हरिशंकर परसाईंगान्धीजीको ओभरकोट
मैले भनें, ‘त्यसैले त म पनि यो लगाउँछु नि किनभने मैले त राष्ट्रका लागि त्यस्तो गर्मी नै आउने गरी कुनै बलिदान गरेको छैनँ । त्यसैले यो ओभरकोट लगाउँछु । म यसलाई गान्धीको ओभरकोट भन्छु ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
जाडामा म खादी भण्डारको ओभरकोट लगाउँछु । म यसलाई गान्धीजीको ओभरकोट भन्ने गर्छु । बिल्कुल गान्धीजीको जस्तै सादा सिइएको र राजनीतिज्ञहरूको गान्धीवादजस्तै सतही । फिटिङको आवश्यकता नै नहुने । ख्याउटे साथीदेखि लिएर बलियो पहलवान, दुबैले लगाउन सक्ने । केही मानिसहरू यस्ता हुन्छन् जसले शरीरमा लबेदा लगाएको जस्तो पार्छन् । उच्च श्रेणीको उन लिएर मूल्यवान् ओभरकोट सिउने दर्जीद्वारा काँधको फिटिङ गराउँछन् र पिठ्युँ तथा छाती नपाउँछन् । लम्बाइ निश्चित गर्छन् । धागो छनोट गर्छन् । अनि दुईतीन पटक ट्रायल दिन जान्छन् । दर्जीसित बहस गर्छन् ।
तर यो ओढिने गान्धीवादमा अर्थात् ओभरकोटमा कुनै झन्झट छैन । कुनै बिचौलिया छैन । दुइटा बाहुला छन् , साढे चारफुटे तन्नेरीदेखि लिएर छफुटेसम्मका लागि एउटै साइजको । समताको सिद्धान्त हो यो । सर्वोदय पनि यही हो । बाहुलाबाहेक एउटा फेरो पनि हुन्छ जसले शरीरलाई अगाडि र पछाडिबाट बेरेर राखेको हुन्छ । टाँकहरू पनि यस्ता सर्वहारा हुन्छन् कि एकै वर्षमा धागो चुँड्न थाल्छ अनि टाँकहरूलाई फेरि टाँस्नुपर्छ ।
जम्माजम्मी यो सर्वहाराको ओभरकोट हो र यसको उत्पादन गरेकामा खादी बोर्डलाई धन्यवाद दिनैपर्छ । मानिसहरू त संस्थामा घोटाला छ पनि भन्छन् । म यसलाई दुष्टहरूको दुष्प्रचार मान्छु । गान्धीजीका भक्तहरूले त के घोटाला गर्लान् र ? कहिल्यै गर्दैनन् होला ।
यो गान्धीजीको ओभरकोट अद्भुत छ । म त गान्धीजीका देनहरूमा स्वराज्यभन्दा पनि ओभरकोट महत्त्वपूणर् मान्दछु । यसलाई धुलाउनु पनि पर्दैन । यो मैलो नै हुँदैन । एकजना मित्रले भने – यसमा त इस्तिरी पनि हुँदैन । यो लगाएर त म राति रेलगाडीमा सुतिदिन्छु । अनि बिहान हेर्छु त एउटा पनि मुजा परेको हुँदैन । यसलाई तपाईं बाकसमा बन्द गर्नुस् र झिक्नुस् ताजा पाउनुहुनेछ । अरू त अरू यसलाई वर्षैभरि माटाको घैंटामा राख्नुस् र झिक्नुस् । जस्ताको तस्तै पाउनुहुनेछ । कुनै अन्तर पर्दैन । भाँडामा जस्तो राखेको थियो त्यस्तै निस्किन्छ । ठिक माटाको घैंटामा कोचेको गान्धीवादजस्तै समय आएपछि घैंटाबाट झिकेर लगाउन वा ओढ्न सकिन्छ ।
यो अद्भुत सस्तो कोट गान्धीवादीहरूको एउटा अनुपम उपहार हो ।
यो यति तात्छ कि कम्बल नओढिकन पनि सुत्न सकिन्छ ।
मैले जब यो लगाउँछु तब मैले गान्धीजीको बाख्राको छाला पो ओढिरहेको छु कि भन्ने लाग्छ ? अन्य देशभक्तहरूलाई यस्तो नलागेको हुनसक्छ किनभने गान्धीजीले त्यो बाख्रो छिटै बेचिदिएका थिए । केही पर्खेका भए आज अन्तराष्ट्रिय स्तरमै निकै ठूलो व्यवसाय हुने थियो । पब्लिक सेन्टरमा एउटा उद्योग खोलिन्थ्यो र संसारैभरि यस्तो विज्ञापन छपाइन्थ्यो –
‘गान्धीजीको बाख्राको कोट । रिअल गान्धी कोट । मिङ्क कोटभन्दा उच्चस्तरको ।’ भारतीय हस्तकलाका अन्य वस्तुसँगै यस कोटको प्रदर्शन न्युयोर्क, प्यारिस, बोन, फ्रङ्कफर्ट अनि अरू पनि कति कति ठाउँमा यसको प्रदर्शनी लाग्दो हो । प्रदर्शनप्रिय महिलाहरूले विदेशयात्राको आनन्द लिँदा हुन् । साथै नेता र अधिकारीहरू पनि जाँदा हुन् ।
अनि मिसेज रोबर्टले न्युुयोर्कमा मिसेज सिम्प्सनसित भन्दी हुन्, ‘देख्यौ, यसपालि मैले निकै राम्रो मिङ्क कोट किनेकी छु । तर तिमीले यो के लगाएकी छौ हँ ?’
अनि मिसेज सिम्प्सन पनि भन्दी हुन्, ‘फाइ अन दिज मिङ्क कोट्स् ! यी मिङ्क कोटलाई त धिक्कार छ ! मैले त गान्धीजीको बाख्राको कोट लगाएकी छु । यसको मूल्य पनि त मिङ्क कोटको भन्दा दोब्बर छ नि !’
मिसेज रा्ेबर्टले औंलो टोक्दी हुन् र भन्दी हुन्, ‘रिअल्ली ! गेंडी कोट । उनको बाख्राको छालाको कोट हो ? माई गड ! सच ए हली कोट । (यति पवित्र कोट ?) प्लिज, गेट मी वन बेन दी नेक्स्ट स्टक कम्स ( अर्को लट स्टक आयो भने मेरा लागि पनि एउटा किनिदिनू ल ! आई वान्ट ए हली कोट ।’
तर गान्धीभक्तहरूले त्यसैको नामबाट अन्य सानातिना व्यवसाय त गरे तर यस अन्तर्राष्ट्रिय व्यवसायलाई बिर्से । अझै पनि समय बितिसकेको छैन । मैले लगाएको खादीको ओभरकोटलाई नै धोइधाइ पारेर र रँगाइवरी भए पनि विदेशमा गान्धीजीको नाम पारेर बेच्न त सकिन्छ नि !
बनावटी र मिसावटी गर्नमा त हामी माहिर छँदै छौं । इन्डोनेसियाका सुकणर्जस्ता घोर अहङ्कारी राष्ट्रपतिले पनि आफ्नो आत्मकथामा हामीलाई निकै उच्च श्रेणीमा राखेका छन् । उनले लेखेका छन् , ‘साम्राज्यवादीले हाम्रो देश छोडेर जाँदा हाम्रो सबैथोक समाप्त पारेर गए । त्यसैले हामीले आफ्नो प्रत्येक मन्त्रीलाई आफ्नो विभागबाहेक पनि कुनै पनि वस्तुको तस्करीको काम जिम्मा लगायौं । जस्तो विदेश विभाग तथा खाद्य सामग्रीको तस्करी । यसमा इन्डियनहरूले हामीलाई निकै सहयोग पुर्याए किनभने इन्डियन जन्मैदेखि तस्कर हुन्छ । इन्डियन्स आर बान्र्ड स्मगलर्स ।’
त्यसो त पछि गएर सुकणर्सित हाम्रो सम्बन्ध बिग्रेको थियो तर उसले हाम्रो राष्ट्रिय प्रतिभाको निकैे प्रशंसा गरेको छ ?
जे होस्, म ठुलै व्यवसायका लागि योग्य त छैनँ । त्यति पैसा पनि छैन । मैले निकै ठुलो काम गरे एउटा ससानो पसल खोल्न सक्छु र यस्तो बोर्ड लगाउन सक्छु- ‘यहाँ गान्धीजीको बाख्राको परिवारका बाख्राहरूको शुद्ध, पवित्र, पतित पावन दुध पाइन्छ ।’
व्यवबाय चलि पो हाल्छ कि त ?
खादी भण्डारको यो ओभरकोट मैले पवित्र रामनामी बर्कोजस्तै ओढिरहन्छु ।
हिजै एकजना पुराना गान्धीवादी भटिए ।
पहिले एउटो प्रदेशका मन्त्री भएका थिए । फेरि दलबदलमा गलत निर्णय लिएका कारण मन्त्रीपद गयो । विधायक मात्र रहे । अब विधायक पनि रहेनन् किनभने टिकट अर्कैले झम्ट्यो । टिकटको मौसममा त गान्धीवादी बाज हुन्छ । झम्टा हान्यो र टिकट लग्यो ।
तर मोजमा छन् । एकदुईवटा संस्थाहरू खोलेका छन् । छोराहरूले पसल हेर्छन् । उनको र मेरो जम्काभेट भयो ।
उनले पनि खादीभण्डारको ओभरकोट लगाएका थिए ।
मलाई देखेर अडिए । हाम्रो सम्बन्ध ख्यालठट्टाको पनि छ । त्यसैले भने, ‘तिमी पनि खादीभण्डारमा आयौ ?’
मैले भनें, ‘हैन, केवल यो ओभरकोट लगाउँछु । तपाईंले पनि त्यही लगाउनुभएको छ । निकै तातो हुन्छ ।’
उनले भने, ‘गान्धीभण्डारको ओभरकोट तातो त भइहाल्छ नि ! यसमा राष्ट्रका लागि गरिएको बलिदान छ नि त ! यसमा कैयौं शहीदहरूको गर्मी छ ।’
मैले भनें, ‘त्यसैले त म पनि यो लगाउँछु नि किनभने मैले त राष्ट्रका लागि त्यस्तो गर्मी नै आउने गरी कुनै बलिदान गरेको छैनँ । त्यसैले यो ओभरकोट लगाउँछु । म यसलाई गान्धीको ओभरकोट भन्छु । यसमा अरूको बलिदानको गर्मी छ । मैले त्यसै गर्मीको चोरी गर्छु ।’
उनले भने, ‘ठिकै भन्यौ ।’
मैले भनें, ‘कुरो के भने नि, गान्धीजीका अरू त सबै कुराहरू समाप्त भए । यही एउटो ओभरकोट त बँचेको छ नि !’
उनले भने, ‘तर यस ओभरकोटका ठुलाठुला फाइदाबारे तिमीलाई थाहा छैन । यसले सबै कुरो छोपिदिन्छ । गान्धीवादको यस खोलले सबै ढाकिदिन्छ ।’
मैले सोधें, ‘तिमी त निकै पुराना गान्धीवादी हौ त खादी नै लगाउँछौ होला ? म भने खादीको ‘थ्योरी’लाई मान्दिनँ । त्यो एउटा समय थियो जुन बित्यो । तर तिमी त खाँटी गान्धीवादी हौ त पक्कै सबै लुगा खादीकै लगाउँछौ होला ।’
उनी हाँसे अनि भने, ‘अरे यार, भित्रभित्र त सबै देशी तथा विदेशी मिलकै लगाउँछु । बन्डी पनि फाइन कपडाको लगाउँछु, खादीको लगाउँदिनँ ।’
मैले सोधें, ‘भित्री कट्टु नि ?’
उनी हाँसे र भने, ‘ठट्टामा ओल्र्यौ हैन ? गान्धीजीले लगौंटी लगाउनुहुन्थ्यो । हामी राम्रो कपडाको सिलाएको लगौंटी लगाउँछौं ।’
मैले सोधें, ‘कुर्ता ?’
उनले टाँक फुकालेर देखाइदिए, निकै मूल्यवान् फाइन उनीको कुर्ता थियो ।
मैले भनें, ‘उसो भए यो खादीभण्डारको लबेदाजस्तो भद्दा ओभरकोट किन लगाउँछौ त ? राम्रो विदेशी उनीको कोट किन लगाउँदैनौ ?’
उनले भने, ‘अरे, तिमीले यसलाई गान्धीजीको ओभरकोट भनेका छौ नि ! हामी यसलाई यसभित्र सबै कुरा लुकाउनका लागि लगाउँछौं ।’
मैले भनें, ‘जसरी हाम्रो मैलको दुर्गन्ध छोपिन्छ त्यस्तै ?’
०००
‘परसाई रचनावली’ भाग २ को ‘गाँधीजी का ओवरकोट’ शीर्षकबाट नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest






































