साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेमा पेटका अलमलिने समस्या !

हामी बाँच्नका लागि खाना खाने हो, खानकोलागि बाँच्ने होइन भने पाको उमेरमा आकर्षक खानेकुरा देख्यो कि वा पायो कि वा भोकले मुख थाम्नै नसक्ने हिरिक्क लोभी भई नफाप्ने खानेकुरा खानुहुन्न ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

Dr Mukesh Kumar Chalishe

उमेरिदै जाँदा अरु जीवजस्तै मान्छे पाको बन्छ, बिचार, ज्ञान तथा अनुभव पनि दृढ र बलियो भएको पाइन्छ । धेरै पाका मानिसमा सबै कुरा सकारात्मक र परिपक्व भएकालेनै ‘कुरा सुन्नु बुढाबुढीको वा पाका मान्छेको’ भन्ने भनाई चर्चित भएको हो । पाका मान्छेले बैँशमाझैँ जे पायो त्यहि खाने, जता पायो उतै लडने, करगरे कसैको मनराख्न भनि खाने, अरुले मज्जाले खाएका छन् भनेर मौका पाउँदा आँखा छलेर पनि हसुर्ने गर्नुहुन्न । मानसिक चिन्तनले बलिष्ट पाको ज्यान भने जन्मदै क्रियाशील अङ्गहरूको निरन्तर सकृयता र पछि बृद्धि हुने अङ्ग तथा जैविक कृयाले ल्याउने धामाको पेलाईमा परेर कमजोर भएको हुनसक्छ । कमजोर भएको ज्यानमा समस्या आउनु स्वभाविकै हो भने विभिन्न रोग पनि मौका पर्खेर ढुकेझैँ यसै अवस्थामा सत्र पार्न खोज्छन् । पाको ज्यानमा सामान्य तलमाथिले पनि अरुतिर नदेखाए पनि पाचन क्रियाको गडबडीदेखि लिएर तपाइँको क्षणिक सन्काईलाई केही दिन सुताइदिने जोरलात्ती हान्न सक्छ ।

अलमल्याउने बिसञ्चो :
हार्वाड मेडिकल स्कूलको संवेदनशील पेट भन्ने रिपोर्ट अनुसार, खास जटिल कारण नदेखिए पनि खानेकुराको सामान्य फेरबदलले तपाइँलाई सञ्चो नहुने र फुर्ति नआउने हुनसक्छ । पेटले ठुसठुसाउने, गड्याङगुडुङ हुने, भित्री वायु कोखा, छाती र नाइटो वरपर मडारिएर दुख्ने हुनसक्छ । कतिपय बेलामा पेट फुलेर जलघडा भएझैँ डमडमती हुनजान्छ भने भोक नलाग्ने, जीउ लल्याकलुलुक हुने, घरी दिसा हुन खोजेझैँ र घरी अमिलो पानी हुलुक्क आउने हुन जान्छ । पेट र छाती पोलेर मुटुको व्यथा लाग्यो कि वा अल्सर भयो कि भन्ने औडाहले मन ओइलाएर आत्तिन थालिन्छ । पाका मान्छेलाई यस्ता असामान्य अवस्थाको सुरुवात मन नपर्ने खाना खाँदा वा अरुले मज्जाले खाएको भनि आफूलाई नफाप्ने खाना कोच्न खोज्दा तत्कालै वा खाएको आधा घण्टा जतीमा विसञ्चो हुनथाल्छ । पाचन प्रणाली सामान्य रहँदा त्यसको क्रियाकलापबारे ध्यान कसैको हुँदैन तर असजिलो हुन थालेपछि दिनचर्यानै गडबडिन सक्छ । कतिको त हिँडाई, उठबस र बोलाईमा भिन्नता देखापर्छ भने स्वभाव पनि बदलिएर झर्कोफर्को गर्नथाल्ने हुन्छ । धेरैबेर दुख पाएर हगौँमुतौँको स्थिति भएमा फेर्नखोजे पनि पिसाब रोकिने भई डाह अरु बढने हुनसक्छ । यसरी सामान्यबाट जटिलउन्मुख हुन पाका मान्छेलाई आईतबार कुरिरहनु पर्दैन ।

गर्मी, वर्षात र जाडोमा आद्रता र चिसो बाहिरी वातावरणमा खानेकुराकै बेमेलले पाचन प्रणालीको बिपरित प्रतिक्रिया उत्पन्न भएको कारणले घाँटी, पेट, आन्द्राको क्षमताबाहिर गएकाले अन्यौलका लक्षणहरू एकैपल्ट देखापरेका हुन्छन् । फलस्वरुप पाचन प्रणालीले बिपरीत काम गर्न थाल्छ, पेट हुँडल्ने, बटारीने हुन्छ, अमिलो पानी आउन सक्छ, कब्जीयतले गाँठा परेर पेटआन्द्रामा कतै हावा भरिने कतै सार्‍हो भई दुख्ने हुनसक्छ । अपच भएर पेट गडबड भएमा थप खाना खाएको एकैछिनमा पेट लाग्ने, अपच दिसा हुने, बायु गईरहने, वायु छोडदा र पिसाबगर्न जाँदा दिसा चुहिने हुनसक्छ । धेरैबेर त्यसो भएमा हातगोडाका माँसपेशी फर्किने, बाउँडिने, कैँडालागेझैँ हुने र हाडजोर्नी दुख्न पनि सक्छ । ‘जाबो त्यति खाएको ! पेटको अग्नीनै कमजोर रहेछ कि क्याहो ? यस्तो हजम नहोला भनि सोचेकै थिएन, के भयो के भयो ?’ भनि अत्तालिँदा डाह, चिन्ता र हडबडाहटले छटपटी भएर चिटचिट पसिना आउन सक्छ र बिरामी झन अत्तालिएर परिवारनै सकसमा पर्नुपर्ने हुन्छ ।

उपचार :
पाको मान्छेको ज्यानले अलिअली थाम्नसके घरेलु उपचार, हिङ्ग, बेसार, अदुवा, जिम्बु र नुनपानीले पनि केही सुबिस्ता होला । कतिपयलाई अमिलीएको दहिमा बेसार झानेर केही नरम बस्तुसँग खाएमा पनि व्यथा समन हुनसक्छ भने कसैलाई खानामा सूद्ध घिऊ झानेर खाँदा पनि चिसोले भएको झञ्झट टर्छ । त्यस्तै, पेट वरपर सञ्चोको तेल दल्ने, चिनियाँ बामले नाईटोमा कुचकुच पार्ने, तातो इँट र तातो पानीको थैलोले पेट र मलद्वारतिर सेक्दा पनि आराम मिल्नसक्छ । दिसा-पखाला, अपच, ढ्याउढ्याउ रहेमा र बिरामी बिस्तारै अस्तअस्त हुँदैगएमा चिकित्सकको सल्लाहमा अम्लपित्तको लक्षण भएमा अम्लीयबिरोधि ओखती सुरु गर्न थाल्नुपर्छ । उस्तै परेमा खाएको औषधिको असर ढिला भई बिरामीलाई अप्ठ्यारो पर्ने देखेमा चिकित्सकले नसाबाट पनि मिल्ने झोल ओखती हालीदिन सक्छन् । अपाच्य खानाको प्रवेशले भएको ठहर भएमा त्यसलाई तह लगाउने र पचाउन बल गर्ने उपायहरू अघि बढाउनुपर्छ । पचाउन मद्दत गर्ने ओखती र शरीरमा नुनचिनीको मात्रा नघटने गरी मनतातो पानीमा बनाईएको जीवनजल सेवन गर्न सकिन्छ । यस उमेरमा उपचारको जिम्मा लगाउने त बिज्ञ चिकित्सकलाईनै हो है ।

पाको उमेरमा देखिएका सामान्य रोगव्याध उमेरिएका कारणले असाध्य हुनजान्छन्, त्यसैले विभिन्न उपाय गरेर अनमोल जीवन त बचाउनै पर्‍यो नि ! ‘पिण्ड खानेबेला केको खर्च ?’ भनेर समाजका सबैभन्दा पाका, अनुभवी र आदरणीय पुस्तालाई हेरीछाड्नु हुन्न बरु बढता चनाखो भई हेरबिचार पुर्‍याउन परिवार र समाजनै अघि बढनु पर्छ । पाका पुस्ताको ज्ञान र सिपलाई राम्ररी दोस्रो पुस्तामा धेरैभन्दा धेरै हस्तान्तरण गर्न पनि पर्ने भएकाले समाजमा पाका पुस्ताको महत्व अतिनै छ । नबुझेर हेलाँहोचो र बेवास्ता गरे अरु पुस्तालाई घाटानै लाग्ने कुरा अरुले बुझ्नै पर्छ र पाकाले पनि सम्झाउनै पर्छ । त्यसैले पाका मान्छेका अल्मल्याउने पाचन प्रणाली सम्बन्धी समस्यामा निम्न उपाय क्रमबद्ध गर्न घरपरिवारका वयस्क लाग्नै पर्दछ ।

ठिक्क खानपान :
पाका मान्छे आफैँ सतर्क भएर जतिसुकै मिठो र भोकले छटपटिए पनि आफूलाई अफाप हुने खानेकुरा खान कहिल्यै लोभिनु हुनुहुँदैन । ‘अर्काको मन राख्न र यसो कस्तो रहेछ, चाखेको मात्र’ भनेर खानपानमा लुब्धहुने उमेर पाका मान्छेको सकिएको बेलैमा गम्भीरतापूर्वक मनन गरौँ । एकपटक उस्तै खानपानले असर पारेर थलापरेको सम्झिएर गल्ती दोहोर्‍याउने काम नगरौँ, सानो गल्तीले फेरि नउठ्ने गरी थलापार्न सक्छ । यस उमेरमा सामान्य अरु उमेरकाले पचाइरहेका कफीका रसायन, गुलिया चकलेट, मादकपदार्थ, जाँडरक्सी, अति तेल घ्युभएका चिजविज, मसलाको ओइरो भएका तरकारी र अति अमिला फलफूलबाट टाढै रहनु राम्रो हुन्छ । ‘बैँसमा दुईटा निबुवा नुनखार्सानीसँग चिरिप्पै खान्थेँ’ भनेर जाडो महिनामा उमेर भएकाले साँधेका ज्यामिर-भोगटे धित मरुञ्जेल पेटभरी खानखोज्नु पाको उमेरमा कि घरीघरी शौचालय धाउन वा अस्पतालनै पुर्‍याउनु पर्ने अवस्था निम्त्याउनु हो । रौसिने अवस्था भनेको पाका मान्छेले आफ्नो शरीर र स्वास्थ्य हेरेर गर्ने हो, बलमिच्याइँ नगरौँ ।

नियमित बिहान, दिउँसो र रातीका खानपान ठिक समयमा गरौँ, हरेक पटक बरु थोरैथोरै मात्रामा खानाले पचाउन सजिलो होला । पेट खाली भई उत्पन्न हुने अम्लीय रसले बिगारगर्न पाउने छैन र खाएको खाना राम्ररी पचाउन मौका पाउने छ भने पेट फुलेर दमाह बन्ने मौका पनि पाउन्न । सकेसम्म धेरैबेर लगाएर खाना चपाउनाले र्‍याल पर्याप्त आई खाना नरम र गिलो बनाई थप पाचन क्रियामा मद्दत पुग्दछ । हालेका दाँतसमेत नहुने पाका मान्छेले जाउलो, हलुवा वा गिलो भात र मनग्य दाल वा तरकारीको झोलसँग बेस्सरी मुछेर खाँदा राम्रो हुन्छ । यस्तो व्यवस्था पाकाको अवस्था हेरेर परिवारले जुटाउनै पर्छ नत्र त् ‘खाना खानुहोस् होइन, घिच्नुहोस्’ भनेकोजस्तो हुन्छ र आइपर्ने समस्याले परिवारलाईनै पिरोल्ने छ । अनि, जोरीपारीको मुखेञ्जी ‘नहेरी छाडनु न गरीछाडनु के भुक्तमान आईलाग्यो’ भनि ललरी गाएर आदरणीय अभिभावकको बिजोक नबनाउँ है ।

आवश्यक शरीरलाई चाहिने प्राणवायु नाकलेनै भित्र्याउँन नाक सफा होस्, खाना खाँदा खानासँगै हावा जान नपाओस् र हावा उत्पन्न गराउने खानेकुरा नखानु राम्रो हुन्छ । ‘छिटो-छिटो हाँसले हिलो निलेझैँ वा युद्धस्थलमा सेनालेजस्तो वा लोग्नेमान्छेको खुवाई चाँडो’ भनेर छिटो खाने बानी पनि राम्रो होईन । पाको उमेरमा बुगुल्टो खानाले किक्ककिक्क लाग्ने र सर्किने डर धेरै हुन्छ, एकपटक त्यसो भएमात्र नातागत भएको अनुभूति हुनथाल्छ, होस् गरौँ ! थुक आउँछ, मुख रसिलो हुन्छ भनेर मिठास र अरु स्वादभएका रबड (चुइङ्गम) चपाउने बानी पनि पाका मान्छेले नगर्नु राम्रो हुन्छ । बरु पोलेको छोहोरा, दालचिनी, सुकुमेल, ल्वाङ्ग जे मिल्छ चुस्नु मज्जा हुन्छ । पेय पदार्थमा हुस्स हावा फ्याक्ने कार्बन मिसिएका सोडा, कोक, फण्टा, स्प्राईट वा यस्तै गुणका पेयभन्दा मनतातो पानी घरीघरी पिउनाले फाइदै हुन्छ । कुनै प्रकारको धुमपान र मद्यपान गर्ने बानी भए पनि छोडनु सुखमय पाको उमेर बिताउने सूत्र हुन्, ख्याल गर्नु राम्रो हो ।

खाना खानासाथ ‘आ सक्तिन बस्न’ भनि लमतन्न पल्टिहाल्ने बानी अरु उमेरसमुहलाई त् ठिक होईन भने पुरानिएको पाका मान्छेको शरीरलाई त झन राम्रो होइन । बिहानको खाना खाएको एक छिन बसेर आराम गर्न सकिन्छ दिनभरी चलखेल छ भने तर पल्टनु राम्रो होइन । बेलुकीको खाना खाएको कम्तीमा दुई घण्टा नपल्टनु राम्रो हुन्छ भने खाना खाएर कोठामानै हलुका हिँडाई गर्नाले पेटमा जम्मा हुनसक्ने हावा निकाल्न मद्दत पुग्दछ । राती तापक्रमको न्युनताले र चाँडै सुतेर पाचन प्रणालीमा उत्पन्न हुने हावा थपिएर असजिलोको सम्भावना यस्तो बानीले घटाउन मद्दत गर्दछ । ‘बुढेसकालको फोक्से मासु’ भनेर मक्ख परेर शरीरको तौल बढाउन होइन उमेर र उचाईअनुसार तौल कायम गर्नु पर्दछ । यतिखेर पहिलापहिला ‘हाकिमको जस्तो घ्याम्पे पेट, क्या सुहाएको !’ कसैले भन्दैन बरु ‘पाको उमेरमा रोगको भकारी’ भन्न बेर लगाउँदैनन् । बढि मोटो शरीर अरु रोग, मुटु, उच्च रक्तचाप, मधुमेह साथै मिर्गौला र कलेजोका लागि नकारात्मक असरगर्न सहायक हुन भनि उमेरिदाको अध्ययन गर्ने विश्वप्रसिद्ध पाका मान्छे बिज्ञ के.एम. काठे लगायत धेरै चिकित्सकहरूको रहेको छ ।

चिन्ता घटाउँ :
पाको उमेरमा धेरैको फुर्सद हुन्छ र पहिले कहिल्यै नसोचिएका घरव्यवहार, ईष्टमित्र तथा साथीभाईबारेमा अनेक तर्कना गर्ने धेरैमा बानी परेको हुन्छ । चिन्ताले यती गाँज्न थाल्छ कि हरेक पाका महिला र पुरुषको हालत सोम शर्माको बाबाको जस्तो बनिरहेको हुन्छ र त्यसको असर पेटमा परिरहेको हुन्छ । आफ्नो बर्कत र पहुँचले गर्न नभ्याउने समस्यामा पनि पिरलो गरिरहेका पाइन्छन् भने आफ्नाले गर्न नसकेका काममा अरुले फत्ते गरेकोमा ईष्र्याले भित्रभित्रै तोलातोला मासु घटाइरहेका हुन्छन् । चिन्ताले पेट कुटुकुटु खाएझैँ भएर जैविकरस उत्पादनमा व्यवधान भई खाएकै नपच्ने हुजान्छ । बरु के गर्दा मनको चैन र आनन्द मिल्छ त्यतैतिर लहसिनु राम्रो हुन्छ, । आफ्नो मनले नियमन गर्न नसके बजारमा हजार कमाउन फालाफाल पसल खुलेका छन् त्यतै गएर आनन्द लिने हो कि ? कतिपय पाका मान्छे अलिअली पारिवारिक गुनासो अरुलाई सुनाई बिना लगानी र प्राप्तीको टुङ्गो नभएको हरीभजनतिर उन्माद घटाउन त्यसैले लागेका हुन कि ? मौका पर्दा खानपिन पनि हुने काम नभएका पाका मान्छे अचेल आयव्ययको झञ्झट नभएको बिनास्वादे एकोहोरो हल्लामा थुप्रिन गएका त्यसैले हुनसक्छ !

नियमित व्यायाम गर्नाले चिन्ता र मस्तिष्कको तनाव घटाउन मद्दत पुग्छ, हो व्यायाम खाना खानासाथ चाहिँ गर्नुहुन्न । स्वभाविक हो, व्यायामको सिलसिला क्रमबद्ध गर्न एक प्रकारको अनुसाशनमा एकचित्त भएर गर्नुपर्दछ । त्यसो गरिरहँदा पाका मान्छेलाई एकातिर आफ्नो शरीर जोखिममा नपारी गर्ने सतर्कता रहन्छ भने अर्कोतिर अठोटी सकेपछि भनेअनुसार गर्ने मन हुन्छ । पाका मान्छे अठोटेको काम फत्ते गर्न नसक्दा लाज मान्छन् त्यसैले व्यायाम गर्दा एकाग्र हुन्छन् । एकाग्रताले तनाव घटाउन धेरै मद्दत पुग्छ, व्यायाम नगर्ने मनभए हरेक दिन सकेको हिँडाई गर्दा पनि व्यायामनै हुन्छ । केही नभए लरलरी उद्यान, बाटोघाटो वा चउरतिर चक्कर मार्ने बानी बसाले पनि हुन्छ, बरु बाटोघाटोका चिजविज र दृश्य अडिएर हेर्ने बानी गरे सतर्क रहन सकिन्छ । बाटोमा मनमाफिकका कोही चिनजानका भेटिए र समय दिए गफ्फिदा झनमज्जा हुनजान्छ । कसैलाई रोगव्याधकै रुपमा मानसिक समस्या सुरु भए विज्ञ चिकित्सकको सल्लाहमा ओखती खान थाले अल्पकालमै तनावमा शिथिलता आईहाल्छ नि, पिरमान्ने कुरै छैन ! अचेल बजारमा नपाईने त् जन्मदिने बाआमा मात्र हुन, अरु सबै पाइन्छन् ।

पाको उमेरमा पाचन र पेटका समस्या धेरै थकाइलाग्दा र श्रमरहीत हुँदा पनि हुनसक्छ । विभिन्न तरिकाले श्रममा सहभागी हुनेले थकाईका कारण जीउ झाँटिएर पेटको गडबडी सुरुहुन्छ । कहिले अपच हुने र कहिले श्रम कम भएमा कब्जियतले सताउन थाल्छ अनि वायु पेटमा मडारिएर हुनसम्म दुख पाइन्छ । नियमित हिँडाई र श्रमले भित्र उर्जा उत्पन्न हुनुको साथै वायु समन गर्न सजिलो पर्छ । त्यसैले नियमित श्रमसँगै पर्याप्त आरामीको आवश्यक्ता पाका मान्छेलाई हुन्छ । ‘बुढाबुढीलाई निद्रा कम लाग्छ’ भनेर काममा जोताउनु निर्दयी र अपराधी मनोवृत्ति हो । यस्तो कसैले नसोचौँ, बरु निद्रा नलागे पनि आराम यथेष्ठ पुग्नेगरी सात-आठ घण्टा ओछ्यानमा सन्तोषले आराम गर्न लगाऔँ । त्यसोभए सकेको काम गर्न पाका मान्छे पछि सर्दैनन्, काम हुने, सहयोग पनि हुने र पाका मान्छेको अवस्था शारीरिक व्यायाम भई सामान्य हुनजाने पनि हुनसक्छ ।

नियमितता :
हरेक काममा नियमितता जस्तै पाका मान्छेका हरेक जैविक र शारीरिक कामकार्वाही ठिक समय र उस्तै बेला गर्न गराउनु पर्छ । हरेक दिन उठ्ने, खाने, घुम्ने, आराम गर्ने र साँझ खाना खाएपछि टहल्ने र सुत्ने सकेसम्म उही समय राम्रो हो । यसले पाका मान्छेलाई पनि आराम हुन्छ भने घरपरिवारलाई पनि ‘यतिखेर कहाँ के गर्दै हुनुहुन्छ ?’ भन्ने एकिन हुन्छ र परेको मद्दत पुर्‍याउन सजिलो पर्छ । बिहान जस्तै सामान्य खाजा खाएर दिउँसो चमेना गरे पनि साँझपख धेरै वजनदार खाना नखाऔँ, अझ रसायनयुक्त कफी र अरु पेयपदार्थ त लिँदै नलिऔँ । यसले रातीको निद्रामा असर गर्छ र राती निद्रा कचमचिनु पाको उमेरमा सबै शारीरिक दुर्बलता तथा रोगको सुरुवात बन्छ । शरीरका सबै अङ्गहरूलाई हलचल पुग्नेगरी सकेजती व्यायाम हुनु नियमित काम भित्रै पर्छ । ‘मन लागेन वा आज नगरे के होला त ?’ भनि निचमार्ने काम पाका मान्छेले गर्नुहुन्न भने अरुले पनि पाकालाई ढाडस दिई नियमित गराउनै पर्छ । केही नसके साथ लागेर पाका मान्छेलाई दैनिक हिँडाउनु, डुलाउनु गर्न परिवारले जिम्मा लिनै पर्छ । एकै ठाउँ थुपारिदिएर कुँज्याउने र वितृष्णाको शिकार बनाई चाँडै बिदा गर्ने दुराशय राख्नुहुन्न । भनेको बचनमा नअडने र नगर्ने पाका मान्छे भए त्यो घरपरिवारमा अरुको हालत के होला ? यस्तो लाजमर्दो बानिव्यहोरा पाका मान्छेले गर्नै हुन्न नत्र लाज हुन्न र आफ्नै सन्तानहरूको अघि ?

अन्त्यमा,
कुरागर्दा सामान्य लाग्ने तर मानव शरीरमा सबैभन्दा महत्वपूणर् पाचन प्रणालीको स्वस्थ्यताबारे पाका मान्छेमा ध्यान दिनु अति आवश्यक छ । पाचन प्रणालीको तलमाथिले अरुलाई त सताउँछ भने पाका मान्छेलाई त सिकिस्त बनाउन सक्छ । यस प्रणालीको सोझै सम्बन्ध मस्तिष्कसँग हुने हुनाले शारीरिक मात्र होईन मानसिक समस्या पनि ल्याउन सक्छ । खानासाथ पल्टिहाल्ने बानी नगरौँ भने खानाकै गडबडीले चुठ्दै शौचालय कुदने गरी नखाऔँ । हामी बाँच्नका लागि खाना खाने हो, खानकोलागि बाँच्ने होइन भने पाको उमेरमा आकर्षक खानेकुरा देख्यो कि वा पायो कि वा भोकले मुख थाम्नै नसक्ने हिरिक्क लोभी भई नफाप्ने खानेकुरा खानुहुन्न । शरीरलाई फाइदा पुग्ने थोरथोरै खानुपर्छ, नियमित व्यायाम र श्रम गर्न चुक्नु हुन्न, दैनिक नियमित हिँडाई पाको शरीरलाई यथेष्ठ व्यायाम पुग्ने सरल उपाय हो । त्यसो गरे कलीमा पनि सय वर्ष त कसो नबाँचिएला है !

०००
२६ माघ, २०८०
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x