डा. मुकेशकुमार चालिसेपाका मान्छेमा पेटका अलमलिने समस्या !
हामी बाँच्नका लागि खाना खाने हो, खानकोलागि बाँच्ने होइन भने पाको उमेरमा आकर्षक खानेकुरा देख्यो कि वा पायो कि वा भोकले मुख थाम्नै नसक्ने हिरिक्क लोभी भई नफाप्ने खानेकुरा खानुहुन्न ।

डा. मुकेश चालिसे :

उमेरिदै जाँदा अरु जीवजस्तै मान्छे पाको बन्छ, बिचार, ज्ञान तथा अनुभव पनि दृढ र बलियो भएको पाइन्छ । धेरै पाका मानिसमा सबै कुरा सकारात्मक र परिपक्व भएकालेनै ‘कुरा सुन्नु बुढाबुढीको वा पाका मान्छेको’ भन्ने भनाई चर्चित भएको हो । पाका मान्छेले बैँशमाझैँ जे पायो त्यहि खाने, जता पायो उतै लडने, करगरे कसैको मनराख्न भनि खाने, अरुले मज्जाले खाएका छन् भनेर मौका पाउँदा आँखा छलेर पनि हसुर्ने गर्नुहुन्न । मानसिक चिन्तनले बलिष्ट पाको ज्यान भने जन्मदै क्रियाशील अङ्गहरूको निरन्तर सकृयता र पछि बृद्धि हुने अङ्ग तथा जैविक कृयाले ल्याउने धामाको पेलाईमा परेर कमजोर भएको हुनसक्छ । कमजोर भएको ज्यानमा समस्या आउनु स्वभाविकै हो भने विभिन्न रोग पनि मौका पर्खेर ढुकेझैँ यसै अवस्थामा सत्र पार्न खोज्छन् । पाको ज्यानमा सामान्य तलमाथिले पनि अरुतिर नदेखाए पनि पाचन क्रियाको गडबडीदेखि लिएर तपाइँको क्षणिक सन्काईलाई केही दिन सुताइदिने जोरलात्ती हान्न सक्छ ।
अलमल्याउने बिसञ्चो :
हार्वाड मेडिकल स्कूलको संवेदनशील पेट भन्ने रिपोर्ट अनुसार, खास जटिल कारण नदेखिए पनि खानेकुराको सामान्य फेरबदलले तपाइँलाई सञ्चो नहुने र फुर्ति नआउने हुनसक्छ । पेटले ठुसठुसाउने, गड्याङगुडुङ हुने, भित्री वायु कोखा, छाती र नाइटो वरपर मडारिएर दुख्ने हुनसक्छ । कतिपय बेलामा पेट फुलेर जलघडा भएझैँ डमडमती हुनजान्छ भने भोक नलाग्ने, जीउ लल्याकलुलुक हुने, घरी दिसा हुन खोजेझैँ र घरी अमिलो पानी हुलुक्क आउने हुन जान्छ । पेट र छाती पोलेर मुटुको व्यथा लाग्यो कि वा अल्सर भयो कि भन्ने औडाहले मन ओइलाएर आत्तिन थालिन्छ । पाका मान्छेलाई यस्ता असामान्य अवस्थाको सुरुवात मन नपर्ने खाना खाँदा वा अरुले मज्जाले खाएको भनि आफूलाई नफाप्ने खाना कोच्न खोज्दा तत्कालै वा खाएको आधा घण्टा जतीमा विसञ्चो हुनथाल्छ । पाचन प्रणाली सामान्य रहँदा त्यसको क्रियाकलापबारे ध्यान कसैको हुँदैन तर असजिलो हुन थालेपछि दिनचर्यानै गडबडिन सक्छ । कतिको त हिँडाई, उठबस र बोलाईमा भिन्नता देखापर्छ भने स्वभाव पनि बदलिएर झर्कोफर्को गर्नथाल्ने हुन्छ । धेरैबेर दुख पाएर हगौँमुतौँको स्थिति भएमा फेर्नखोजे पनि पिसाब रोकिने भई डाह अरु बढने हुनसक्छ । यसरी सामान्यबाट जटिलउन्मुख हुन पाका मान्छेलाई आईतबार कुरिरहनु पर्दैन ।
गर्मी, वर्षात र जाडोमा आद्रता र चिसो बाहिरी वातावरणमा खानेकुराकै बेमेलले पाचन प्रणालीको बिपरित प्रतिक्रिया उत्पन्न भएको कारणले घाँटी, पेट, आन्द्राको क्षमताबाहिर गएकाले अन्यौलका लक्षणहरू एकैपल्ट देखापरेका हुन्छन् । फलस्वरुप पाचन प्रणालीले बिपरीत काम गर्न थाल्छ, पेट हुँडल्ने, बटारीने हुन्छ, अमिलो पानी आउन सक्छ, कब्जीयतले गाँठा परेर पेटआन्द्रामा कतै हावा भरिने कतै सार्हो भई दुख्ने हुनसक्छ । अपच भएर पेट गडबड भएमा थप खाना खाएको एकैछिनमा पेट लाग्ने, अपच दिसा हुने, बायु गईरहने, वायु छोडदा र पिसाबगर्न जाँदा दिसा चुहिने हुनसक्छ । धेरैबेर त्यसो भएमा हातगोडाका माँसपेशी फर्किने, बाउँडिने, कैँडालागेझैँ हुने र हाडजोर्नी दुख्न पनि सक्छ । ‘जाबो त्यति खाएको ! पेटको अग्नीनै कमजोर रहेछ कि क्याहो ? यस्तो हजम नहोला भनि सोचेकै थिएन, के भयो के भयो ?’ भनि अत्तालिँदा डाह, चिन्ता र हडबडाहटले छटपटी भएर चिटचिट पसिना आउन सक्छ र बिरामी झन अत्तालिएर परिवारनै सकसमा पर्नुपर्ने हुन्छ ।
उपचार :
पाको मान्छेको ज्यानले अलिअली थाम्नसके घरेलु उपचार, हिङ्ग, बेसार, अदुवा, जिम्बु र नुनपानीले पनि केही सुबिस्ता होला । कतिपयलाई अमिलीएको दहिमा बेसार झानेर केही नरम बस्तुसँग खाएमा पनि व्यथा समन हुनसक्छ भने कसैलाई खानामा सूद्ध घिऊ झानेर खाँदा पनि चिसोले भएको झञ्झट टर्छ । त्यस्तै, पेट वरपर सञ्चोको तेल दल्ने, चिनियाँ बामले नाईटोमा कुचकुच पार्ने, तातो इँट र तातो पानीको थैलोले पेट र मलद्वारतिर सेक्दा पनि आराम मिल्नसक्छ । दिसा-पखाला, अपच, ढ्याउढ्याउ रहेमा र बिरामी बिस्तारै अस्तअस्त हुँदैगएमा चिकित्सकको सल्लाहमा अम्लपित्तको लक्षण भएमा अम्लीयबिरोधि ओखती सुरु गर्न थाल्नुपर्छ । उस्तै परेमा खाएको औषधिको असर ढिला भई बिरामीलाई अप्ठ्यारो पर्ने देखेमा चिकित्सकले नसाबाट पनि मिल्ने झोल ओखती हालीदिन सक्छन् । अपाच्य खानाको प्रवेशले भएको ठहर भएमा त्यसलाई तह लगाउने र पचाउन बल गर्ने उपायहरू अघि बढाउनुपर्छ । पचाउन मद्दत गर्ने ओखती र शरीरमा नुनचिनीको मात्रा नघटने गरी मनतातो पानीमा बनाईएको जीवनजल सेवन गर्न सकिन्छ । यस उमेरमा उपचारको जिम्मा लगाउने त बिज्ञ चिकित्सकलाईनै हो है ।
पाको उमेरमा देखिएका सामान्य रोगव्याध उमेरिएका कारणले असाध्य हुनजान्छन्, त्यसैले विभिन्न उपाय गरेर अनमोल जीवन त बचाउनै पर्यो नि ! ‘पिण्ड खानेबेला केको खर्च ?’ भनेर समाजका सबैभन्दा पाका, अनुभवी र आदरणीय पुस्तालाई हेरीछाड्नु हुन्न बरु बढता चनाखो भई हेरबिचार पुर्याउन परिवार र समाजनै अघि बढनु पर्छ । पाका पुस्ताको ज्ञान र सिपलाई राम्ररी दोस्रो पुस्तामा धेरैभन्दा धेरै हस्तान्तरण गर्न पनि पर्ने भएकाले समाजमा पाका पुस्ताको महत्व अतिनै छ । नबुझेर हेलाँहोचो र बेवास्ता गरे अरु पुस्तालाई घाटानै लाग्ने कुरा अरुले बुझ्नै पर्छ र पाकाले पनि सम्झाउनै पर्छ । त्यसैले पाका मान्छेका अल्मल्याउने पाचन प्रणाली सम्बन्धी समस्यामा निम्न उपाय क्रमबद्ध गर्न घरपरिवारका वयस्क लाग्नै पर्दछ ।
ठिक्क खानपान :
पाका मान्छे आफैँ सतर्क भएर जतिसुकै मिठो र भोकले छटपटिए पनि आफूलाई अफाप हुने खानेकुरा खान कहिल्यै लोभिनु हुनुहुँदैन । ‘अर्काको मन राख्न र यसो कस्तो रहेछ, चाखेको मात्र’ भनेर खानपानमा लुब्धहुने उमेर पाका मान्छेको सकिएको बेलैमा गम्भीरतापूर्वक मनन गरौँ । एकपटक उस्तै खानपानले असर पारेर थलापरेको सम्झिएर गल्ती दोहोर्याउने काम नगरौँ, सानो गल्तीले फेरि नउठ्ने गरी थलापार्न सक्छ । यस उमेरमा सामान्य अरु उमेरकाले पचाइरहेका कफीका रसायन, गुलिया चकलेट, मादकपदार्थ, जाँडरक्सी, अति तेल घ्युभएका चिजविज, मसलाको ओइरो भएका तरकारी र अति अमिला फलफूलबाट टाढै रहनु राम्रो हुन्छ । ‘बैँसमा दुईटा निबुवा नुनखार्सानीसँग चिरिप्पै खान्थेँ’ भनेर जाडो महिनामा उमेर भएकाले साँधेका ज्यामिर-भोगटे धित मरुञ्जेल पेटभरी खानखोज्नु पाको उमेरमा कि घरीघरी शौचालय धाउन वा अस्पतालनै पुर्याउनु पर्ने अवस्था निम्त्याउनु हो । रौसिने अवस्था भनेको पाका मान्छेले आफ्नो शरीर र स्वास्थ्य हेरेर गर्ने हो, बलमिच्याइँ नगरौँ ।
नियमित बिहान, दिउँसो र रातीका खानपान ठिक समयमा गरौँ, हरेक पटक बरु थोरैथोरै मात्रामा खानाले पचाउन सजिलो होला । पेट खाली भई उत्पन्न हुने अम्लीय रसले बिगारगर्न पाउने छैन र खाएको खाना राम्ररी पचाउन मौका पाउने छ भने पेट फुलेर दमाह बन्ने मौका पनि पाउन्न । सकेसम्म धेरैबेर लगाएर खाना चपाउनाले र्याल पर्याप्त आई खाना नरम र गिलो बनाई थप पाचन क्रियामा मद्दत पुग्दछ । हालेका दाँतसमेत नहुने पाका मान्छेले जाउलो, हलुवा वा गिलो भात र मनग्य दाल वा तरकारीको झोलसँग बेस्सरी मुछेर खाँदा राम्रो हुन्छ । यस्तो व्यवस्था पाकाको अवस्था हेरेर परिवारले जुटाउनै पर्छ नत्र त् ‘खाना खानुहोस् होइन, घिच्नुहोस्’ भनेकोजस्तो हुन्छ र आइपर्ने समस्याले परिवारलाईनै पिरोल्ने छ । अनि, जोरीपारीको मुखेञ्जी ‘नहेरी छाडनु न गरीछाडनु के भुक्तमान आईलाग्यो’ भनि ललरी गाएर आदरणीय अभिभावकको बिजोक नबनाउँ है ।
आवश्यक शरीरलाई चाहिने प्राणवायु नाकलेनै भित्र्याउँन नाक सफा होस्, खाना खाँदा खानासँगै हावा जान नपाओस् र हावा उत्पन्न गराउने खानेकुरा नखानु राम्रो हुन्छ । ‘छिटो-छिटो हाँसले हिलो निलेझैँ वा युद्धस्थलमा सेनालेजस्तो वा लोग्नेमान्छेको खुवाई चाँडो’ भनेर छिटो खाने बानी पनि राम्रो होईन । पाको उमेरमा बुगुल्टो खानाले किक्ककिक्क लाग्ने र सर्किने डर धेरै हुन्छ, एकपटक त्यसो भएमात्र नातागत भएको अनुभूति हुनथाल्छ, होस् गरौँ ! थुक आउँछ, मुख रसिलो हुन्छ भनेर मिठास र अरु स्वादभएका रबड (चुइङ्गम) चपाउने बानी पनि पाका मान्छेले नगर्नु राम्रो हुन्छ । बरु पोलेको छोहोरा, दालचिनी, सुकुमेल, ल्वाङ्ग जे मिल्छ चुस्नु मज्जा हुन्छ । पेय पदार्थमा हुस्स हावा फ्याक्ने कार्बन मिसिएका सोडा, कोक, फण्टा, स्प्राईट वा यस्तै गुणका पेयभन्दा मनतातो पानी घरीघरी पिउनाले फाइदै हुन्छ । कुनै प्रकारको धुमपान र मद्यपान गर्ने बानी भए पनि छोडनु सुखमय पाको उमेर बिताउने सूत्र हुन्, ख्याल गर्नु राम्रो हो ।
खाना खानासाथ ‘आ सक्तिन बस्न’ भनि लमतन्न पल्टिहाल्ने बानी अरु उमेरसमुहलाई त् ठिक होईन भने पुरानिएको पाका मान्छेको शरीरलाई त झन राम्रो होइन । बिहानको खाना खाएको एक छिन बसेर आराम गर्न सकिन्छ दिनभरी चलखेल छ भने तर पल्टनु राम्रो होइन । बेलुकीको खाना खाएको कम्तीमा दुई घण्टा नपल्टनु राम्रो हुन्छ भने खाना खाएर कोठामानै हलुका हिँडाई गर्नाले पेटमा जम्मा हुनसक्ने हावा निकाल्न मद्दत पुग्दछ । राती तापक्रमको न्युनताले र चाँडै सुतेर पाचन प्रणालीमा उत्पन्न हुने हावा थपिएर असजिलोको सम्भावना यस्तो बानीले घटाउन मद्दत गर्दछ । ‘बुढेसकालको फोक्से मासु’ भनेर मक्ख परेर शरीरको तौल बढाउन होइन उमेर र उचाईअनुसार तौल कायम गर्नु पर्दछ । यतिखेर पहिलापहिला ‘हाकिमको जस्तो घ्याम्पे पेट, क्या सुहाएको !’ कसैले भन्दैन बरु ‘पाको उमेरमा रोगको भकारी’ भन्न बेर लगाउँदैनन् । बढि मोटो शरीर अरु रोग, मुटु, उच्च रक्तचाप, मधुमेह साथै मिर्गौला र कलेजोका लागि नकारात्मक असरगर्न सहायक हुन भनि उमेरिदाको अध्ययन गर्ने विश्वप्रसिद्ध पाका मान्छे बिज्ञ के.एम. काठे लगायत धेरै चिकित्सकहरूको रहेको छ ।
चिन्ता घटाउँ :
पाको उमेरमा धेरैको फुर्सद हुन्छ र पहिले कहिल्यै नसोचिएका घरव्यवहार, ईष्टमित्र तथा साथीभाईबारेमा अनेक तर्कना गर्ने धेरैमा बानी परेको हुन्छ । चिन्ताले यती गाँज्न थाल्छ कि हरेक पाका महिला र पुरुषको हालत सोम शर्माको बाबाको जस्तो बनिरहेको हुन्छ र त्यसको असर पेटमा परिरहेको हुन्छ । आफ्नो बर्कत र पहुँचले गर्न नभ्याउने समस्यामा पनि पिरलो गरिरहेका पाइन्छन् भने आफ्नाले गर्न नसकेका काममा अरुले फत्ते गरेकोमा ईष्र्याले भित्रभित्रै तोलातोला मासु घटाइरहेका हुन्छन् । चिन्ताले पेट कुटुकुटु खाएझैँ भएर जैविकरस उत्पादनमा व्यवधान भई खाएकै नपच्ने हुजान्छ । बरु के गर्दा मनको चैन र आनन्द मिल्छ त्यतैतिर लहसिनु राम्रो हुन्छ, । आफ्नो मनले नियमन गर्न नसके बजारमा हजार कमाउन फालाफाल पसल खुलेका छन् त्यतै गएर आनन्द लिने हो कि ? कतिपय पाका मान्छे अलिअली पारिवारिक गुनासो अरुलाई सुनाई बिना लगानी र प्राप्तीको टुङ्गो नभएको हरीभजनतिर उन्माद घटाउन त्यसैले लागेका हुन कि ? मौका पर्दा खानपिन पनि हुने काम नभएका पाका मान्छे अचेल आयव्ययको झञ्झट नभएको बिनास्वादे एकोहोरो हल्लामा थुप्रिन गएका त्यसैले हुनसक्छ !
नियमित व्यायाम गर्नाले चिन्ता र मस्तिष्कको तनाव घटाउन मद्दत पुग्छ, हो व्यायाम खाना खानासाथ चाहिँ गर्नुहुन्न । स्वभाविक हो, व्यायामको सिलसिला क्रमबद्ध गर्न एक प्रकारको अनुसाशनमा एकचित्त भएर गर्नुपर्दछ । त्यसो गरिरहँदा पाका मान्छेलाई एकातिर आफ्नो शरीर जोखिममा नपारी गर्ने सतर्कता रहन्छ भने अर्कोतिर अठोटी सकेपछि भनेअनुसार गर्ने मन हुन्छ । पाका मान्छे अठोटेको काम फत्ते गर्न नसक्दा लाज मान्छन् त्यसैले व्यायाम गर्दा एकाग्र हुन्छन् । एकाग्रताले तनाव घटाउन धेरै मद्दत पुग्छ, व्यायाम नगर्ने मनभए हरेक दिन सकेको हिँडाई गर्दा पनि व्यायामनै हुन्छ । केही नभए लरलरी उद्यान, बाटोघाटो वा चउरतिर चक्कर मार्ने बानी बसाले पनि हुन्छ, बरु बाटोघाटोका चिजविज र दृश्य अडिएर हेर्ने बानी गरे सतर्क रहन सकिन्छ । बाटोमा मनमाफिकका कोही चिनजानका भेटिए र समय दिए गफ्फिदा झनमज्जा हुनजान्छ । कसैलाई रोगव्याधकै रुपमा मानसिक समस्या सुरु भए विज्ञ चिकित्सकको सल्लाहमा ओखती खान थाले अल्पकालमै तनावमा शिथिलता आईहाल्छ नि, पिरमान्ने कुरै छैन ! अचेल बजारमा नपाईने त् जन्मदिने बाआमा मात्र हुन, अरु सबै पाइन्छन् ।
पाको उमेरमा पाचन र पेटका समस्या धेरै थकाइलाग्दा र श्रमरहीत हुँदा पनि हुनसक्छ । विभिन्न तरिकाले श्रममा सहभागी हुनेले थकाईका कारण जीउ झाँटिएर पेटको गडबडी सुरुहुन्छ । कहिले अपच हुने र कहिले श्रम कम भएमा कब्जियतले सताउन थाल्छ अनि वायु पेटमा मडारिएर हुनसम्म दुख पाइन्छ । नियमित हिँडाई र श्रमले भित्र उर्जा उत्पन्न हुनुको साथै वायु समन गर्न सजिलो पर्छ । त्यसैले नियमित श्रमसँगै पर्याप्त आरामीको आवश्यक्ता पाका मान्छेलाई हुन्छ । ‘बुढाबुढीलाई निद्रा कम लाग्छ’ भनेर काममा जोताउनु निर्दयी र अपराधी मनोवृत्ति हो । यस्तो कसैले नसोचौँ, बरु निद्रा नलागे पनि आराम यथेष्ठ पुग्नेगरी सात-आठ घण्टा ओछ्यानमा सन्तोषले आराम गर्न लगाऔँ । त्यसोभए सकेको काम गर्न पाका मान्छे पछि सर्दैनन्, काम हुने, सहयोग पनि हुने र पाका मान्छेको अवस्था शारीरिक व्यायाम भई सामान्य हुनजाने पनि हुनसक्छ ।
नियमितता :
हरेक काममा नियमितता जस्तै पाका मान्छेका हरेक जैविक र शारीरिक कामकार्वाही ठिक समय र उस्तै बेला गर्न गराउनु पर्छ । हरेक दिन उठ्ने, खाने, घुम्ने, आराम गर्ने र साँझ खाना खाएपछि टहल्ने र सुत्ने सकेसम्म उही समय राम्रो हो । यसले पाका मान्छेलाई पनि आराम हुन्छ भने घरपरिवारलाई पनि ‘यतिखेर कहाँ के गर्दै हुनुहुन्छ ?’ भन्ने एकिन हुन्छ र परेको मद्दत पुर्याउन सजिलो पर्छ । बिहान जस्तै सामान्य खाजा खाएर दिउँसो चमेना गरे पनि साँझपख धेरै वजनदार खाना नखाऔँ, अझ रसायनयुक्त कफी र अरु पेयपदार्थ त लिँदै नलिऔँ । यसले रातीको निद्रामा असर गर्छ र राती निद्रा कचमचिनु पाको उमेरमा सबै शारीरिक दुर्बलता तथा रोगको सुरुवात बन्छ । शरीरका सबै अङ्गहरूलाई हलचल पुग्नेगरी सकेजती व्यायाम हुनु नियमित काम भित्रै पर्छ । ‘मन लागेन वा आज नगरे के होला त ?’ भनि निचमार्ने काम पाका मान्छेले गर्नुहुन्न भने अरुले पनि पाकालाई ढाडस दिई नियमित गराउनै पर्छ । केही नसके साथ लागेर पाका मान्छेलाई दैनिक हिँडाउनु, डुलाउनु गर्न परिवारले जिम्मा लिनै पर्छ । एकै ठाउँ थुपारिदिएर कुँज्याउने र वितृष्णाको शिकार बनाई चाँडै बिदा गर्ने दुराशय राख्नुहुन्न । भनेको बचनमा नअडने र नगर्ने पाका मान्छे भए त्यो घरपरिवारमा अरुको हालत के होला ? यस्तो लाजमर्दो बानिव्यहोरा पाका मान्छेले गर्नै हुन्न नत्र लाज हुन्न र आफ्नै सन्तानहरूको अघि ?
अन्त्यमा,
कुरागर्दा सामान्य लाग्ने तर मानव शरीरमा सबैभन्दा महत्वपूणर् पाचन प्रणालीको स्वस्थ्यताबारे पाका मान्छेमा ध्यान दिनु अति आवश्यक छ । पाचन प्रणालीको तलमाथिले अरुलाई त सताउँछ भने पाका मान्छेलाई त सिकिस्त बनाउन सक्छ । यस प्रणालीको सोझै सम्बन्ध मस्तिष्कसँग हुने हुनाले शारीरिक मात्र होईन मानसिक समस्या पनि ल्याउन सक्छ । खानासाथ पल्टिहाल्ने बानी नगरौँ भने खानाकै गडबडीले चुठ्दै शौचालय कुदने गरी नखाऔँ । हामी बाँच्नका लागि खाना खाने हो, खानकोलागि बाँच्ने होइन भने पाको उमेरमा आकर्षक खानेकुरा देख्यो कि वा पायो कि वा भोकले मुख थाम्नै नसक्ने हिरिक्क लोभी भई नफाप्ने खानेकुरा खानुहुन्न । शरीरलाई फाइदा पुग्ने थोरथोरै खानुपर्छ, नियमित व्यायाम र श्रम गर्न चुक्नु हुन्न, दैनिक नियमित हिँडाई पाको शरीरलाई यथेष्ठ व्यायाम पुग्ने सरल उपाय हो । त्यसो गरे कलीमा पनि सय वर्ष त कसो नबाँचिएला है !
०००
२६ माघ, २०८०
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest

































