कविराज घिमिरेबुढ्यौली काव्य (शृङ्खला-९)
ए आमा भन सभ्य औरस त्यही छोरो अवश्यै त हो उस्कै लागि भनेर खोज गरियो माया बढाकै न हो छोरीले पनि गर्नुपर्दछ यसै होलिन् बुहारी तिनी तिन्को हालत सम्झ यो हुन गए बित्ला कहाँ जीवनी ॥

कविराज घिमिरे :
वृद्धा स्त्री कतिले अचम्मसँगले खोजेर हिँड्छन् निहुँ
उल्टामात्र कुरा गरेर घरमा सुक्तै छ उल्टै जिउ
सासूले त अझै बुहार्तन दिँदा रुन्छन् बुहारीहरू
भन्थे सत्य बुझेर मङ्गल हुने बोल्छन् जनानीहरू ॥६९
बेग्लै हुन्छ विचार भिन्न तिनको आफ्नैपना देखिने
मेरो सान र मान ढल्न नहुने भन्दै अझै उफ्रिने
ल्याएकी सँग डग्न हुन्न घर यो मेरो निजा हो भनी
भुत्ल्याई कतिका कपाल सकलै सासू बने अक्षमी ॥७०
तर्दै नेत्र सताउने कपटले खानेकुरामा पनि
गर्छन् डाह हरे ! विचित्रसँगले सासू बनेका अनि
छोरी हो अब दिन्छु मान यसरी राख्तै मिठो प्रेरणा
भन्ने साहस गर्नुपर्दछ र पो बन्ला उचो धारणा ॥७१
ए आमा भन सभ्य औरस त्यही छोरो अवश्यै त हो
उस्कै लागि भनेर खोज गरियो माया बढाकै न हो
छोरीले पनि गर्नुपर्दछ यसै होलिन् बुहारी तिनी
तिन्को हालत सम्झ यो हुन गए बित्ला कहाँ जीवनी ॥७२
आमा बन्न त्यसै छ मुस्किल यिनी खान्छिन् सधैँ ठक्कर
भन्दैमा दिनु हुन्न सन्ततिसँगै नानाथरी चक्कर
गर्नै छोड सताउने कदम ती काँढा भनी सम्झिनू
तिम्रो जीवन घात बन्छ यसले साँचो कुरा हो लिनू ॥७३
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































