डा. माधवप्रसाद पोखरेलचूडामणि खनालको व्यङ्ग्य प्रविधि
प्रकाशित र प्रकाशोन्मुख गरी पाँच छ ओटा हास्यव्यङ्ग्यात्मक निबन्ध सङ्ग्रहका रचयिता नेपाली साहित्यका सिद्ध हस्त व्यङ्ग्यात्मक निबन्धकार चूडामणि खनालको व्यङ्ग्य गर्ने प्रविधिको चिनारी गर्न मेरा रोजाइमा परेको निबन्धहरूको सँगालो ‘पोखरा–ज’ का भाँडामा भएका पैँतिस ओटा निबन्धका सिता छामेर यहाँ व्यङ्ग्यकार खनालको प्रविधि पर्गेल्ने कोसिस गरिएको छ ।
सबै व्यङ्ग्यकारहरू झैँ चूडामणि खनाल पनि आप्mना निबन्धका लागि समसामयिक विषय वस्तु रोज्छन् । जुन मान्छे आप्mनो पेसा, पद, हैसियत अनुसार आचरण नगरेर बिब्ल्याँटो बाटो रोज्छ, त्यो नै उनका निबन्धको प्रिय पात्र हुन्छ । उनका पात्रहरू दिनहुँ छिन छिनमा सर्वत्र भेटिन्छन् । पाठकले म नै पनि खनालका निबन्धको पात्र कतै भई सकिन भनेर गम्नु पर्छ र होस गर्नु पर्छ ।
सबै व्यङ्ग्यमा झैँ चूडामणि खनालले लेखेका सबै निबन्धहरू सत्य घटनामा आधारित हुन्छन्, तर कथा बीज र सङ्कथनमा फरक हुन्छ । कुशल साहित्य सर्जकले वास्तविक घटनालाई सोझै नभनेर अनेक किसिमले कृत्रिम बनाउनु पर्छ । वास्तविक घटनालाई बङ्ग्याएर कृत्रिम बनाउने प्रविधिलाई नै कला भनिन्छ । सके सम्म थोरै शब्दमा सके सम्म धेरै कुरा भत्र सक्ने प्रविधिलाई लाक्षणिकता भत्रे चलन छ । कसैले प्रसङ्गै पिच्छे अर्कातिर छड्के हान्छन् । सङ्कथनको बेहोरा यस्तै हुन्छ ।
व्यङ्ग्य शब्द नेपाली साहित्यमा केही लत्पतिएको छ । संस्कृत समालोचनामा व्यङ्ग्य शब्दले अर्थमा व्यञ्जना शक्तिको प्रधानता जनाउँछ । हास्य शब्दसँग जोडिएर आउने व्यङ्ग्य शब्दबाट चाहिँ नेपाली साहित्यमा खालि छेड, पेच, सेप, घोच, खिसी, टिउरी मात्रै बुझिन्छ । हुन त छेडपेच र सेपघोचमा पनि व्यञ्जना वा ध्वनिको प्राधान्य हुन सक्छ, तर नेपाली साहित्यमा हास्य शब्दसँग जोडिएर आउने व्यङ्ग्य शब्दले सधैँ संस्कृत काव्य शास्त्रको व्यङ्ग्य अर्थात् व्यञ्जना वा ध्वनिको प्राधान्य चाहिँ जनाउँदैन । यस दृष्टिले हेर्दा चूडामणि खनालका केही सङ्कलित निबन्धहरू संस्कृत साहित्यमा भन्दा केही भित्र अर्थमा प्रयोग भएका देखिने छन् भने केही निबन्धहरू (जस्तै, ‘सहकालका देवताहरूको कथा’, ‘सागको सुकुटी’) ले चाहिँ व्यङ्ग्य शब्दका दुइटै अर्थ बोक्न सक्ने देखिन्छ ।
१. निबन्धहरूमा अनौठो शब्द साहचर्यबाट बोलचालको भाषामा विचलन ल्याएर हास्य रसको उत्पादन गरिएको छ । यो एउटा प्रविधि हो, जस्तैः भैँसीको साग, सागको सुकुटी, मेरो भैँसे चिन्तन, योगी नरहरि नाथको वैदिक साम्यवाद, आदि ।
२. ग्रामीण उपमानको प्रयोग हास्य रस उत्पादन गर्ने खनालको दोस्रो प्रविधि हो, जस्तैः दलिनका भरेठा ।
३. आदरार्थीको स्तरमा विचलन ल्याएर पनि खनाल हास्य रसको सिर्जना गर्छन् ।
४. हास्य रस उत्पादन गर्न कतै कतै केही मात्रामा श्लीलता अश्लीलताको मर्यादा भङ्ग पनि गरिएको पाइन्छ ।
५. आफूलाई मूर्खका रूपमा प्रस्तुत गरेर वर्णनीय पात्रलाई मूर्ख बनाउने अथवा खिल्ली उडाउने प्रविधि पनि खनालको हास्य रस उमार्ने एउटा व्यङ्ग्य प्रविधि हो ।
६. समसामयिक टेढो पन र खुम्चामा आइरन लगाउने काम, सिद्धान्त र व्यवहारका खोल्सामा सेपघोचको पुल, राजनीतिक प्रशासनिक सामाजिक र व्यक्तिगत छेडपेच, नाटकीयता (आमाको टिकी) पनि खनालका निबन्धका विशेषता भित्र पर्छन् ।
७. खनालको शीर्षक रखाइ पनि केही निबन्धहरूमा हास्य रस उमार्न कारक भएको पाइन्छ, जस्तैः ‘सागको सुकुटी’, ‘भैँसीको साग’, ‘उठ्बसबसउठ्’, ‘घोचे सोझो’, ‘ठुलाघरे नानी र ठुलो मान्छे म’, ‘मेरो भैँसे चिन्तन’, ‘लाज ढाक्ने लगौँटाहरू’, ‘खुल्यो–खुल्यो–खुल्यो : नयाँ स्कुल खुल्यो’, ‘प्रजातन्त्रै प्रजातन्त्र’, ‘बल्ल मैले विद्वानहरूलाई चिनेँ’, ‘धरहरा अग्लो हुनाको रहस्य’, ‘तपाईँले भूमिका लेखाउनु भयो ?’, ‘जगदम्बा भित्ते पात्रो र म’, ‘के हो तार्किक निष्कर्ष र सहमतिको कुरो ?’, आदि ।
८. खनालले आइरन लगाउनु पर्ने ठहराएका विषय वस्तु र आलोच्य विषय सबै निम्नानुसार समसामयिक र सान्दर्भिक छन्, जस्तै :
क. समसामयिक सामाजिक पात्रको असामाजिक आचरण
ख. सिद्धान्त र व्यवहारको खोल्सामा पुल
ग. देखाउने र चपाउने दाँत मध्ये देखाउने दाँत भाँची दिने प्रयत्न
घ. बोक्रे देखावटीको आलोचना, आदर्श चरित्रको उपहास र अपमानको प्रस्तुति
ङ. भ्रष्ट र चरित्रहीनको व्याजस्तुति
च. सित्तैँमा भूमिका लेख्ने, प्रमुख अतिथि हुने, टिप्पणी गरी दिने, समालोचना गरी दिने, लेख लेखी दिनेको मर्म र व्यावहारिकतामा सहानुभूतिको अभाव, लेख अशुद्ध छापी दिने र काटी दिने सम्पादक, कुरा फेरी दिने, लेख छाप्न खुरन्दार गर्ने तर छापिए पछि पुरयाउन नजाने सम्पादक, आदि अनेक विषयहरू (मैले दधीचि बन्ने सोच लिएको छु)
छ. गाउँबाट गुन्द्रुक, कुराउनी र घिउको कोसेली ल्याउने बाबुसित साइनो लगाउन लाज मात्रे काठमाडौँका छोराछोरीको देखाउटी र काठमाडौँको सुकुल गुन्डो पन, काठमाडौँको महँगी र फोहोरको उपहास (सागको सुकुटी)
ज. छिमेकीको आलोचनात्मक साइनो (छिमेकी)
झ. केही वैष्णव सम्प्रदायमा तरकारीलाई साग भत्रु पर्ने कुराको खिसी (भैँसीको साग)
ञ. संस्कृत भाषामा श्लोक पढेको मात्रै अथवा हिन्दी भाषामा आरती गरेको मात्रै देउताले बुझ्ने, नेपाली भाषा चलाएको नबुझ्ने जस्तो कुराको विरोधाभास (‘देवताहरूले पनि नेपाली भाषा बुझ्न थालेछन्’ : भैँसीको साग)
ट. राजनीतिक परिवर्तनसँगै आफ्नो परिचय फेर्ने चरित्रको आलोचना (के बदल्ने खोइ !)
ठ. लाक्षणिकता र आफ्नै घरमा आफैँ प्रमुख अतिथि हुने प्रवृत्तको खोइरो (‘प्वाल खोज्ने कलामा म प्रवीण नै छु’ : उठबस–बसउठ)
ड. विदेशी रोजगारमा नेपाली युवाहरू लाग्न जानु पर्ने बाध्यता र लाज पचाएर सरकार उनीहरूको कमाइबाट आएको रिमिट्यान्सले देशको आर्थिक अवस्था नबिग्रेको हिसाब एकातिर राख्छ भने अर्कातिर जसलाई रोजगार दिनु पर्ने कर्तव्यबाट सरकार, त्यसका मन्त्री र हाकिमहरू असफल भएको प्रमाण दिई रहेका छन्, तिनै नकच्चराहरूलाई तलब, भत्ता र सुविधा दिने शक्ति चाहिँ त्यही रिमिट्यान्सबाट आई रहेको छ । आफूले पाल्न नसकेर विदेशिन बाध्य भएकाहरूबाट सरकार, नेता र हाकिमहरू आफैँ पालिई रहेका छन् भन्ने स्थिति (आर्थिक मेरुदण्डको आधार : रेमिट्यान्स, महोत्सव र महायज्ञको कारोबार)
ढ. तनहुँका राजामामा भत्रे कुसुन्डाको बिम्ब बनाएर त्यसै सेरोफेरोमा छेड, पेच, सेप, घोच, खिसी, टिउरी (हाम्रा राजामामा)
ण. नेपालमा ठगीको वर्तमान सर्वव्यापकताको चिरफार (घोचे सोझो)
त. राजमार्गका छेउछाउका होटलवाला र गाडी व्यवसायीहरूले गाडीका यात्रीहरूलाई गरेको ठगी, लुट र अन्यायको अराजकता (‘हाइवे’ हरूका खान्की र गाइडहरूको बान्की)
थ. ठुलाबडाहरूको पाखण्डी र देखावटीका भरमा टिकेको खोक्रे दैनिकी, कलर आइडी हेरेर टेलिफोन उठाउने कि नउठाउने अथवा के जवाफ दिएर ढाँट्ने भत्रे स्वाङमा प्रहार (ठुला घरे नानी र ठुलो मान्छे म)
द. लेखक र विद्वानहरूलाई पारिश्रमिक दिनु पर्ने कुरामा नेपालीहरूको अव्यावहारिकता (लेखनाथ पौडेललाई सम्झिँदा सम्झिँदै)
ध. सहिदका नाउँमा भएको वर्तमान राजनीतिक नेपालको अपमानजनक आचरणको आलोचना (शहीदहरू)
न. उपराष्ट्रपतिको शपथलाई विषय वस्तु बनाएर भैँसीको माहात्म्य (मेरो भैँसे चिन्तन)
प. भानुभक्तको व्यङ्ग्य माथि व्यङ्ग्य (व्यङ्ग्य गुरु : भानुभक्त आचार्य र म)
फ. आफ्नो विशेषज्ञताले समस्या ठम्याउन नसके पछि कुनै ठुलो प्राविधिक कुराको बिङ्गाले आफ्नो लाज ढाक्ने बहाना गर्ने पात्र (लाज ढाक्ने लगौँटाहरू)
ब. शब्दको खेल (कुरोको कुरो)
भ. वर्तमान नेपालमा आएको राजनीतिक समानुपातिकताको उपहास (समानुपातिक घर)
म. निजी विद्यालयहरूको पाखण्ड (खुल्यो ! खुल्यो !! खुल्यो !!! – नयाँ स्कुल खुल्यो)
य. प्रजातन्त्रका नाममा भएको भाँड भैलाको उपहास (प्रजातन्त्रै प्रजातन्त्र)
र. तथाकथित विद्वानको पाखण्डी चरित्रको खिसी (बल्ल मैले विद्वानहरूलाई चिनेँ)
ल. धरहरा वरिपरिको फोहोर (धरहरा अग्लो हुनाको रहस्य)
व. आत्मकथाका बहानामा निबन्धको बुनोट (आत्मकथा लेख्न बस्दा)
श. मोबाइल फोनका बहानामा भएका समस्या र अनुशासनहीनता (मेरो मोबाइलको चर्चा)
ष. जनवादी बिहे, परम्परागत संस्कृतिको नौलो पन र व्यभिचार (जनवादी बिहे)
स. भूमिका लेखाउनेका अव्यावहारिकता र अप्ठ्यारा (तपाईँले पनि भूमिका लेखाउनु भयो?)
ह. भारतीय खुल्ला सिमानाबाट नेपालीलाई परेको नकारात्मक प्रभाव (भाइलाई चिठी)
क्ष. नेताको खिसी (लिलिपुटे मानवको गिनिजबुके दौड)
त्र. नेताको भनाइमा एकता गराइमा अनेकता (केही तार्किक निष्कर्ष र सहमतिको कुरो)
ज्ञ. (म हाकिम हुँदा) : काम चोर, बेइमान र भ्रष्टको पदोत्रति; काम गरी रहने कर्मचारी गधा; अस्थायी र ज्यालादारीमा काम गर्नेले अड्डा थाम्ने, पुरानो कर्मचारीले हप्ता भरको सही एकै दिन गर्ने; सरकारी अड्डामा बेइमानीको पराकाष्ठा
९. खनालका प्राय जसो निबन्धहरूमा व्यङ्ग्यका लागि आरम्भमा एउटा आख्यानात्मक आमुख हुन्छ, जस्तै :
क. काठमाडौँको बल्खुमा वाग्मती, विष्णुमती र बल्खुको त्रिवेणीमा स्नान गरी रहेका गाउँका बुढासितको भेटको नाटकीय परिस्थितिको सृष्टि (सागको सुकुटी)
ख. बाबुको उपदेश वाक्य वा आप्त वाक्यबाट (बाबु : छिमेकी, श्रीमती : भैँसीको साग)
नमुनाका लागि सह कालका देवताको कथा भन्ने निबन्ध खनालको एकदम राम्रो निबन्ध हो । यहाँ प्रस्तुतिको विधा र शैली ज्योतिष र शकुनौतीको विश्वास जस्तो पारेर तयार गरिएको छ । यहाँ सरकारी खर्चमा विदेश जाने नेतालाई कैँची मारिएको छ; अरब मजदुरका समस्या उठाइएको छ; वर्तमान नेपालको पैसा मात्र चाहिने नैतिकतामा छेड हानिएको छ । यहाँ घरै पिच्छे खुलेका ब्याङ्क, मन्दिरमा सुकुम्बासी भर्ने राजनीति; देशै भर भएको चर्च र मदरसाको विस्तार; धर्मका नाममा अनपेक्षित सहयोग; नागरिकता वितरणमा मनपरी; जति जात त्यति राज्य हुनु पर्ने व्यङ्ग्यात्मक प्रस्ताव; राष्ट्रिय झन्डा फेर्ने प्रस्ताव आदिको व्यङ्ग्य गर्दै; भौतिक नेपाल अदृश्य आध्यात्मिक हुने भयो भत्रे व्यङ्ग्य गरिएको छ ।
यसरी हास्य रस र व्यङ्ग्यको सिर्जना गर्न चूडामणि खनाल सिद्धहस्त छन् । यी विशेषता अरू व्यङ्ग्यकारका शैलीसित कति मात्रामा मिल्छन् वा मिल्दैनन्, खनालका व्यङ्ग्यात्मक निबन्धको अनुसन्धानको एउटा पक्ष यस्तो देखिन्छ भने, अर्को टड्कारो र महत्त्व पूर्ण अनुसन्धानको पक्ष चाहिँ नेपाली व्यङ्ग्यकारहरूका सापेक्षतामा माथि उल्लेख गरिएका प्रविधि मध्ये कुन कुन चाहिँ चूडामणि खनालकै एकलौटी र उनकै परिचायक हुन् भत्रे खोज्नु सान्दर्भिक देखिन्छ ।
सानेपा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































