साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वाभिमानको शिर

चेतनाका आगाले यसलाई पोल्दै जानेहरू शिखर सगरमाथा उभिन्छन् । बढाउँदै जानेहरू सकुञ्जेल अरूलाई खोँचमा पाहा पछारेझैं पछारेर त्यसकै आसनमा अट्टहास हाँस्छन्, नसकेपछि कसैले थाहा नै नपाई सकिन्छन्

Nepal Telecom ad

कलानिधि दाहाल :

हिमालमध्येको पनि सगरमाथा अगम्य अनुहार देखेर म आश्चर्यले टोलाउँछु । काल्पनिक स्वर्गको आनन्द सम्झेर एकैछिन किन नहोस् म हर्षको मात्रा ज्यादाले लोलाउँछु । पग्लेको हिमनदीको चिसोमा पौडनुको रहर एकछिन भए पनि ममा आयुको वृद्घि गरेको छ र यमपाइलालाई अलिकति पछि धकेलेको छ । अग्लनुको मजाले अर्को हिम्मत थप्छ, म ऊर्जाको उन्नत संसारमा आफूलाई अवतरित गराउँदै त्यो झुण्डिएको घनाच्छादित गोकणर्को हरित काननभित्रको निर्दोष रुखलाई सम्झन्छु जहाँ एउटा स्वाभिमानको छात्ती सुतेको थियो चीर निद्रामा र झट्ट स्म्झना आउँछ आफ्नै मुड्कीले सिसा फोरेर कालकोठरीभित्र रगताम्य अर्को चेहरा ।

जिन्दगी एउटा अभियान हो, यात्रा हो । अपेक्षित वा अनपेक्षित, बाञ्छित वा अबाञ्छित निणर्यका अगम्य धारमा पाइला टुक्टुकाएपछि अग्लनु र पग्लनुको सीमा आफ्नै हुन्छ । खुम्चनु र फैलनुको व्यापकता आफ्नै हुन्छ । खुम्चे पनि आफ्नै स्वीकारोक्ति, फैलिए पनि आफ्नै उफ्राइको मजा त्यहाँ न समाज बाधक बन्छ, न समय, न परिवार बाधक बन्छ न आगमन र प्रत्यागमनका पट्यारिला गौँडाहरू । उसले रोजेको बाटो हो, निर्णय मुछिएको यात्रा । खण्डहर रोक्न सक्छ, मरुभूमि हरित बनाउन सक्छ । प्रमिथसले गरेको निणर्य कहाँ रोकियो जिउस दरबारमा ? कृष्णले निशाना दिएको सुदर्शनले कहाँ चुकायो र त्यो बिन्दु जहाँ चाहे आफ्नै वंश विनाश होस् चाहे आफन्तका तिघ्रा चर्चरी च्यातिउन् हरियो पहाडे काँव्रmा चिरा परेजस्तै । हिमाललाई हुरीको भयले कहिल्यै शिर निहुराउन बाध्य पार्छ र ?

एउटा भीमसेन मरेको थियो लज्जाबोधको कायर सिरक ओढेर । नङ्ग्याउनेसँग लाज हुदैन भने नङ्गिनेलाई केको लाज ? यस दुर्बल मनोविज्ञानको अज्ञात भूतले तर्सिएर हाम्रा थुप्रै धरोहर ढलेका छन् र यसको पर्दा च्यातेर निस्कनेहरू कम छन् तर धरोहर उभिएका छन् । बहादुर शाहले बेतिया रोजे खुँडा, तरवारमा पाइला टेक्न लज्जाबोधका शिकारी बनेनन् । सुकरातले हाँसीहाँसी हेम्लक पिए, लज्जाबोधको तरवार झिकेनन् ।

अस्पष्ट छ अन्धकार छ, अज्ञात छ, अन्जान छ, त्यो स्वाभिमानको शिर जो जयभुँडीमा हिमाल उठ्यो । दशावतारमा संसार विचरण गर्‍यो । गलबन्दीमा विभेदका विउ जरैदेखि उखेल्यो । इतिश्रीको सानो छेस्काले उसको मुटु प्वाल पर्ने कुरा कुनै पनि चेतन मनमस्तिष्कको कल्पनातीत सीमाभन्दा धेरै परको संसार हो । विश्व जगत्को पहिलो पुस्तक पढ्ने व्यक्तित्व, सतही जगतदेखि अन्तर मनोलोक चिराचिरामा अपरेशन गर्ने व्यक्ति हतप्रभ भएर आफ्नै विरुद्घ विनाशको हतियार उचाल्छ ? असम्भव ।

समाज यसै पनि खिचडीको स्वरूप हो । यहाँ न यथार्थ छ, न आदर्श, न सच्चाइ छन् स्वाभिमान । बाहिरी दुनियाँको रफ्तारमा आँखाका झिलिमिलीसँगै शारीरिक अङ्गका चाहनानुरूप यति पर पुगिसकेको हुन्छ उसलाई चाहेर पनि कोही कसैले त्यस यथार्थ वा आदर्शका छेउमा सजाएर समाल्न सक्तैन । यसलाई प्लेटिनमको टुक्राझैँ सँगै तर आफू आफै मात्र रहेर हेरिदिनुमा जुन आनन्द छ घुलमिल भएसँगै लैजान्छुको स्वप्न देख्नेहरू विचारमा अनन्त बाँच्दछन्, शरीर सायद रहनुको दृश्य जगत्बाट अलग रहन्छ कुनै पनि कारणले ।

प्रकृतिको अन्तर्लोक यति गहिरो छ, यति फराक छ, यति झिल्मिलाहटले भरिएको जसको छेउमात्र छुनेहरू विचलित नबनी रहन सक्दैनन् । प्रवेश नै नगर्नेको हालत सोलोडोलो समाज हो । जो खिचडी रूपमा मात्र छड्किरहन्छ । उसलाई न पाक्नुको अर्थ रहन्छ, न समय चिप्लाइको सरोकार । एकाधका अनन्त ज्ञानलेनले रहस्यीकृत प्रकृतिको सर्वाङ्गसँग लुकामारी खेलेको हुन्छ जसलाई कुनै पनि उतारचढावसँग, कुनै आरोह अवरोहसँग, कुनै पनि घटना दुर्घटनासँग साक्षीकृतको सम्बन्ध छ त्यसभित्रको घुलन र चलन विचलनको अर्थ रहन्न ।

निरन्तर, निर्वाध समयका प्रवाहसँग हवा चलोस् ठिकै छ । हुरी हुण्डरीले लेथ्नो बनावोस् ठिकै छ, न दिग्दारी, न चिन्ता, न पीडा न जलन । कसले कसलाई कुन सीमामा सजाउन सकेको छ र ? वसन्त वहारले कथित समाजमा स्थापित खुसी बर्साओस् तर ती रहस्यका पाना पानामा जीवन बुझाइका छाना निर्मित हुने व्यक्तिका लागि खुसी र पीडाको हर्ष वा विषादको आनन्द वा छट्पटीको कुनै पर्वाह रहन्न ।

एकतमास प्रकृतिका जादूगरी छटाभित्र कृत्रिम समाजका सतही चालचलन, सतही रीतिथिति, कथित धर्मका ढोङहरू, सान र मानका अहम्हरू दहमा उठेका फोकाझैँ त्यहीँ फुटेर तरङ्गमा तरङ्गित हुन्छन् सायद देवकोटा र रवीन्द्रनाथको अन्तर उचाइको चौडा रहस्य यसबाटै तरलीकृत भएको छ जसलाई न छोयो प्रशंसाले न चोट पुर्‍यायो घृणाले । यहाँनेर भैरवको गति चुक्यो या चुकाइयो थाहा छैन, चुक्ने सम्भव कम, चुकाइएको हुने निश्चित ।

हास्य काउकुतीसँग पनि रमाउँछ र आँसुसँग पनि व्यङ्गित, व्यञ्जित भएर जीवित रहन्छ सशरीर तर तर उनी व्यङ्गित/व्यञ्जित रहन सके भावका डुङ्गामा बहेर या कल्पनात्मक उडान अग्लिएर स्थूललाई समाल्न नसक्ने कुनै सन्दर्भ देखिन्नन्, समालिन नदिएको चाहिँ स्पष्ट छ ।

समाजको गतिभन्दा भिन्न जहाँ विसङ्गत अतीतको ख्याल रहन्छ, झल्झलाउँदो सामुन्ने आइरहेको नौलो वर्तमानले मोहनी लगाउँछ, सुदूर भविष्यसम्म रहन सक्ने स्थिर यात्राको भावनात्मक डोरो जहाँ सच्चा मान्छेको जीवन सञ्चरण हुन्छ, अनगिन्ती आगत र विगतहरू एकै ठाउँ एउटै सितनमा मुछिएर जीवन गाँसको ज्योति, जीवन आवासको सुन्दर छानो छाइन्छ, जीवन आङको न्यानो मखमली बगैँचामा सङ्गीतका बाँसुरी बज्छन् त्यस्तो व्यक्तिले आफ्नै जीवनतार टुटाउँछ ? विश्वास गर्न सकिन्न ।

घर चिहान हो, परिवार मारक इतिहास । यो आजले मात्र होइन प्राकऐतिहासिक सत्य हो, वर्तमानमा देखिने परिघटनाको जीवन्त तथ्य पनि । स्वार्थका धारहरू धेरै हुन्छन्, सत्ताका तीर सोझिने कुनै कारण यस मनोस्वाभिमानका वीरसँग देखिँदैनन् । हुन सक्छ आगोमा नपग्लने परको घिउ देखेर बिचमै बरफको बार घरकै फलानो तिलानोबाट भयो या हुन लगाइयो नत्र चेतनाको अन्त्य कायरतामा सम्भव छैन अपवाद बाहेक । लालसाको हतियार नै मानिसको जन्म र विकास हो । चेतनाका आगाले यसलाई पोल्दै जानेहरू शिखर सगरमाथा उभिन्छन् । बढाउँदै जानेहरू सकुञ्जेल अरूलाई खोँचमा पाहा पछारेझैं पछारेर त्यसकै आसनमा अट्टहास हाँस्छन्, नसकेपछि कसैले थाहा नै नपाई सकिन्छन् र खोजको आवश्यकताभन्दा यिनीहरू निकै टाढाको सुदूरमा विस्मृतिका गर्भभित्र रहन्छन् ।

कहिल्यै नदेखेको देख्नु, नगरेको गर्नु, नभोगेको भोग्नु, नसुनेको सुनाउनुभित्र हास्यको राज हुन्छ । जो हाँस्छ उसको फोहराले तत्कालमा विद्यमान रहेको र ठानिने विसङ्गत पक्ष साङ्केतिक हुन्छ । यो नै कठोर व्यङ्ग्यको हतियार हो । यसलाई सन्तुलित ढङ्गले कलात्मक उचाइ दिने अभियानमा उन्मुख रहनु नै महान्ता हो भने यसका सफलताका सम्पूणर् जुइनालाई आफ्नै अन्तरङ्गका नसा बनाएको स्वाभिमान आफ्नो घर आफै भत्कन/भत्काउन तत्पर रहन्न ।

रङ्गीन दुनियाँको रङ्गमञ्च नचाहने, देखासिखीभन्दा अलग आफ्नै पाखुरीको आर्जनमा खण्डहर प्रकृतिको काख नै किन नहोस्, शीत चुहँदै गरेको आकाशको छानो नै किन नहोस्, आफ्नै पसिनाको झोलमा श्रमको ढिँडो चोपेर कुकुल्ढुकको आवाजमा सिङ्गो प्रकृतिलाई आफ्नै मुटुको चालमा नचाउने स्वाभिमानसँग विश्वकै तानाशाहहरू हच्कन्छन् । घरभित्रकै वन वरिपरिका छोटे तानाशाहका स्वप्निल संसारमा यसै पनि अवरोध खडा हुन्छ नै । बिस्तारै उनीहरूले निकास खोज्दा विश्वासभित्र विष मिसिन सक्छ ।

टाउकामाथिको करेन्ट सतर्क सञ्चालनमा अँधेरोमा प्रकाश बन्छ, भोकमा चुह्लो बन्छ, शीतमा न्यानो बन्छ, संसार हाँक्ने ऊर्जाको अलिकति मात्र प्रयोगमा तलमाथि पर्नासाथ झड्का आफैतिर फर्कन्छ । जान होस् या अन्जान विनास संरचनामा परिवर्तन हुँदैन । अभावपछिको मूल्यबोधले प्रकृतिमा अर्थ राख्ला जीव विज्ञानमा सम्भव छैन । सायद स्वाभिमानको घाँटीमा पछाडिबाट झड्का हान्नेहरू नियतका यस्तै विचारहरू हुन् जसले अनजानमा भौतिकी संसारबाट विलय गराएपछिका पश्चात्ताप तड्पन्छन् । चेतनाका ऊर्जामा जिन्दगीका उछाल पस्किसकेका जीवनलाई शरीरको अनुहारभन्दा अक्षरको ऐन सुन्दर हुन्छ जसलाई कुनै प्रहारले तोड्न /मोड्न, फोड्न सक्दैन । त्यही अखण्ड / अभेद्य स्वाभिमानको सगरमाथा हो – भैरव अर्याल जसले छोटो वयमै दृश्यबाट अदृश्य हुनुपर्‍यो ।

व्यक्तिका समाजका अन्तर्मनोलोकलाई एउटा कुशल डाक्टरले अपरेसन थिएटरमा राखेर सफलतासाथ चिरफार गरेझैँ गर्न सक्नु नै सक्षमताको त्यो उचाइ हो जहाँ न छलकपट छ, न पाउनाका आशाहरू छन्, न गुमाउँदाका पीडा । चाकडी चाप्लुसीभन्दा पर, द्वेष ईष्र्याभन्दा अलग, घृृणा वैमनश्यताभन्दा फरक फराक फाँटमा एक्लै उन्मुक्त दौडनु मजा कुच्चिएका मनोलोक जहाँ अनगिन्ती स्वार्थका टपरी बिछिएका हुन्छन्, ईष्र्या र वैमनश्यताका धुँवा पुत्पुताएका हुन्छन् त्यो आनन्द कहाँ सम्भव छ ?

मनको उचाइ फित्ताले नापिन्न, यन्त्रशालामा देखिन्न । सुलभ वस्तुको चेकजाँचमा विज्ञान रमाएको छ एकतमास । रहस्यको जादूमा पौडेर तिलस्मी तारले कथित नै किन नहोस् समाजले ठानेका, कानुनले मानेका असलको धज्जी उडाउँदै सृष्टिको गर्तमा स्रष्टाको झिल्झिलाउँदो ज्योतिमय सत्यको उद्घाटन त्यही अन्तर्चेतका काबुमा रहन्छ जसमा कपटका कालो दाग प्राप्तिका आशामा मुस्कुराउन्न ।

अन्तर्खुलापनको प्रकृतिमय न्यायालयमा अन्धकारभित्र तेजिलो सूर्य धाप्किने शाश्वतका सानलाई ब्वाँसाका नजरले शिकार मात्र ठान्छन् । पेट अघाएर शरीरको शानमा जीवनको उच्च आसन देख्नेहरू कमलको सौन्दर्यबाट एकदमै टाढा रहन्छन् । त्यस्ताका लागि इन्द्रकमल रछानको फोहोर बन्छ, दुर्गन्ध उनीहरूका आँखाको आसन हो र करेसो इन्द्रको सानमा मुस्कुराउने स्वर्गीय सिंहासन । जादूको जङ्घारमा महासागर पारका लागि डुङ्गा फुकाउँदै गरेको यात्री उनीहरूका आँखामा झिङ्गा भएर भुन्भुनाउँछ, भुसुनोले झैँ टोक्छ किको आशङ्कामा भयको भूत उचालेर मुठी कस्छन् यिनीहरू ।

के थाहा त्यो महान् यात्राको साइतमा टीका लगाइरहेको यात्रीलाई ? ऊ आफ्नो अतीतदेखि आयातीत कल्पित ईश्वरांश बिर्सेर जीवित ईश्वर प्राप्तिमा पलपल छट्पटाएको हुन्छ । त्यहाँ न व्यक्ति आफू हुन्छ, न परिवार, न काला कानुनका स्वार्थी आँखा उचालेर न्याय तौलने तरबार हुन्छन्, न भौतिक सोखका सिँढी चढेर दरबार उक्लने सौखिनहरू । ब्रह्मबोधको अनन्त गहिराइ पौडँदाको निश्चल र निश्छल आनन्दको याद जति पौडनेलाई हुन्छ केही हदसम्म भए पनि उसले दिएका अक्षरबाट पूणर् रूपमा सम्भव छैन । यसकै ज्वलन्त उदाहरण हो स्वाभिमानको नायक भैरव अर्यालको अन्तर व्यक्तित्वको उचाइ ।

वस्तुमा जाने वा भावमा ? परामा जाने वा अपरामा ? लौकिकमा वा पार-लौकिकमा ? तथ्यमा जाने वा आभासमा ? जीवनलाई कुन मापदण्डको प्रयोगमा नाप्ने ? विदितमा वा अविदितमा ? यिनै प्रश्नका चक्करमा मानिस रुमलिएको छ – आदिमध्यान्त । दृश्य सत्य होइन भने अदृश्यको कुनै आभाससम्म हुन्न, त्यो कसरी सत्य ? घैंटो छचल्किन्छ आधा उसले ठान्छ उसको संवेदनाको अनुकुलतालाई सत्य । हिंसा अपराध हो तर हिंस्रकहरू त्यहीँ सत्य देख्दछन् । असल अर्को दुख्नु यसै पनि अपराध हो तर खराबहरू यसमै सत्यता आभासित अनुभव गर्दै प्रहारको बलियो हतियार उसैमाथि तेर्साउँछन् ।

यही द्वन्द्वको अँधेरो खाल्डोभित्र दुनियाँ घुमेको छ । वामपन्थीहरू यसैलाई सतहमा ल्याएर द्वन्द्वात्मक भौतिकवादको पासोमा जिन्दगीलाई लड्काइदिन्छन् । जहाँ पशुत्वको शिवाय अर्को आभाषित हुन सक्दैन खोज्दैन, खानु, लाउनु र बस्नुमा मात्र जीवन भए भिन्नता के -पशु र मानवका बिच ? सतही भौतिकताका बोक्रे छालामा त मानवभन्दा पशुहरू निकै माथि छन्, उत्कृष्ट छन् । यताको स्वाभिमान शरीरसँग हुन्छ, वास्तविक स्वाभिमानको साँचो खुलेकाहरूसँग भित्रकालाई मजबुत राख्नेसम्मको मात्र साइनो शरीरसँग जोडिएको हुन्छ, अन्यथा यसको महत्व रहन्न ।

आत्मचेतका उचाइ उक्लेकासँग देहचेत गौण रहन्छ । देहचेतले आत्मचेत र आत्मचेतले देहचेतलाई एकदमै अलग ठान्नु चाहिँ दुवैको मूर्खताको स्वीच अन भएको मान्नु पर्दछ । देहरक्षाको सामान्य सीमामा रहेर आत्मचेतको उद्यामवाटिका निर्माण गर्ने महान् अभियानमा यात्रारत स्वाभिमानको शिखर भैरवलाई आत्मतः अभिवादन त्यसमा पनि सेतो अभिवादनले स्वागत गर्दछु ।

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x