साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेबाट यत्ति आश गरौँ !

तपाइँ र भावी पुस्तालाई अत्तररूपी ज्ञानको पुस्तान्तरण गर्न पाका मान्छेका कुरा सुनौँ, गमौँ र मान्ने कोशिस गरौँ, यसैमा हामी मान्छेको सभ्यता विकसित र परिमार्जन हुँदै जान्छ ।

Nepal Telecom ad

प्रा.डा. मुकेशकुमार चालिसे :

संसारभरिमा भएका मानिस समूहका रैथाने आआफ्नै भनाई हरेक उमेर समूहका लागि फरकफरक तर उस्तै खालका सोचाई हरेक वर्णका बिच भेटिन्छन् । जातजातिका उल्लीबिल्ली लाउने तरिका पनि आफू सभ्य र जानकार तर अरू नजान्ने रूपमा वर्णन भेटिन्छन् । उमेरजन्य पाका मानिसलगायत हरेक उमेरसमूहका बारेमा राम्रा नराम्रा धेरै प्रसङ्ग पनि पाइन्छन् । मानव समाजको विकास प्रक्रिया नियाल्ने हो भने उन्नाईसौँ शताब्दिपछि संसारभरि आएको यान्त्रिक र राजनीतिक परिवर्तनले सकारात्मक साथै नकारात्मक कुराहरूले फड्को मारेका देखिन्छन् । यसको मुख्यकारण नै सायद हरेक जैविक अजैविक बस्तुको अस्तित्व र औचित्वलाई मूल्यसँगको तुलनागर्ने प्रवृत्ति अर्थात् बजारवादले होला । मानव साधनस्रोतलाई प्रमुख ठान्ने केही विचारहरू बाहेक पूँजीबजारमा नाफा र नोक्सानको लेखाजोखाअनुसार मान्छेको मूल्याङ्कन गर्ने गरिन्छ ।

हरेक उमेर समूहको आआफ्नै विशेषता र महत्त्व छ । बालबालिकाको निश्छलपन, निर्दोषिता, सिमित ज्ञान र अनुभवको कसिमा अनौठा कल्पना र डर आफ्नै खालका छन् । किशोरकिशोरीका उत्साह र सिकाईका पखेटा असम्भवतिर पनि कावा खाइरहेका हुन्छन । युवायुवतीका जोश, जाँगर र असिमित चाहनाले यति छलाङ्ग मारिरहेको हुन्छ कि उनीहरू बादलपारिको काल्पनिक स्वर्गतिर पुर्‍याइरहेको हुन्छ । वयस्कहरूमा योग्यताअनुसार कमाईधमाई र सामाजिक ईज्जत धान्न पसिना चुहाउन व्यस्त रहन्छन् । पाका मान्छे प्रायः सेवानिवृत्त जीवनमा शारीरिक अवस्था ठिकै रहे, अझै हाड घोटिरहन आफ्नो कर्तव्य ठान्छन्, पारिवारिक जिम्मेवारी ठान्छन् । शारीरिक कम सक्षम भए पाका मान्छे आफ्नो छ दशकभन्दा लामो अनुभवले अरूलाई नसके पनि परिवारलाई दुःख र खतरामुक्त पारिरहन बोल्न सक्छन् ।

आजकाल काखेबच्चा बाहेक सबै उमेरसमूहका घरबाहिर नै कम्तीमा दिउँसोभरि रहन्छन् । उमेरअनुसार विद्यालय जाने, काममा जाने, आयआर्जनमा जाने, घुमफिर वा सामाजिक काममा सक्षम सबै हिँड्छन् । सक्षम रहेसम्म त बाहिरफेर पाका मान्छे पनि मनग्य काम गर्छन् । घर कुरेर बस्ने प्रायः सेवानिवृत्त र शारीरिक कम सक्षम पाका मान्छे नै हुन् । यसरी मान्छेका कुनै उमेरसमूह फुर्सदमा भएको भेटिँदैन । पाका मान्छे असक्षम छैनन्, बोल्न मात्र सके पनि धेरै काम गरिरहेका हुन्छन् । पाका मान्छेका काम के के हुनसक्लान् त ?

पाका मान्छेका कामः
हाम्रो नेपाली समाजको सामान्य अवस्थाअनुसार हेर्ने हो भने सबै उमेरसमूह उमेरअनुसारमा आआफ्नो कामकाममा लाग्दा पाका मान्छे समग्र परिवारको हितमा नै केन्द्रित भई चिन्तन, मनन् र काम गरिरहेका हुन्छन् ।

१. किसानी परिवार छ भने पाका मान्छे कुन बिऊबिजन राम्रो, बढि फल्ने, कीरा नलाग्ने भनी चिन्तन गरी अनुभवका आधारमा त्यसलाई लगाउन उत्सुक हुन्छन् र बिऊ राख्न भन्छन् । बिऊ कसरी राख्दा धुल्याहा लाग्दैन र अर्को वर्षलाई पनि काम लाग्छ, जान्दछन् । त्यसकालागि उनीहरूलाई कृषि वैज्ञानिक वा अन्नबाली विज्ञ भइरहनु पर्दैन । कुन समय ब्याड राख्ने, कत्रो भएपछि ब्याडबाट सार्ने सबै हेक्का हुन्छ पाका मान्छेलाई । बाली लगाई सकेपछि कतिखेर गोडमेल, झार केलाई, उकेरा लाउने र आवधिक पानीको सिँचाईबारे सतर्क हुन्छन् र भन्छन् । कस्तो अवस्था आएपछि बाली भित्र्याउने र बालीको अखाद्य जैविक वस्तुको कस्को प्राङ्गारिक मल हुन्छ हुन्न सबै थाह हुन्छ । त्यस्तै कुन बालीको के कति घरायसी ईन्धन प्रयोग गरेमा दाउराको बचत हुन्छ त्यस्ता कुराको पनि जानकारी हुन्छ । खेती किसानी नै गर्ने परिवारमा के पाका मान्छे आफू शारीरिक काम गर्न धेरै नसके पनि उहाँहरूका त्यस्ता कुरा सुन्ने गर्नुपर्दैन र ? के उहाँहरूका कुरा मानिदिँदा परिवारलाई घाटा हुन्छ र ?

२. बन्दव्यापार गर्ने परिवार छ भने पाका मान्छेले अरू काम गर्न नसके पनि पसल वा व्यापार चलाउने ठाउँमा आसन जमाएर बसे भने वयस्कहरूलाई कति भरोसा हुन्छ, होइन र ? पाका मान्छेलाई आफू कहाँ नियमित सामान पठाउने कम्पनी र आउने ग्राहकको राम्रो हेक्का हुन्छ । उहाँहरू कस्तासँग कस्तो व्यवहार गर्ने भन्नेमा पनि पोख्त हुनुहुन्छ भने समस्या आएमा कसरी सल्टाउने भन्ने पनि जान्नुहुन्छ । नयाँ चिजविज बिक्रीवितरण र प्रचारमा आए विभिन्न तरिकाले जाँचपरख गर्न साथै आफूले व्यवहार गरे फाइदा बेफाइदा हुने अनुमान र आङ्कलन गर्न उहाँहरू सहजै सक्नुहुन्छ । त्यसैले आफूले किनिदिँदा ठगिने र आफ्ना ग्राहकमा अविश्वास सिर्जना हुने दुर्घटना नै हुँदैन । अनुभव र ज्ञानका कारण वस्तुको गन्ध, रङ्ग, वजन, बान्की र अवस्थाबाटै पनि निरोपण गर्ने क्षमता पाका मान्छेमा हुन्छ । रकमी र प्रष्ट व्यवहारले उहाँहरू सबैका विश्वासिला र भरपर्दो भएकोबाट परिवार सदस्यले पनि ज्ञान सिक्नेमात्र होइन आफूलाई स्थापित गराउन सक्छन् । उहाँहरूको कुरा सुन्ने र मान्ने गर्दा फाइदा त घरपरिवार सबैलाई भएन र ? पुस्तैनी व्यवसाय र बन्द व्यापार गर्नेको ईज्जत हेर्नुहोस् त, कति भरविश्वास गर्छन् सर्वसाधारणले ?

३. ज्ञानविज्ञान, प्रविधि र बौद्धिक क्षेत्रमा काम गरी सेवानिवृत्त पाका मान्छेबाट त्यसैअनुसार घरपरिवारलाई उपलब्धि हुनसक्छ । उहाँहरूको शारीरिक अवस्था कमसक्षम रहे पनि परिवारका हरेक उमेर समूहको उन्नति र बाटो पहिल्याउने सल्लाह सुझावको महत्त्व बढि हुन्छ । अलमलमा परिरहेका बेला उहाँहरूको मार्गनिर्देशन वनमा अलमलिएर भौँतारिएकालाई गोरेटो देख्याजस्तो हुन्छ । कुन विषय समाज, देश र मानवजातिको हितमा हुन्छ र परिवारको ईज्जत, नाम, र आर्थिक हिसाबले उपयुक्त हुन्छ भन्ने ठम्याई, छ दशक पार गर्दा भोग्नुपरेका हण्डर–ठक्करबाट उहाँहरूले सहजै खुट्ट्याई दिन सक्नुहुन्छ । यस्तो अगुवा मान्छे घरका पाका मान्छे छँदाछँदै अरूलाई सोधिरहनु पर्ला र ? के पढौं, के गरौँ र कुन काम गरौँ भनेर उहाँहरूलाई नै सादर सोधौँ ! बरु उहाँहरूका अनुभव प्रकाशन गर्ने, उहाँहरू जस्तैको भेटघाट गराइदिने र पाको उमेरकाले पनि समाज विकासमा योगदान गर्न सक्छन् भनि आत्मविश्वास जगाइदिने पो गर्नुपर्ला, होइन र ?

४. सुरक्षा र प्रसाशनिक निकायबाट अवकासप्राप्त पाका मान्छेले आफैँ गर्न नसक्ने अवस्थामा उहाँहरूका काम फत्ते गर्ने व्यवहारिक क्रियाकलाप र स्पातिलो अनुशासनको सल्लाह घरपरिवार चलाउनसमेत काम लाग्छ । त्यस संस्कारमा हुर्किएका बालबालिका र किशोरकिशोरीहरूले विद्यालयबाट प्रशंसा नै पाएको देखिन्छ । त्यस्ता परिवारका वयस्कहरूको क्रियाकलाप समाजमा अनुकरणीय भएको चर्चा सर्वत्र सुनिन्छ । तपाईं वयस्कहरूले पाउने ईज्जत तपाईंकै घरका पाका मान्छेले आर्जन गरेको ईज्जत र ज्ञानको एक अंशमात्र हो है ! तपाईंले उहाँहरूका कुरा सुन्ने मान्ने नगरेको भए तपाईंको ईज्जत आकाशबाट झरेर आएको होइन है । राम्ररी गुन्नुहोस् ! घरायसी असल वातावरण र सामाजिक ईज्जतको चुलीको जगमा तपाईंहरूका पाका मान्छे हुनुहुन्छ । जगमा खिया पार्न वा भत्काउने काम गरेर आफ्नै सपनाको महल नलडाउनोस् !

विगतः
आजका पाका मान्छेले आफ्ना बाआमा हजुरबा हजुरआमा बिरामी पर्दा डोकोमा बोकेर भए पनि प्रचलित मान्यताअनुसार धामीझाँक्री, झारफुक गर्न र उल्टा ख्वाउन लग्नुभयो । असाध्ये भएमा कहीँकतै विदेशमा पढेर आएका वा स्कुल चलाउन आएका भनी धर्म प्रचारमा आएका गोराको बाससम्म आफन्त बचाउन कुद्नुभयो । पूजा, दान, यज्ञसमेत गराउनु भयो र कालो गन्हाउने बोको घरमा राखेर हुन्छ कि काटेर दशा मन्साउने गर्न सम्पती सक्नुभयो । अहिले फरक कालबेला छ, औषधि विज्ञानको राम्रो विकास भएको छ । धेरै ठाउँमा राम्रा अस्पताल नभएपनि औषधि विज्ञानका प्रारम्भिक जानकारी राख्ने औषधि पसल खुलेका छन् । रोगव्याधको प्रकोप देखिएमा सामान्यतया चिनेजानेका त्यस्ता पसलले पनि सहयोग गर्न र बाटो देखाउन सक्छन् ।

परिवारका शिष्ट सदस्य तपाईं आफैँ पनि हेक्का राख्नु भएको होला, तपाईंका घरका पाका मानिसको दिनचर्या ! तपाईंहरूकै हित ठानेर तपाइँहरू केटाकेटी छँदा उहाँहरूको वयस्क बेला कमाईधमाईमा एकाग्र बनेर सकेको कमाउनुभयो । खानपिन र आरामको ख्याल नगरी गरिएको त्यस्ता अर्थोपार्जनले उहाँहरूमा चालिस वर्ष नाघेदेखि नै अछन्द्याइलो बोसो जीउमा लागि मोटोपन विकास भयो । मोटाएर राम्रो देखिएको भन्ठाने पनि बिस्तारै कम्मरमुनिको भाग सुक्ने र पेट ह्वात्त बढेर अरू रोगहरूलाई अनुकूल भयो । पचासको हाराहारीमा रक्तचापको समस्या सामान्य हुन थाल्यो र बसीबसी गर्ने काम बाहेक शारीरिक श्रम गर्न पसिना नै आउने हुन थाल्यो । श्रमको अभाव, उमेरको वृद्धि, तागतको नाममा चखिलो र तेलीय पदार्थको आकाङ्क्षाले सायद उहाँहरूमा मधुमेह, मिर्गौलाको समस्या र नसा च्यापिने पनि भयो होला ! पाको उमेरमा सेवा निवृत्त भएर वा रोगले गाँजेर बिस्तारै घरआँगनबाट टाढा जान नसक्ने हुनुभएको पनि होला !

परिवारको हितमा नै जानिनजानी मिहनेत गरेर तपाइँको परिवार अहिलेको अवस्थामा पुर्‍याउने त तिनै पाका मान्छे होइनन् र ? अब आफ्नो पारिवारिक हैसियतका मूलाधार ती पाका मान्छेलाई हेलाँहोचो र अर्घेलो ठान्ने गल्ती परिवारले गर्न होला त ? हो, दिनरात उहाँहरूकै अघिपछि पूजा गरेझैँ झुम्मिनु पर्दैन, केवल शिष्ट व्यवहार, भनेका कुरा मान्ने, सुन्ने र सकेसम्म गुन्ने गरे त भइहाल्यो नि । त्यस उमेरमा सबैभन्दा मन नपर्ने भनेको दशौँ भोटो फटाएर परिवारको उन्नतिमा जोवन अर्पेकालाई सक्रिय वयस्कले अनादरसाथ अह्राउने, आदेश दिने, शारीरिक काम गर्न लगाउने, अझ झर्कोफर्को गरेर होच्याउने व्यवहार ठिक होइन । पक्कै तपाइँहरू यस्तो अमानवीय र अशिष्ट व्यवहार गर्नुहुन्न होला । बरु पाका मान्छेका कुरा सुन्नुहोस्, गुन्नुहोस् र सकेसम्म मान्नुहोस्, तपाइँहरूलाई फाइदाबाहेक नोक्सान केहि हुन्न ।

भनेको मान्नुहोस्‌ः
पाका मान्छे अथवा आफ्ना बाआमा, हजुरबाआमाले भनेको र ईच्छाअनुसार गर्नु वयस्कहरूको परम कर्तव्य नै हो । वयस्कहरूमा उमेरजन्य उत्साह होला नौला कुरा गर्ने, गर्नुहोस्, तर एकपटक पाका मान्छेको सल्लाह लिनुहोस् । उहाँहरूलाई तत्‌विषयको पूर्णज्ञान नभए पनि कुनै अठोटेको काम कसरी गर्ने भन्ने जुक्ति अवश्य हुन्छ । हरेक युगमा हरेक पल नयाँनयाँ काम भएका छन्, कोही परम्परामै टाँसिएका थिए, कोही नयाँ प्रयोग गर्न उत्साहित पनि भए । ती सबैको साक्षी तपाईंका घरमा नै रहेका पाका मान्छे हुनुहुन्छ । उहाँहरू आफैँले नगरे पनि ति अनुभवका आधारमा तपाईंलाई किञ्चित मर्का नपर्ने उपाय सुझाउन सक्नुहुन्छ ।

पाका मान्छेको लालनपालनबाट हुर्किएको आफ्‌नो उमेर, जोश, जाँगर र उहाँहरूकै भरथेगमा आर्जित तपाईंको योग्यता हो । त्यो गुनको बदला उहाँहरूकै कुरा नमान्ने, घमण्ड देखाउने र अनुभवका खात भएका पाका मान्छेका अस्तित्वलाई नकार्ने कुबुद्धि नगर्नोस् । नत्र रहँदाबस्दा तपाईंकै सन्तानले तपाईंको व्यवहारले त्यही उल्टोउल्टो सिकेर उछित्तो काट्न के बेर ?

सुरक्षित भविष्य र आफ्नै पाको उमेरका लागि पनि तपाईं आफ्ना घरमा पाका मान्छेका कुरा मान्ने र ध्यान दिने परम्परा बसाली हाल्नोस् । त्यो घरायसी व्यवहारले तपाईंको घरमा ‘तीक्ष्ण मूल्याङ्कन गरी खबरदारी गर्ने, समग्रको हितअहित बिचार्ने अभिभावक हुनुहुन्छ र हामी त्यसैले ढुक्क हुन सक्छौँ’ भन्ने ढाडसयुक्त अनुशासन कायम हुन्छ । भनेपछि अहिले तपाईंले गरेको व्यवहारले तपाईंको नातिनातिना पुस्तासम्म राम्रो गर्दै हुनुहुन्छ है, गर्व गर्नुहोस् ठिक गर्दैछु भनेर !

भनेको सुन्नुहोस्‌ः
हरेक मानिसले लामो जीवनकालमा सिकेका कुरामा भोगेका अनुभवबाट बिचार बनाएको हुन्छ । पाका मान्छेका कुरा सुन्नु पर्दछ, त्यो त सैयौँ फूल चहारेर माहुरीले थोपाथोपा पराग जम्मा गरेर बनाएको महजस्तो हो । पाका मान्छेका कुरा समाज विकास र उन्नतिका लागि त्यस्तै पोषिलो उपहार हो । तपाईं आफूले श्रम नै नगरी केवल नम्रताले पाउने बहुमूल्य मानव सम्पती हो । उहाँहरूले सम्झाएका अथवा दिएका अर्तिउपदेश सुन्नुहोस्, तपाइँलाई समस्यामा प्रष्ट हुन झन सजिलो हुनेछ ।

तपाईंलाई हाम्रो नेपाली समाज विकासक्रम बुझ्न पनि रैतीको तहमा भोगाईको निष्कलङ्कता त तपाईंका पाका मान्छेले मात्र भन्नु हुनेछ । यतिखेर उहाँलाई कुनै लोभ र डरले सत्य बोल्न पछि हटाउँदैन । विगतको सजिव चित्रणमा रमाउन चाहनुहुन्छ र आफैँ जानकार हुन चाहनुहुन्छ भने पाका मान्छेका कुरा सुन्नु परेन त ?

पाका मान्छेहरू ‘गनगने, किचकिचे, मुख चिलाएर बोल्ने’ होइनन् बरु आफन्तले आफैँले भोगेको गल्तीमा नपरुन् भनि केही हुनासाथ बोल्ने हुन् । पाका मान्छेका कुरा सुन्नासाथ अडिने, सुन्ने र आवश्यक परे नबुझे सोध्ने हो, मुख चलाउने वा ओठे जवाफ फर्काउने होइन । बिचार गरौँ, पाका मान्छे त सादर ज्ञान दिने भकारी हुन्, तपाईंका कुरा र व्यवहारले भकारी प्वाल नपरोस्, खाली भाँडोजस्तो अवाक् नहोस् ।

स्वतस्फूर्त भनेको सुन्नु त छँदैछ, त्यस्तो बाहेक आफूलाई दोधार परेका सबै कुरामा पाका मान्छेका कुरा सुन्नुहोस् । तपाईंलाई भनिएको सामान्य सल्लाहले पनि तपाईंको कैयौँ समस्या सहजै हल हुन्छन् । भनेको नसुनेझैँ गर्दा नै अझै मान्छन् कि, आफ्नै सन्तान हुन बेमाख हुन त दिनुभएन भन्ने मायाले कुरा दोहोर्‍याएर सुनाएको हो । सुनेर मान गर्न सक्नुहुन्न भने हियाउने, बेवास्ता गर्ने, सुन्या नसुनेझैँ गरेर अवज्ञा र अपमान त नगर्नोस् न !

गम्नुहोस्‌ः
पाका मान्छेले भनेको बेला अदबका कारणले भनिहाल्ने बानी छैन भने मनमनै गम्नुहोस्, कडा र गालीजस्तै लागे पनि शान्त भएर गम्नुहोस् । पाका मान्छेले आफ्ना सन्तान तुरुन्तै अप्ठ्यारोमा परिहाल्छन् कि भनेर अनुभवको निचोडको रूपमा हुन्छ हुँदैन वा नगर्न भन्न सक्छन् । तपाईंले अठोटेको कुरासँग बेमेल भए दोहोर्‍याएर आफ्ना कुरालाई बिस्तारमा उहाँहरूलाई सादरपूर्वक भन्नुहोस् । थप व्याख्या उहाँहरूबाट आए फेरि गम्नुहोस् ।

सुनेको ढाँचा पारेर गम्ने नाममा कुरै लागु नगर्ने, आफ्‌नै बाटोमा हिँड्ने नगर्नोस् । पाका मान्छेले उहाँहरूका कुरा लागु नभएको तुरुन्त थाहा पाउनुहुन्छ । उहाँहरूका सल्लाहपछि तपाईंका हिँडाई, बोलाई र सक्रियताबाटै उहाँहरू तपाइँका आज्ञाकारिताको परख गर्न सक्नुहुन्छ । पाका मान्छेका कान, नाक, आँखा कमजोर होलान् तर आफन्तका क्रियाकलापलाई उहाँहरूले हावा चलेकैबाट थाहा पाउनु हुन्छ, झुक्याउन त खोज्दै नखोज्नुहोस् ।

आफ्ना कुरा ईमानी र भद्रतापूर्वक राख्नुहोस्, पाका मान्छेले पारख गरिहाल्नुहुन्छ । समयक्रमले उहाँहरूले नबुझे सोही कुरा झिँजो नगरी शिष्टतापूर्वक दोहोर्‍याउनुहोस् साथै त्यसकुरामा आफ्नो आशय र सम्भावनालाई पनि प्रष्ट पार्नुहोस् । पक्कै भद्र सहमतिमा समस्या समाधान हुन्छ ।

अन्त्यमा,
पाका मान्छे तपाईं वयस्क जति शारीरिक रूपले सक्रिय नहुन सक्नुहुन्छ । ज्ञान र अनुभवको भकारी त उहाँहरू उमेरकै कारणले पनि तपाईंभन्दा छ दशक अघिको हुनुहुन्छ । तपाइँले आशा गर्ने भनेको उहाँहरूको उचित अभिभावकत्व र सल्लाह नै हो । तपाइँ र भावी पुस्तालाई अत्तररूपी ज्ञानको पुस्तान्तरण गर्न पाका मान्छेका कुरा सुनौँ, गमौँ र मान्ने कोशिस गरौँ, यसैमा हामी मान्छेको सभ्यता विकसित र परिमार्जन हुँदै जान्छ । पाका मान्छेलाई अप्ठ्यारोमा पारेर, अभद्र, हेँलाँहोचोको व्यवहार गरेर मानव सभ्यताको विशाल महललाई भत्काउने अधिकार कसैलाई छैन ! तपाइँ हामीले पक्कै गर्दैनौँ ।

०००

२०७९ साउन २०
मानिला मान्छेका धामा (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x