यस कोटको प्रदर्शन न्युयोर्क, प्यारिस, बोन, फ्रङ्कफर्ट अनि अरू पनि कति कति ठाउँमा यसको प्रदर्शनी लाग्दो हो । प्रदर्शनप्रिय महिलाहरूले विदेशयात्राको आनन्द लिँदा हुन् । साथै नेता र अधिकारीहरू पनि जाँदा हुन् ।

अनि मिसेज रोबर्टले न्युुयोर्कमा मिसेज सिम्प्सनसित भन्दी हुन्, ‘देख्यौ, यसपालि मैले निकै राम्रो मिङ्क कोट किनेकी छु । तर तिमीले यो के लगाएकी छौ हँ ?’

अनि मिसेज सिम्प्सन पनि भन्दी हुन्, ‘फाइ अन दिज मिङ्क कोट्स् ! यी मिङ्क कोटलाई त धिक्कार छ ! मैले त गान्धीजीको बाख्राको कोट लगाएकी छु । यसको मूल्य पनि त मिङ्क कोटको भन्दा दोब्बर छ नि !’
मिसेज रा्ेबर्टले औंलो टोक्दी हुन् र भन्दी हुन्, ‘रिअल्ली ! गेंडी कोट । उनको बाख्राको छालाको कोट हो ? माई गड ! सच ए हली कोट । (यति पवित्र कोट ?) प्लिज, गेट मी वन बेन दी नेक्स्ट स्टक कम्स ( अर्को लट स्टक आयो भने मेरा लागि पनि एउटा किनिदिनू ल ! आई वान्ट ए हली कोट ।’

तर गान्धीभक्तहरूले त्यसैको नामबाट अन्य सानातिना व्यवसाय त गरे तर यस अन्तर्राष्ट्रिय व्यवसायलाई बिर्से । अझै पनि समय बितिसकेको छैन । मैले लगाएको खादीको ओभरकोटलाई नै धोइधाइ पारेर र रँगाइवरी भए पनि विदेशमा गान्धीजीको नाम पारेर बेच्न त सकिन्छ नि !

बनावटी र मिसावटी गर्नमा त हामी माहिर छँदै छौं । इन्डोनेसियाका सुकणर्जस्ता घोर अहङ्कारी राष्ट्रपतिले पनि आफ्नो आत्मकथामा हामीलाई निकै उच्च श्रेणीमा राखेका छन् । उनले लेखेका छन् , ‘साम्राज्यवादीले हाम्रो देश छोडेर जाँदा हाम्रो सबैथोक समाप्त पारेर गए । त्यसैले हामीले आफ्नो प्रत्येक मन्त्रीलाई आफ्नो विभागबाहेक पनि कुनै पनि वस्तुको तस्करीको काम जिम्मा लगायौं । जस्तो विदेश विभाग तथा खाद्य सामग्रीको तस्करी । यसमा इन्डियनहरूले हामीलाई निकै सहयोग पुर्‍याए किनभने इन्डियन जन्मैदेखि तस्कर हुन्छ । इन्डियन्स आर बान्र्ड स्मगलर्स ।’

त्यसो त पछि गएर सुकणर्सित हाम्रो सम्बन्ध बिग्रेको थियो तर उसले हाम्रो राष्ट्रिय प्रतिभाको निकैे प्रशंसा गरेको छ ?
जे होस्, म ठुलै व्यवसायका लागि योग्य त छैनँ । त्यति पैसा पनि छैन । मैले निकै ठुलो काम गरे एउटा ससानो पसल खोल्न सक्छु र यस्तो बोर्ड लगाउन सक्छु- ‘यहाँ गान्धीजीको बाख्राको परिवारका बाख्राहरूको शुद्ध, पवित्र, पतित पावन दुध पाइन्छ ।’
व्यवबाय चलि पो हाल्छ कि त ?
खादी भण्डारको यो ओभरकोट मैले पवित्र रामनामी बर्कोजस्तै ओढिरहन्छु ।
हिजै एकजना पुराना गान्धीवादी भटिए ।

पहिले एउटो प्रदेशका मन्त्री भएका थिए । फेरि दलबदलमा गलत निर्णय लिएका कारण मन्त्रीपद गयो । विधायक मात्र रहे । अब विधायक पनि रहेनन् किनभने टिकट अर्कैले झम्ट्यो । टिकटको मौसममा त गान्धीवादी बाज हुन्छ । झम्टा हान्यो र टिकट लग्यो ।

तर मोजमा छन् । एकदुईवटा संस्थाहरू खोलेका छन् । छोराहरूले पसल हेर्छन् । उनको र मेरो जम्काभेट भयो ।
उनले पनि खादीभण्डारको ओभरकोट लगाएका थिए ।

मलाई देखेर अडिए । हाम्रो सम्बन्ध ख्यालठट्टाको पनि छ । त्यसैले भने, ‘तिमी पनि खादीभण्डारमा आयौ ?’
मैले भनें, ‘हैन, केवल यो ओभरकोट लगाउँछु । तपाईंले पनि त्यही लगाउनुभएको छ । निकै तातो हुन्छ ।’
उनले भने, ‘गान्धीभण्डारको ओभरकोट तातो त भइहाल्छ नि ! यसमा राष्ट्रका लागि गरिएको बलिदान छ नि त ! यसमा कैयौं शहीदहरूको गर्मी छ ।’

मैले भनें, ‘त्यसैले त म पनि यो लगाउँछु नि किनभने मैले त राष्ट्रका लागि त्यस्तो गर्मी नै आउने गरी कुनै बलिदान गरेको छैनँ । त्यसैले यो ओभरकोट लगाउँछु । म यसलाई गान्धीको ओभरकोट भन्छु । यसमा अरूको बलिदानको गर्मी छ । मैले त्यसै गर्मीको चोरी गर्छु ।’
उनले भने, ‘ठिकै भन्यौ ।’

मैले भनें, ‘कुरो के भने नि, गान्धीजीका अरू त सबै कुराहरू समाप्त भए । यही एउटो ओभरकोट त बँचेको छ नि !’
उनले भने, ‘तर यस ओभरकोटका ठुलाठुला फाइदाबारे तिमीलाई थाहा छैन । यसले सबै कुरो छोपिदिन्छ । गान्धीवादको यस खोलले सबै ढाकिदिन्छ ।’

मैले सोधें, ‘तिमी त निकै पुराना गान्धीवादी हौ त खादी नै लगाउँछौ होला ? म भने खादीको ‘थ्योरी’लाई मान्दिनँ । त्यो एउटा समय थियो जुन बित्यो । तर तिमी त खाँटी गान्धीवादी हौ त पक्कै सबै लुगा खादीकै लगाउँछौ होला ।’
उनी हाँसे अनि भने, ‘अरे यार, भित्रभित्र त सबै देशी तथा विदेशी मिलकै लगाउँछु । बन्डी पनि फाइन कपडाको लगाउँछु, खादीको लगाउँदिनँ ।’

मैले सोधें, ‘भित्री कट्टु नि ?’
उनी हाँसे र भने, ‘ठट्टामा ओल्र्यौ हैन ? गान्धीजीले लगौंटी लगाउनुहुन्थ्यो । हामी राम्रो कपडाको सिलाएको लगौंटी लगाउँछौं ।’

मैले सोधें, ‘कुर्ता ?’
उनले टाँक फुकालेर देखाइदिए, निकै मूल्यवान् फाइन उनीको कुर्ता थियो ।

मैले भनें, ‘उसो भए यो खादीभण्डारको लबेदाजस्तो भद्दा ओभरकोट किन लगाउँछौ त ? राम्रो विदेशी उनीको कोट किन लगाउँदैनौ ?’

उनले भने, ‘अरे, तिमीले यसलाई गान्धीजीको ओभरकोट भनेका छौ नि ! हामी यसलाई यसभित्र सबै कुरा लुकाउनका लागि लगाउँछौं ।’
मैले भनें, ‘जसरी हाम्रो मैलको दुर्गन्ध छोपिन्छ त्यस्तै ?’

०००
‘परसाई रचनावली’ भाग २ को ‘गाँधीजी का ओवरकोट’ शीर्षकबाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x