साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ४२७ औँ शृङ्खला

“म्याक्समुलरले वेदलाई अङ्ग्रेजीमा अनुवाद गरेपछि संसारले पूर्वीय दर्शनका बारेमा गहन अध्ययन गरेको पाइन्छ ।” विष्णु प्रभातको कथन थियो ।

Nepal Telecom ad

साहित्य सन्ध्याको विगत दुई वर्षदेखि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्न नसकिएको नियमित मासिक गोष्ठीको ४२७ औँ शृङ्खला वैशाख ३ गते शनिबार राजधानीमा सम्पन्न भयो ।

रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा शुभकामना विशेष गोष्ठीसहित ‘नेपालको मौलिक दर्शन’ विषयमा परिचर्चाको आयोजना गरी सम्पन्न भएको हो । विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा दार्शनिक चिन्तक प्राज्ञ विष्णु प्रभात उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रूपमा डा.नारायण चौलागाईँ, रामबहादुर पहाडी, गोपालकुमार मैनाली, प्रगतिशील लेखक सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष ज्ञानु विद्रोही, सीताराम पद्मकुमारी फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।

साहित्य सन्ध्याकी सदस्य देबु लुइटेलको सञ्चालनमा सम्पन्न गोष्ठीमा प्रमुख अतिथि प्राज्ञ विष्णु प्रभातले ‘नेपालको मौलिक दर्शन’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२७ औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन भएको साहित्य सन्ध्या यथार्थमा अविरल बगिरहेको नदी हो भन्नु भयो ।

प्रभातले दार्शनिकसन्दर्भ चर्चा गर्दै ठुला रुखमा पितृ बस्ने ठानेर पिपलआदिको पूजा गर्ने, ठुला ओडारको पूजा गर्ने यो प्रकृतिपूजक दर्शनलाई इशापूर्व दश हजारदेखि सात हजार वर्ष पहिलेको अर्थात् ऋग्वेदभन्दा पहिलेको दर्शन मानिएको बताउनु भयो ।

“प्रारम्भदेखि अहिलेसम्मको शाश्वत सत्य भनेको पदार्थ हो, अर्थात् प्रकृति हो । धर्म, ईश्वर भन्ने अनुमान मात्र हो, यथार्थ होइन । शंकराचार्यले सरकारी शैन्यबल समेतका आधारमा अद्वैत वेदान्तको स्थापना गरे । यज्ञवल्कले यजुर्वेद लेखे र त्यसमा उनले शरीर र आत्मावादी चिन्तन अघि सारेका छन् । ब्रह्म सर्वोपरि छ भन्ने उनको भनाइमा गार्गीले अविश्वास गर्दा यज्ञवल्कले धम्क्याएको चर्चा पाइन्छ । सुरुमा पृथ्वी, जल, वायु र अग्नि गरी चार तत्त्वको चर्चा रहेको पाइन्छ । प्रकृति, जीवन, सदाचारका पक्षमा वकालत गर्ने प्रकृतिपूजक चिन्तन वा बोन दर्शन हो ।” प्रभातको कथन थियो ।

शाक्त दर्शन नारीहरूबाटै प्रतिपादित दर्शन भएको बताउँदै प्रभातले “ शैवपछि ब्रह्म दर्शन आयो । नेपाल तथा भारतबाट उत्पत्ति भएर फैलिएको द्वैतवादी चिन्तनलाई पछि शङ्कराचार्यले ऋग्वेदको प्राकृतिक भौतिकवाद छाडेर अद्वैतवादी वेदान्त स्थापित गराए । वेदान्त दर्शन नै हिन्दु दर्शन हो भन्नथालिएको” बताउनुभयो ।

शाङ्ख्य दर्शनसम्म आइपुग्दा चौबिस तत्त्वको चर्चा गरिएको बताउँदै “प्रकृतिवादी, अनात्मवादी, अनिश्वरवादी अवधारणाले गौतम बुद्धलाई प्रभावित पारेको उल्लेख गर्नुभयो । बुद्ध दर्शन संसारकै पहिलो मानवतावादी दर्शन मानिन्छ र बुद्धले मनुष्यको मात्र होइन अरू जीव तथा वनस्पतिको पनि नाश गर्न पाइँदैन भनेका छन् । उनले सम्यक अष्टमार्गको चर्चा गरेका छन् । ‘प्रयोग गर, सिद्ध गर अनि मात्र मान’ भन्ने बुद्धको भनाइ वैज्ञानिक छ । पूर्वीय दर्शनमा सङ्घातको सिद्धान्त रहेको छ जुन पश्चिमा विद्वानले प्रयोग गरेभन्दा निकै धेरै पुरानो मानिन्छ । यसैका आधारमा कार्लमाक्र्सले द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रतिपादन गरेका हुन् भन्न सकिन्छ । “म्याक्समुलरले वेदलाई अङ्ग्रेजीमा अनुवाद गरेपछि संसारले पूर्वीय दर्शनका बारेमा गहन अध्ययन गरेको पाइन्छ ।” विष्णु प्रभातको कथन थियो ।

गोष्ठीमा ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, कात्यायन, रामकुमार पण्डित क्षेत्री, विन्दु ढकाल, कुमार नेपाल, डा.नारायण चौलागाईँ, लीलाराज दाहाल, भावना न्यौपाने, सङ्गीता ढुङ्गाना दाहाल, ज्ञानु विद्रोही, रामबहादुर पहाडी, प्रशान्त खरेलले आआफ्ना कविता, मुक्तक, गजल वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि गोपालकुमार मैनालीले टिप्पणी गर्नुहुँदै वाचित सबै रचनाले देशको अवस्था, नेपाली विकृत राजनीतिक अवस्थाका प्रति दर्बिलो झापड हानेको बताउनु भयो । “साहित्य सन्ध्या स्रष्टा र सिर्जना उत्पादन गर्ने कार्यशाला हो । स्रष्टा समुन्नत चेतनाको धनी हुन्छ, प्रकृति चेतना अब्बल हुन्छ र उसको सिर्जनाले सामाजिक बेथितिलाई उजागर गर्दै रूपान्तरणको सन्देश वा ध्वन्यार्थ सम्प्रेषण गर्नसक्नुपर्दछ र त्यो काम आजका सिर्जनाले गरेका छन् ।” मैनालीले भन्नु भयो

गोष्ठीका अध्यक्ष राम विनयले सहभागी सबैमा हार्दिक आभार व्यक्त गर्दै भूपि शेरचनको नव वर्ष शीर्षकको कविता वाचन गर्नुभएको थियो । आजको यो विशेष समारोहमा ‘नेपालको मौलिक दर्शन’ विषयमा अत्यन्त गहन परिचर्चा भएको उल्लेख गर्दै सन्ध्याको अभियानमा निरन्तर जोडिइरहन सबैप्रति हार्दिक आग्रह गर्नुभएको थियो ।

– रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x