साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेबाट यत्ति आश गरौँ !

तपाइँ र भावी पुस्तालाई अत्तररूपी ज्ञानको पुस्तान्तरण गर्न पाका मान्छेका कुरा सुनौँ, गमौँ र मान्ने कोशिस गरौँ, यसैमा हामी मान्छेको सभ्यता विकसित र परिमार्जन हुँदै जान्छ ।

Nepal Telecom ad

प्रा.डा. मुकेशकुमार चालिसे :

संसारभरिमा भएका मानिस समूहका रैथाने आआफ्नै भनाई हरेक उमेर समूहका लागि फरकफरक तर उस्तै खालका सोचाई हरेक वर्णका बिच भेटिन्छन् । जातजातिका उल्लीबिल्ली लाउने तरिका पनि आफू सभ्य र जानकार तर अरू नजान्ने रूपमा वर्णन भेटिन्छन् । उमेरजन्य पाका मानिसलगायत हरेक उमेरसमूहका बारेमा राम्रा नराम्रा धेरै प्रसङ्ग पनि पाइन्छन् । मानव समाजको विकास प्रक्रिया नियाल्ने हो भने उन्नाईसौँ शताब्दिपछि संसारभरि आएको यान्त्रिक र राजनीतिक परिवर्तनले सकारात्मक साथै नकारात्मक कुराहरूले फड्को मारेका देखिन्छन् । यसको मुख्यकारण नै सायद हरेक जैविक अजैविक बस्तुको अस्तित्व र औचित्वलाई मूल्यसँगको तुलनागर्ने प्रवृत्ति अर्थात् बजारवादले होला । मानव साधनस्रोतलाई प्रमुख ठान्ने केही विचारहरू बाहेक पूँजीबजारमा नाफा र नोक्सानको लेखाजोखाअनुसार मान्छेको मूल्याङ्कन गर्ने गरिन्छ ।

हरेक उमेर समूहको आआफ्नै विशेषता र महत्त्व छ । बालबालिकाको निश्छलपन, निर्दोषिता, सिमित ज्ञान र अनुभवको कसिमा अनौठा कल्पना र डर आफ्नै खालका छन् । किशोरकिशोरीका उत्साह र सिकाईका पखेटा असम्भवतिर पनि कावा खाइरहेका हुन्छन । युवायुवतीका जोश, जाँगर र असिमित चाहनाले यति छलाङ्ग मारिरहेको हुन्छ कि उनीहरू बादलपारिको काल्पनिक स्वर्गतिर पुर्‍याइरहेको हुन्छ । वयस्कहरूमा योग्यताअनुसार कमाईधमाई र सामाजिक ईज्जत धान्न पसिना चुहाउन व्यस्त रहन्छन् । पाका मान्छे प्रायः सेवानिवृत्त जीवनमा शारीरिक अवस्था ठिकै रहे, अझै हाड घोटिरहन आफ्नो कर्तव्य ठान्छन्, पारिवारिक जिम्मेवारी ठान्छन् । शारीरिक कम सक्षम भए पाका मान्छे आफ्नो छ दशकभन्दा लामो अनुभवले अरूलाई नसके पनि परिवारलाई दुःख र खतरामुक्त पारिरहन बोल्न सक्छन् ।

आजकाल काखेबच्चा बाहेक सबै उमेरसमूहका घरबाहिर नै कम्तीमा दिउँसोभरि रहन्छन् । उमेरअनुसार विद्यालय जाने, काममा जाने, आयआर्जनमा जाने, घुमफिर वा सामाजिक काममा सक्षम सबै हिँड्छन् । सक्षम रहेसम्म त बाहिरफेर पाका मान्छे पनि मनग्य काम गर्छन् । घर कुरेर बस्ने प्रायः सेवानिवृत्त र शारीरिक कम सक्षम पाका मान्छे नै हुन् । यसरी मान्छेका कुनै उमेरसमूह फुर्सदमा भएको भेटिँदैन । पाका मान्छे असक्षम छैनन्, बोल्न मात्र सके पनि धेरै काम गरिरहेका हुन्छन् । पाका मान्छेका काम के के हुनसक्लान् त ?

पाका मान्छेका कामः
हाम्रो नेपाली समाजको सामान्य अवस्थाअनुसार हेर्ने हो भने सबै उमेरसमूह उमेरअनुसारमा आआफ्नो कामकाममा लाग्दा पाका मान्छे समग्र परिवारको हितमा नै केन्द्रित भई चिन्तन, मनन् र काम गरिरहेका हुन्छन् ।

१. किसानी परिवार छ भने पाका मान्छे कुन बिऊबिजन राम्रो, बढि फल्ने, कीरा नलाग्ने भनी चिन्तन गरी अनुभवका आधारमा त्यसलाई लगाउन उत्सुक हुन्छन् र बिऊ राख्न भन्छन् । बिऊ कसरी राख्दा धुल्याहा लाग्दैन र अर्को वर्षलाई पनि काम लाग्छ, जान्दछन् । त्यसकालागि उनीहरूलाई कृषि वैज्ञानिक वा अन्नबाली विज्ञ भइरहनु पर्दैन । कुन समय ब्याड राख्ने, कत्रो भएपछि ब्याडबाट सार्ने सबै हेक्का हुन्छ पाका मान्छेलाई । बाली लगाई सकेपछि कतिखेर गोडमेल, झार केलाई, उकेरा लाउने र आवधिक पानीको सिँचाईबारे सतर्क हुन्छन् र भन्छन् । कस्तो अवस्था आएपछि बाली भित्र्याउने र बालीको अखाद्य जैविक वस्तुको कस्को प्राङ्गारिक मल हुन्छ हुन्न सबै थाह हुन्छ । त्यस्तै कुन बालीको के कति घरायसी ईन्धन प्रयोग गरेमा दाउराको बचत हुन्छ त्यस्ता कुराको पनि जानकारी हुन्छ । खेती किसानी नै गर्ने परिवारमा के पाका मान्छे आफू शारीरिक काम गर्न धेरै नसके पनि उहाँहरूका त्यस्ता कुरा सुन्ने गर्नुपर्दैन र ? के उहाँहरूका कुरा मानिदिँदा परिवारलाई घाटा हुन्छ र ?

२. बन्दव्यापार गर्ने परिवार छ भने पाका मान्छेले अरू काम गर्न नसके पनि पसल वा व्यापार चलाउने ठाउँमा आसन जमाएर बसे भने वयस्कहरूलाई कति भरोसा हुन्छ, होइन र ? पाका मान्छेलाई आफू कहाँ नियमित सामान पठाउने कम्पनी र आउने ग्राहकको राम्रो हेक्का हुन्छ । उहाँहरू कस्तासँग कस्तो व्यवहार गर्ने भन्नेमा पनि पोख्त हुनुहुन्छ भने समस्या आएमा कसरी सल्टाउने भन्ने पनि जान्नुहुन्छ । नयाँ चिजविज बिक्रीवितरण र प्रचारमा आए विभिन्न तरिकाले जाँचपरख गर्न साथै आफूले व्यवहार गरे फाइदा बेफाइदा हुने अनुमान र आङ्कलन गर्न उहाँहरू सहजै सक्नुहुन्छ । त्यसैले आफूले किनिदिँदा ठगिने र आफ्ना ग्राहकमा अविश्वास सिर्जना हुने दुर्घटना नै हुँदैन । अनुभव र ज्ञानका कारण वस्तुको गन्ध, रङ्ग, वजन, बान्की र अवस्थाबाटै पनि निरोपण गर्ने क्षमता पाका मान्छेमा हुन्छ । रकमी र प्रष्ट व्यवहारले उहाँहरू सबैका विश्वासिला र भरपर्दो भएकोबाट परिवार सदस्यले पनि ज्ञान सिक्नेमात्र होइन आफूलाई स्थापित गराउन सक्छन् । उहाँहरूको कुरा सुन्ने र मान्ने गर्दा फाइदा त घरपरिवार सबैलाई भएन र ? पुस्तैनी व्यवसाय र बन्द व्यापार गर्नेको ईज्जत हेर्नुहोस् त, कति भरविश्वास गर्छन् सर्वसाधारणले ?

३. ज्ञानविज्ञान, प्रविधि र बौद्धिक क्षेत्रमा काम गरी सेवानिवृत्त पाका मान्छेबाट त्यसैअनुसार घरपरिवारलाई उपलब्धि हुनसक्छ । उहाँहरूको शारीरिक अवस्था कमसक्षम रहे पनि परिवारका हरेक उमेर समूहको उन्नति र बाटो पहिल्याउने सल्लाह सुझावको महत्त्व बढि हुन्छ । अलमलमा परिरहेका बेला उहाँहरूको मार्गनिर्देशन वनमा अलमलिएर भौँतारिएकालाई गोरेटो देख्याजस्तो हुन्छ । कुन विषय समाज, देश र मानवजातिको हितमा हुन्छ र परिवारको ईज्जत, नाम, र आर्थिक हिसाबले उपयुक्त हुन्छ भन्ने ठम्याई, छ दशक पार गर्दा भोग्नुपरेका हण्डर–ठक्करबाट उहाँहरूले सहजै खुट्ट्याई दिन सक्नुहुन्छ । यस्तो अगुवा मान्छे घरका पाका मान्छे छँदाछँदै अरूलाई सोधिरहनु पर्ला र ? के पढौं, के गरौँ र कुन काम गरौँ भनेर उहाँहरूलाई नै सादर सोधौँ ! बरु उहाँहरूका अनुभव प्रकाशन गर्ने, उहाँहरू जस्तैको भेटघाट गराइदिने र पाको उमेरकाले पनि समाज विकासमा योगदान गर्न सक्छन् भनि आत्मविश्वास जगाइदिने पो गर्नुपर्ला, होइन र ?

४. सुरक्षा र प्रसाशनिक निकायबाट अवकासप्राप्त पाका मान्छेले आफैँ गर्न नसक्ने अवस्थामा उहाँहरूका काम फत्ते गर्ने व्यवहारिक क्रियाकलाप र स्पातिलो अनुशासनको सल्लाह घरपरिवार चलाउनसमेत काम लाग्छ । त्यस संस्कारमा हुर्किएका बालबालिका र किशोरकिशोरीहरूले विद्यालयबाट प्रशंसा नै पाएको देखिन्छ । त्यस्ता परिवारका वयस्कहरूको क्रियाकलाप समाजमा अनुकरणीय भएको चर्चा सर्वत्र सुनिन्छ । तपाईं वयस्कहरूले पाउने ईज्जत तपाईंकै घरका पाका मान्छेले आर्जन गरेको ईज्जत र ज्ञानको एक अंशमात्र हो है ! तपाईंले उहाँहरूका कुरा सुन्ने मान्ने नगरेको भए तपाईंको ईज्जत आकाशबाट झरेर आएको होइन है । राम्ररी गुन्नुहोस् ! घरायसी असल वातावरण र सामाजिक ईज्जतको चुलीको जगमा तपाईंहरूका पाका मान्छे हुनुहुन्छ । जगमा खिया पार्न वा भत्काउने काम गरेर आफ्नै सपनाको महल नलडाउनोस् !

विगतः
आजका पाका मान्छेले आफ्ना बाआमा हजुरबा हजुरआमा बिरामी पर्दा डोकोमा बोकेर भए पनि प्रचलित मान्यताअनुसार धामीझाँक्री, झारफुक गर्न र उल्टा ख्वाउन लग्नुभयो । असाध्ये भएमा कहीँकतै विदेशमा पढेर आएका वा स्कुल चलाउन आएका भनी धर्म प्रचारमा आएका गोराको बाससम्म आफन्त बचाउन कुद्नुभयो । पूजा, दान, यज्ञसमेत गराउनु भयो र कालो गन्हाउने बोको घरमा राखेर हुन्छ कि काटेर दशा मन्साउने गर्न सम्पती सक्नुभयो । अहिले फरक कालबेला छ, औषधि विज्ञानको राम्रो विकास भएको छ । धेरै ठाउँमा राम्रा अस्पताल नभएपनि औषधि विज्ञानका प्रारम्भिक जानकारी राख्ने औषधि पसल खुलेका छन् । रोगव्याधको प्रकोप देखिएमा सामान्यतया चिनेजानेका त्यस्ता पसलले पनि सहयोग गर्न र बाटो देखाउन सक्छन् ।

परिवारका शिष्ट सदस्य तपाईं आफैँ पनि हेक्का राख्नु भएको होला, तपाईंका घरका पाका मानिसको दिनचर्या ! तपाईंहरूकै हित ठानेर तपाइँहरू केटाकेटी छँदा उहाँहरूको वयस्क बेला कमाईधमाईमा एकाग्र बनेर सकेको कमाउनुभयो । खानपिन र आरामको ख्याल नगरी गरिएको त्यस्ता अर्थोपार्जनले उहाँहरूमा चालिस वर्ष नाघेदेखि नै अछन्द्याइलो बोसो जीउमा लागि मोटोपन विकास भयो । मोटाएर राम्रो देखिएको भन्ठाने पनि बिस्तारै कम्मरमुनिको भाग सुक्ने र पेट ह्वात्त बढेर अरू रोगहरूलाई अनुकूल भयो । पचासको हाराहारीमा रक्तचापको समस्या सामान्य हुन थाल्यो र बसीबसी गर्ने काम बाहेक शारीरिक श्रम गर्न पसिना नै आउने हुन थाल्यो । श्रमको अभाव, उमेरको वृद्धि, तागतको नाममा चखिलो र तेलीय पदार्थको आकाङ्क्षाले सायद उहाँहरूमा मधुमेह, मिर्गौलाको समस्या र नसा च्यापिने पनि भयो होला ! पाको उमेरमा सेवा निवृत्त भएर वा रोगले गाँजेर बिस्तारै घरआँगनबाट टाढा जान नसक्ने हुनुभएको पनि होला !

परिवारको हितमा नै जानिनजानी मिहनेत गरेर तपाइँको परिवार अहिलेको अवस्थामा पुर्‍याउने त तिनै पाका मान्छे होइनन् र ? अब आफ्नो पारिवारिक हैसियतका मूलाधार ती पाका मान्छेलाई हेलाँहोचो र अर्घेलो ठान्ने गल्ती परिवारले गर्न होला त ? हो, दिनरात उहाँहरूकै अघिपछि पूजा गरेझैँ झुम्मिनु पर्दैन, केवल शिष्ट व्यवहार, भनेका कुरा मान्ने, सुन्ने र सकेसम्म गुन्ने गरे त भइहाल्यो नि । त्यस उमेरमा सबैभन्दा मन नपर्ने भनेको दशौँ भोटो फटाएर परिवारको उन्नतिमा जोवन अर्पेकालाई सक्रिय वयस्कले अनादरसाथ अह्राउने, आदेश दिने, शारीरिक काम गर्न लगाउने, अझ झर्कोफर्को गरेर होच्याउने व्यवहार ठिक होइन । पक्कै तपाइँहरू यस्तो अमानवीय र अशिष्ट व्यवहार गर्नुहुन्न होला । बरु पाका मान्छेका कुरा सुन्नुहोस्, गुन्नुहोस् र सकेसम्म मान्नुहोस्, तपाइँहरूलाई फाइदाबाहेक नोक्सान केहि हुन्न ।

भनेको मान्नुहोस्‌ः
पाका मान्छे अथवा आफ्ना बाआमा, हजुरबाआमाले भनेको र ईच्छाअनुसार गर्नु वयस्कहरूको परम कर्तव्य नै हो । वयस्कहरूमा उमेरजन्य उत्साह होला नौला कुरा गर्ने, गर्नुहोस्, तर एकपटक पाका मान्छेको सल्लाह लिनुहोस् । उहाँहरूलाई तत्‌विषयको पूर्णज्ञान नभए पनि कुनै अठोटेको काम कसरी गर्ने भन्ने जुक्ति अवश्य हुन्छ । हरेक युगमा हरेक पल नयाँनयाँ काम भएका छन्, कोही परम्परामै टाँसिएका थिए, कोही नयाँ प्रयोग गर्न उत्साहित पनि भए । ती सबैको साक्षी तपाईंका घरमा नै रहेका पाका मान्छे हुनुहुन्छ । उहाँहरू आफैँले नगरे पनि ति अनुभवका आधारमा तपाईंलाई किञ्चित मर्का नपर्ने उपाय सुझाउन सक्नुहुन्छ ।

पाका मान्छेको लालनपालनबाट हुर्किएको आफ्‌नो उमेर, जोश, जाँगर र उहाँहरूकै भरथेगमा आर्जित तपाईंको योग्यता हो । त्यो गुनको बदला उहाँहरूकै कुरा नमान्ने, घमण्ड देखाउने र अनुभवका खात भएका पाका मान्छेका अस्तित्वलाई नकार्ने कुबुद्धि नगर्नोस् । नत्र रहँदाबस्दा तपाईंकै सन्तानले तपाईंको व्यवहारले त्यही उल्टोउल्टो सिकेर उछित्तो काट्न के बेर ?

सुरक्षित भविष्य र आफ्नै पाको उमेरका लागि पनि तपाईं आफ्ना घरमा पाका मान्छेका कुरा मान्ने र ध्यान दिने परम्परा बसाली हाल्नोस् । त्यो घरायसी व्यवहारले तपाईंको घरमा ‘तीक्ष्ण मूल्याङ्कन गरी खबरदारी गर्ने, समग्रको हितअहित बिचार्ने अभिभावक हुनुहुन्छ र हामी त्यसैले ढुक्क हुन सक्छौँ’ भन्ने ढाडसयुक्त अनुशासन कायम हुन्छ । भनेपछि अहिले तपाईंले गरेको व्यवहारले तपाईंको नातिनातिना पुस्तासम्म राम्रो गर्दै हुनुहुन्छ है, गर्व गर्नुहोस् ठिक गर्दैछु भनेर !

भनेको सुन्नुहोस्‌ः
हरेक मानिसले लामो जीवनकालमा सिकेका कुरामा भोगेका अनुभवबाट बिचार बनाएको हुन्छ । पाका मान्छेका कुरा सुन्नु पर्दछ, त्यो त सैयौँ फूल चहारेर माहुरीले थोपाथोपा पराग जम्मा गरेर बनाएको महजस्तो हो । पाका मान्छेका कुरा समाज विकास र उन्नतिका लागि त्यस्तै पोषिलो उपहार हो । तपाईं आफूले श्रम नै नगरी केवल नम्रताले पाउने बहुमूल्य मानव सम्पती हो । उहाँहरूले सम्झाएका अथवा दिएका अर्तिउपदेश सुन्नुहोस्, तपाइँलाई समस्यामा प्रष्ट हुन झन सजिलो हुनेछ ।

तपाईंलाई हाम्रो नेपाली समाज विकासक्रम बुझ्न पनि रैतीको तहमा भोगाईको निष्कलङ्कता त तपाईंका पाका मान्छेले मात्र भन्नु हुनेछ । यतिखेर उहाँलाई कुनै लोभ र डरले सत्य बोल्न पछि हटाउँदैन । विगतको सजिव चित्रणमा रमाउन चाहनुहुन्छ र आफैँ जानकार हुन चाहनुहुन्छ भने पाका मान्छेका कुरा सुन्नु परेन त ?

पाका मान्छेहरू ‘गनगने, किचकिचे, मुख चिलाएर बोल्ने’ होइनन् बरु आफन्तले आफैँले भोगेको गल्तीमा नपरुन् भनि केही हुनासाथ बोल्ने हुन् । पाका मान्छेका कुरा सुन्नासाथ अडिने, सुन्ने र आवश्यक परे नबुझे सोध्ने हो, मुख चलाउने वा ओठे जवाफ फर्काउने होइन । बिचार गरौँ, पाका मान्छे त सादर ज्ञान दिने भकारी हुन्, तपाईंका कुरा र व्यवहारले भकारी प्वाल नपरोस्, खाली भाँडोजस्तो अवाक् नहोस् ।

स्वतस्फूर्त भनेको सुन्नु त छँदैछ, त्यस्तो बाहेक आफूलाई दोधार परेका सबै कुरामा पाका मान्छेका कुरा सुन्नुहोस् । तपाईंलाई भनिएको सामान्य सल्लाहले पनि तपाईंको कैयौँ समस्या सहजै हल हुन्छन् । भनेको नसुनेझैँ गर्दा नै अझै मान्छन् कि, आफ्नै सन्तान हुन बेमाख हुन त दिनुभएन भन्ने मायाले कुरा दोहोर्‍याएर सुनाएको हो । सुनेर मान गर्न सक्नुहुन्न भने हियाउने, बेवास्ता गर्ने, सुन्या नसुनेझैँ गरेर अवज्ञा र अपमान त नगर्नोस् न !

गम्नुहोस्‌ः
पाका मान्छेले भनेको बेला अदबका कारणले भनिहाल्ने बानी छैन भने मनमनै गम्नुहोस्, कडा र गालीजस्तै लागे पनि शान्त भएर गम्नुहोस् । पाका मान्छेले आफ्ना सन्तान तुरुन्तै अप्ठ्यारोमा परिहाल्छन् कि भनेर अनुभवको निचोडको रूपमा हुन्छ हुँदैन वा नगर्न भन्न सक्छन् । तपाईंले अठोटेको कुरासँग बेमेल भए दोहोर्‍याएर आफ्ना कुरालाई बिस्तारमा उहाँहरूलाई सादरपूर्वक भन्नुहोस् । थप व्याख्या उहाँहरूबाट आए फेरि गम्नुहोस् ।

सुनेको ढाँचा पारेर गम्ने नाममा कुरै लागु नगर्ने, आफ्‌नै बाटोमा हिँड्ने नगर्नोस् । पाका मान्छेले उहाँहरूका कुरा लागु नभएको तुरुन्त थाहा पाउनुहुन्छ । उहाँहरूका सल्लाहपछि तपाईंका हिँडाई, बोलाई र सक्रियताबाटै उहाँहरू तपाइँका आज्ञाकारिताको परख गर्न सक्नुहुन्छ । पाका मान्छेका कान, नाक, आँखा कमजोर होलान् तर आफन्तका क्रियाकलापलाई उहाँहरूले हावा चलेकैबाट थाहा पाउनु हुन्छ, झुक्याउन त खोज्दै नखोज्नुहोस् ।

आफ्ना कुरा ईमानी र भद्रतापूर्वक राख्नुहोस्, पाका मान्छेले पारख गरिहाल्नुहुन्छ । समयक्रमले उहाँहरूले नबुझे सोही कुरा झिँजो नगरी शिष्टतापूर्वक दोहोर्‍याउनुहोस् साथै त्यसकुरामा आफ्नो आशय र सम्भावनालाई पनि प्रष्ट पार्नुहोस् । पक्कै भद्र सहमतिमा समस्या समाधान हुन्छ ।

अन्त्यमा,
पाका मान्छे तपाईं वयस्क जति शारीरिक रूपले सक्रिय नहुन सक्नुहुन्छ । ज्ञान र अनुभवको भकारी त उहाँहरू उमेरकै कारणले पनि तपाईंभन्दा छ दशक अघिको हुनुहुन्छ । तपाइँले आशा गर्ने भनेको उहाँहरूको उचित अभिभावकत्व र सल्लाह नै हो । तपाइँ र भावी पुस्तालाई अत्तररूपी ज्ञानको पुस्तान्तरण गर्न पाका मान्छेका कुरा सुनौँ, गमौँ र मान्ने कोशिस गरौँ, यसैमा हामी मान्छेको सभ्यता विकसित र परिमार्जन हुँदै जान्छ । पाका मान्छेलाई अप्ठ्यारोमा पारेर, अभद्र, हेँलाँहोचोको व्यवहार गरेर मानव सभ्यताको विशाल महललाई भत्काउने अधिकार कसैलाई छैन ! तपाइँ हामीले पक्कै गर्दैनौँ ।

०००

२०७९ साउन २०
मानिला मान्छेका धामा (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x