जीवनाथ अधिकारीप्रौढावस्थामा विस्मरण (Forgetfulness) र उमेरको सम्बन्ध
सम्झनामा थोरै कठिनाइ, नाम वा कुराहरू बिर्सिनुजस्ता समास्या देखिन्छन् तथापि यसलाई सक्रिय जीवनशैली, मानसिक व्यायाम, स्वस्थ खाना, पर्याप्त निद्रा, सामाजिक संलग्नता र दैनिक कार्यहरूको सङ्गठनबाट निकै हदसम्म सुधार गर्न सकिन्छ ।

जीवनाथ अधिकारी :
मानिस जब प्रौढावस्थातिर पाइला टेकेर ३०–४० वर्षको उमेर पार गर्न थाल्छ अनि बिस्तारै उसको मस्तिष्कमा स्मरणशक्ति तथा संशोधन गति (Processing Speed) (फुटनाेट 1.) मा क्षय, सेतो पदार्थ (White Matter) (फुटनाेट 2.) को संरचनात्मक कमी र न्युरोनल नेटवर्कहरू (फुटनाेट 3.) को क्षमतामा घटबढ हुन थाल्छ । परिणामस्वरूप काम पूरा गर्न, निर्णय लिन, निर्देशन पालन गर्न वा वार्तालापमा समयमै उत्तर दिनमा केही ढिलाइ महसुस हुन सक्छ, व्यक्तिमा समयमै माथिका कुरा जानकारीमा आउने क्षमता बिस्तारै घट्न थाल्छ । मस्तिष्कको संशोधन गति अर्थात् नयाँ जानकारी लिन र निर्णय गर्न लाग्ने समय लामो हुन्छ । यसका कारण स्मृतिसम्बन्धी केही समस्या सामान्य रूपमा देखा पर्छन्— जस्तै नयाँ घटना बिर्सिनु, फोन नम्बर सम्झन गाह्रो हुनु, कुनै वस्तु कहाँ राखियो भन्ने भुल्नु आदि।
मस्तिष्कको संरचनात्मक परिवर्तन
उमेर बढ्दै जाँदा मस्तिष्कका मुख्य संरचनाहरू जस्तै, हिप्पोक्याम्पस (Hippocampus) (फुटनाेट 4.), फ्रन्टल लोब (Frontal Lobe) (फुटनाेट 5.) र टेम्पोरल लोब्स (Temporal Lobe) (फुटनाेट 6.) मा कोषहरूको सङ्ख्यामा घटबढ हुन्छ । हिप्पोक्याम्पसले नयाँ घटना (Episodic Memory) र स्थानीय ज्ञान (Spatial Memory) सम्बन्धी कार्य गर्छ । यो हामीमध्ये धेरैको २० वर्षपछि बिस्तारै सानो हुँदै जान्छ । त्यसै गरी सेतो पदार्थ (White Matter) को घट्ने क्रमले स्नायुहरूबिच सूचना सञ्चारको मार्गमा कमजोरी आउँछ । यी संरचनागत परिर्वतनहरूले मस्तिष्ककार्यलाई प्रभावित गर्छन्, जसले गर्दा व्यक्तिमा नयाँ सम्झनाहरू सीमित हुन पुग्छन, काम गर्नुपर्ने जानकारी (Working Memory) लामो समयसम्म राख्न गाह्रो हुन्छ ।
स्मरणका प्रकारहरू र उमेरको प्रभाव
स्मृति दुई प्रकारको हुन्छ :
घटनास्मृति (Episodic Memory) : यो मैले के, कहाँ, कहिले गरेँजस्ता विशेष घटना सम्झने क्षमता हो। यसमा विशेष गिरावट वा कमी आएको देखिन्छ ।
ज्ञानस्मृति (Semantic Memory) : यसमा सामान्य ज्ञान र शब्दावली समावेश हुन्छन्, जसले प्रौढ र वृद्धावस्थामा स्थिर वा केही हदसम्म सुधार भएको पनि पाइन्छ ।
यसै गरी अल्पकालीन स्मृति (Working Memory) पनि क्षीण हुँदै गएको हुन्छ, जसका कारण एकसाथ एउटाभन्दा बढी जानकारी सम्झन कठिन हुन्छ ।
विस्मरण कहिले सुरु हुन्छ ?
मस्तिष्कको विकास २५ वर्षको उमेरसम्ममा चरमोत्कर्षमा पुग्छ र त्यसपछि बिस्तारै घट्न थाल्छ । ३०–४० वर्षको उमेरतिर सेतो पदार्थको संरचना क्षय हुन प्रारम्भ हुन्छ भने ४०–५० वर्षको बिचमा हिप्पोक्याम्पस (संस्मरण अङ्ग) को आकार र व्यावहारिकता घट्न थाल्छ । त्यतिबेला कुनै पनि कराको संस्मरणमा प्रक्रियागत ढिलाइ चाँडै महसुस हुन्छ, कुरा बुझ्न र आफ्नो निर्णय गर्ने क्षमतामा पनि ह्रास आएको अनुभव हुन्छ।
सामान्य र असामान्य विस्मरण
सामान्य विस्मरण :
सामान्य विस्मरण अथवा Age-Related Forgetfulness भन्नाले उमेर बढ्दै जाँदा हुने सामान्य स्मरण ह्रासलाई जनाउँछ । यसले दैनिक जीवनलाई विशेष रूपमा असर पार्दैन । यसका केही उदाहरण हेरौँ :
• आँखाको चस्मा वा चाबी कहीँ राखेर सो स्थान बिर्सिएको तर तुरुन्त सम्झेर ल्याउन सकिन्छ ।
• कुनै परिचित व्यक्तिको नाम बिर्से पनि पछि याद आउँछ या समयसँगै सम्झिन सकिन्छ ।
• खाना पकाउन वा पटक-पटक सँगै गरिने काम गर्न पहिलेभन्दा अलिकति सुस्त गतिमा हुन्छ तर अन्त्यसम्ममा पूरा गर्न सकिन्छ ।
• कुनै कुरा पढ्दा बिचमै भुल्ने हुन्छ तर पछि सम्झेपछि नराम्रो लाग्दैन ।
• ‘टिप अफ टङ्ग’ (Tip of the Tongue) यस्तो अवस्था हो, जहाँ कुनै शब्द वा नाम जानिरहन सकिन्छ र त्यो शब्द स्मरणमा भएको जस्तो लाग्छ तर भन्न आउँदैन । यस्तो अवस्थामा प्राय: मानसिक रूपमा ‘त्यो शब्द मेरो जिब्राको टुप्पामा छ’ भन्ने महसुस गराउँछ, जहाँ शब्द नाम मात्र याद आउँछ तर पूर्ण रूपमा सम्झेर भन्न सकिँदैन । जस्तो शब्द खोज्न गाह्रो भएको हुन्छ तर केही समयपछि फेरि याद आउन सक्छ ।
सामान्य विस्मरणका विशेषताहरू
• सङ्गठनात्मक प्रभाव नगर्ने : दैनिक कामकाज (खाना पकाउने, यात्रा, आर्थिक निर्णय इत्यादि) सामान्य रूपमा गर्न सक्छन् ।
• थोरै र अल्पकालीन : एकदुईवटा छुटेका स्मरण वा विस्मरणहरू सामान्य हुन्छन्, यो अवस्था निरन्तर रहँदैन वा गम्भीर हुँदैन ।
• समयसँगै सुधार हुन सक्ने : कहिलेकहीँ धन्यवाद दिन, नाम वा ठाउँ बिर्सिए पनि केही समयपछाडि स्मरणमा आउँछ ।
• धेरै जटिल चुनौती नल्याउने (Multitasking) : Multitasking भन्नाले एउटै समयमा एउटाभन्दा बढी काम (Tasks) गर्न खोज्नु हो तर वास्तवमा हाम्रो मस्तिष्कले ती कामहरूलाई सँगसँगै एकै पटक गर्न नसक्ने हुँदा हामी अलग अलग रूपमा तर एउटै समयको रेखाभित्र लगातार काम गर्न खोज्छौँ, जसले हाम्रो ध्यान विभाजन हुन्छ, त्रुटि वृद्धि हुन्छ र प्रभावकारितामा कमी ल्याउँछ वा नयाँ सूचना सिक्न अलिकता चुनौती हुन सक्छ तर दैनिक काममा खासै बाधा पुर्याीउँदैन ।
असामान्य विस्मरण :
उमेरसँगै आउने सामान्य विस्मरणमा हामीले केही कुरा हराउने, नाम सम्झन गाह्रो हुने, सामग्री याद राख्न समय लाग्नेजस्ता अनुभव गर्छौँ तर विस्मृतिको रोग वा बिर्सने रोग (Dementia) वा थोरै बढी संज्ञानात्मक ह्रास ( Mild Cognitive Impairment (MCI) जस्ता अवस्था भने धेरै गम्भीर र असामान्य हुन्छन् । उदाहरणका लागि नियमित जीवनयापन गर्न असमर्थ हुनु, दैनिक काम बिग्रनु वा कुरा सम्झने कठिनाइले जीवन प्रभावित गर्नुजस्ता लक्षण देखा पर्दछन् ।
असामान्य विस्मरण भन्नाले यस्तो स्मरण समस्या हो, जुन साधारण उमेरसँग हुने भुल वा विस्मरणभन्दा बढी गम्भीर र निरन्तर हुन्छ र दैनिक जीवन र कार्यक्षमतामा निकै प्रभाव पार्छ । यस्तो अवस्था डिमेन्सियाजस्ता संज्ञानात्मक विकारसँग सम्बद्ध हुन सक्छ, जहाँ समस्याहरू सम्झना, भाषा, समय, स्थान, सम्बोधन, निर्णयशक्ति र व्यवहारमा देखा पर्न सक्छन् ।
असामान्य विस्मरणका मुख्य विशेषताहरू
• नियमित रूपमा नयाँ सूचना (जस्तै, भर्खर भनिएको कुरा) बिर्सिन्छ र पहिलाको स्मरणमा आफूलाई पुर्यााउने प्रयासले पनि काम नलाग्नेजसरी जानकारी हराउँछ ।
• परिचित स्थानहरूमा बारम्बार हराउनु, समय, मिति वा स्थान बुझ्न कठिनाइ हुनु, दैनिक कार्य सम्पादनमा असमर्थता– जस्तै खाना बनाउन, फोन प्रयोग गर्न, आर्थिक व्यवहार गर्न असमर्थ हुन्छन् ।
• शब्द बोल्ने क्रममा लगातार रोकावट, नाम वा शब्द भेट्टाउन कठिनाइ वा भाषणमा ‘Word Finding’ (फुटनाेट 7. )जस्ता समस्या देखिने हुन्छ ।
शारीरिक–मानसिक स्वस्थताका लागि रणनीतिहरू
नियमित व्यायाम, विशेष गरी एरोबिक व्यायामले हिप्पोक्याम्पसको आकार र स्मृतिसुधारमा सहयोगी भूमिका खेल्छ । नाइट्रोजनयुक्त पोषिलो खाना शारीरिक सबलीकरणमा राम्रो मानिएको छ।
ध्यान दिनुपर्ने केही उपायहरू :
शारीरिक सक्रियता : हप्तामा कम्तीमा १५० मिनेट मध्यम तीव्र व्यायाम गर्नु उपयुक्त मानिन्छ।
मानसिक व्यायाम : तर्कशक्ति प्रशिक्षण (Reasoning Training), (फुटनाेट 8.) खेल, सङ्गीत वा नयाँ भाषा सिक्ने माध्यममा संलग्न रहनु पनि उपयुक्त हुन्छ ।
सामाजिक संलग्नता : साथीभाइसँग घुलमिल, स्वयम्सेवा वा अनलाइन भेटघाटले मनोस्वास्थ्य र स्मृति कायम गर्न मद्दत गर्छ ।
स्वास्थ्य व्यवस्थापन : निद्रा, मनोदशा, रक्तचाप, मधुमेह, निद्रा एपनिया (Sleep Apnea), (फुटनाेट 9.) मिर्गौलामा विशेष ध्यान दिनुपर्छ ।
दैनिक जीवनसंरचना : दैनिक प्रयोगका वस्तुहरूका लागि निश्चित स्थान निर्धारण गर्ने, ध्यानपूर्वक सूची बनाउने, तालिका बनाएर काम गर्ने आदिले स्मृतिमा सहायता गर्छ ।
अन्य उपायहरू
१. शारीरिक व्यायाम– दिमागमा रक्तप्रवाह बढाउँछ, स्मृति क्षमता सुधार्न सहयोग पुग्छ ।
२. मानसिक व्यायाम– पढ्ने, क्रसवर्ड खेल्ने, नयाँ सिप सिक्नेजस्ता क्रियाकलापले दिमाग सक्रिय राख्छ ।
३. सामाजिक सम्बन्ध– साथीभाइसँग समय बिताउनाले मानसिक तनाव कम, हाम्रो दिमाग पनि जागरुक रहन्छ ।
४. स्वस्थ खानपान र निद्रा– फलफूल, सागसब्जी, माछामासुजस्ता पोषक तत्त्वयुक्त खाना खाने गर्नाले र ७–९ घण्टा नियमित निद्राले स्मृति मजबुत बनाउँछ ।
५. चिकित्सकीय निगरानी– यदि स्मृति गुम्ने समस्याले दैनिक गतिविधिमा असर गर्छ भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
यी उपायहरू नियमित अपनाउनाले वृद्धावस्थामा देखिने विस्मरणलाई सहजै कम गर्न सकिन्छ।
निष्कर्ष
यसरी हेर्दा प्रौढावस्थामा विस्मरण स्वाभाविक भए तापनि पूर्ण निराश हुनुपर्ने अवस्था होइन । राम्रो जीवनशैली, सक्रिय दिमाग तथा शरीर र नियमित मानसिक–सामाजिक अभ्यासले स्मरणशक्ति बचाउन र विस्मरण वृद्धिको प्रभाव न्यून गर्न सकिन्छ । वृद्धावस्थामा देखा पर्ने सामान्य विस्मरण (Memory Loss) लाई सङ्क्षिप्तमा यस प्रकार बुझ्न सकिन्छ :
वृद्धावस्थामा देखिने स्मृति गुम्ने समस्या सामान्य मानिन्छ । चाहिने बेलामा सम्झनामा थोरै कठिनाइ, नाम वा कुराहरू बिर्सिनुजस्ता समास्या देखिन्छन् तथापि यसलाई सक्रिय जीवनशैली, मानसिक व्यायाम, स्वस्थ खाना, पर्याप्त निद्रा, सामाजिक संलग्नता र दैनिक कार्यहरूको सङ्गठनबाट निकै हदसम्म सुधार गर्न सकिन्छ ।
थप कार्यमा घरमा सूत्र वा तालिका बनाई लिखित रूपमा वा स्मार्टफोन प्रयोग गरेर कार्यहरू टिपोट गर्ने गर्नु राम्रो हुन्छ । यदि यति गर्दा पनि समस्या बढ्दै गएमा भने चिकित्सकसँग सल्लाह लिनु उपयोगी हुन्छ।
फुटनाेट
1. संशोधन गति (Processing Speed)—;संशोधन गति भन्नाले मस्तिष्कले सूचना ग्रहण गरेर त्यसलाई विश्लेषण गरी उपयुक्त प्रतिक्रिया दिन लाग्ने समयलाई जनाउँछ। खासमा यो हाम्रो मानसिक प्रतिक्रियाको समय हो । हामीले देख्ने, सुन्ने वा महसुस गर्ने जानकारीलाई कति छिटो बुझ्ने र त्यसैअनुसार क्रिया गर्ने भन्ने क्षमता नै शंसोधन गति हो । उमेरसँगै यो गति घट्न थाल्छ किनभने माइलिन तह (myelin sheath– स्नायुवरिपरि घुमेर बनेको एउटा फ्याटी प्रोटिनयुक्त सुरक्षात्मक र इन्सुलेटिङ आवरण हो, जसले स्नायु सङ्केतलाई छिटो र कुशल रूपमा सञ्चार गर्न सक्षम बनाउँछ ।) ले कार्य गर्ने क्षमतामा पनि ह्रास आउन थाल्छ ।
2. सेतो पदार्थ (White Matter) — मस्तिष्क र मेरुदण्डमा भएका तन्तुहरूका गुच्छा हुन्, जुन माइलिनले आवृत्त (Myelinated Axons) हुन्छन् र यिनले मस्तिष्कका विभिन्न क्षेत्रहरूबिच छिटो र प्रभावकारी सङ्केत सञ्चार सुनिश्चित गर्छन् ।
3. न्युरोनल नेटवर्क— कम्प्युटरको दिमागजस्तो हाम् मस्तिष्कको संरचना हो, जसले सिकेर काम गर्न सक्छ । जस्तो हामीले देखेका चित्रहरू, सुनेका आवाजहरू, वा लेखिएका शब्दहरूलाई बुझ्न सक्छ ।
4. हिप्पोक्याम्पस (Hippocampus)— श्रवण ।
फ्रन्टल लोब (Frontal Lobe)— मस्तिष्कको अग्रभाग ।
5. टेम्पोरल लोब्स (Temporal Lobe – मस्तिष्को अस्थायी खण्ड ।
6. ‘Word Finding’ — यस्तो स्मरणसम्बन्धी समस्या हो, जहाँ वक्तालाई भन्नुपर्ने शब्द के हो भनेर थाहा हुन्छ तर स्मरणबाट निकाल्न सक्दैन ।
7. तर्कशक्ति प्रशिक्षण (Reasoning Training) तर्कशक्ति प्रशिक्षण भन्नाले सोच्ने र विश्लेषण गर्ने क्षमता (जस्तै योजना बानाउने, निष्कर्ष निकाल्ने) विकास गर्न तयार गरिएका अभ्यासहरूलाई जनाउँछ। यसले सूक्ष्म जानकारीलाई भाग भागमा विभाजन गरी तर्कसम्म पुर्यााउने क्षमता बढाउँछ, जसले समस्या समाधान र निर्णय क्षमता पनि सुधार गर्छ । प्रोसेसिङ गति प्रशिक्षण (Speed Training) ले सूचना छिटो पक्रन, विश्लेषण गर्न र प्रतिक्रिया दिन मस्तिष्कलाई प्रशिक्षित गर्ने अभ्यासहरूलाई जनाउँछ। यसले प्रतिक्रियासमय घटाउन, ध्यान कायम राख्न र सूचनाको प्रतिक्रिया गर्ने गति बढाउन मद्दत गर्छ ।
8. निद्रा एपनिया (Sleep Apnea)— यो निद्रासम्बन्धी एक रोग भन्नेबुझिन्छ, जहाँ सुत्ता सास रोकिने वा गहिरो निद्रा नपर्ने (Shallow Breathing) गरी बारम्बार समस्या हुन्छ । यसले निद्रा अवरोध गर्छ र दिनभरि थकाइ, ध्यानमा कमी, उच्च रक्तचाप, मुटुको समस्याजस्ता स्वास्थ्यसमस्या निम्त्याउन सक्छ ।
9. निद्रा एपनिया (Sleep Apnea)— यो निद्रासम्बन्धी एक रोग भन्नेबुझिन्छ, जहाँ सुत्ता सास रोकिने वा गहिरो निद्रा नपर्ने (Shallow Breathing) गरी बारम्बार समस्या हुन्छ । यसले निद्रा अवरोध गर्छ र दिनभरि थकाइ, ध्यानमा कमी, उच्च रक्तचाप, मुटुको समस्याजस्ता स्वास्थ्यसमस्या निम्त्याउन सक्छ ।
०००
२०८२ भदौ १
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest


































