डा. छायादत्त न्यौपाने ‘बगर’नेपाली मान्छे
खालि सीमित सामल र भ्रमपूर्ण आश्वासनले डकारेर सन्तोषको सास फाल्ने होडबाजीमा रमाउन पल्केको निम्छरो चिन्तनले चाउरिएको राजनीतिक संस्कार बोकेर पुर्खाको सान थिचिरहेका छन् ।
डा.छायादत्त न्यौपाने ‘बगर’:
दशकौं बिते प्रतीक्षाका घडी गन्दा गन्दै । उज्याला सपनाहरूले गन्तव्य छाडे । जीवन बचाउने स्वाभिमानी खेती गरेर आँगनभरि मुस्कान छर्ने रहर कहिले पूरा होला ? समताको साइनोले कसेको कूटनैतिक बलले भत्केका सीमारेखा जोड्ने साइत कहिले जुर्छ कुन्नि ? नेपाली फरक चिनारी भएका जनता ! बेग्लै संस्कार र संस्कृतिमा हुर्केका नेपाली । प्राचीन सभ्यताका पारखी । शिर उचालेर बाँच्न सिकेको संस्कृतिले सिकाएको संस्कारमा बाँधिएर बौचो थन्क्याउन सिपालु । बुद्धले अहिंसा, अरनिकोले कला, पृथ्वीले एकता, जयपृथ्वीले मानवता, देवकोटाले वाङ्मय, इच्छुकले समता हुर्काएको नेपाली आँगनका नेपाली हामी । वैदिक साहित्य र प्राचीन सभ्यतासँगै हुर्किएको नेपाली वाङ्मयका अनुयायी । हामी यस्तै गीता गाएर थाक्तैनौं बरु फुलेल हुन्छौं तर बिर्सन नहुने कुरा ! लिखत र बकतअनुरुप व्यवहार छ कि छैन हाम्रो ? यो प्रश्नले उत्तर हामीसँगै मागिरहेको छ ।
नेपाली भूगोल र प्रकृति सुन्दर छ र विविधताले पूर्ण पनि । नेपाली समाज बहुभाषा र संस्कृतिसँगै झाँंगिएको छ । नेपाली संस्कारले मानव जातिलाई सभ्य र शालीन तुल्याएको तथ्य विश्व समुदायले पनि स्वीकार गर्छ, गरिरहेको छ । नेपालीले निज संस्कृति प्राचीन मूल्यसँगै हुर्किएर विश्व-बजारमा पुगेको मानवीय संवेदनायुक्त इतिहासको जतन गर्नु छ । नेपाली मन र नेपालीपनले धेरै विदेशीहरूको मन जितेको छ तर स्वयं नेपालीहरू भने नाभीको कस्तूरी खोज्दै तातो बालुवा र चर्चहरूमा भौँतारिरहेका छन् । विचार र विवेकको खाँचो यहीँनेर खड्किन्छ । कस्तो अचम्म छ भन्या मास्तिर फर्केर थुके आफैंमाथि पर्छ भन्ने यथार्थ, नबुझ्या थाहा नपा कसरी भन्नु तर भएको छ यस्तै र पटकपटक दोहोरिएको पनि उस्तै । योजनविद् चाल पाउँदैनन् कि जिम्मेवारी बोध छैन ? परिणामको हेक्का गरिँदैन कि ‘ह्या ! चल्छ नेपालाँ’ भन्दै आफैं आफ्नो भित्री लुगा च्यातेर नाच्न थाल्छन् ? यो दृश्य देखेपछि बिडम्बना लाज मानेर मुख थुन्छ हामी स्वादले मुख मिठ्याउँछौं ।
हो, हामी गजब-गजबले बाँचिरा‘छौं । विदेशीले यति अनुदान दिन्छु भन्छ, हामी मक्ख ! दिन्छ पनि तर हामी अनुदानको प्राप्ति के, कसरी केका लागि प्रयोग हुन्छ, नियम-कानुन, विधि-विधानमा सचेत र सतर्क नभई ‘खान पाएँ भनेर क्वाप्प नखानु, बोल्न पाएँ भनेर प्याच्च नबोल्नु’ पूर्वज भनाइ समेत बिर्सेर हात थापिहाल्ने हतारो मच्चाएर चटारोले थिचिन्छौं । दिनेको स्वार्थ के छ ? वास्तै गर्दैनौं । पाएँ भन्यो हौसियो । दिएको सहयोग रकम ऊ आफैंले खर्च गर्छ, आफ्नै जनशक्ति ल्याउँछ, तलब सुविधा पनि आफैं तोक्छ डलरमा । दुई चार जना नेपालीलाई पनि डलरमै दिन्छ तर विदेशी अनुपातमा निकै थोरै । उसको तारतम्य नै हुन्छ कि पारिश्रमिक र कमिसनको माध्यमबाट सत्तरीप्रतिशत रकम उतै आफैतिर फर्काउन सकियोस् भन्ने । उसले बुझेको छ कि अनुदान लिने कमजोर विचार छ नेपालीको । सहयोग गर्छ भनेपछि जे भने पनि मान्ने अझ राजनीतिक नेता र सम्बन्धित शाखाको शाखाप्रमुखको त के कुरा ! अलिअलि चटाउने वातावरण मिल्यो कि भनेजस्तो सजिलो भइदिइहाल्छ विदेशीका लागि ।
कस्तो गजब छ विकासोन्मुख देशलाई सहयोग गरेको छु भनेर अन्तर्राष्ट्रिय जगत्सँग होक्काँ गर्न पनि पाइने, दस करोड डलर सहयोग गरेकोमा सजिलैसँग सात करोड उतै फर्काउन मिल्ने क्यामजा ! उसको आफ्नै तजबिज ! सान देशको बढ्ने जागिर आफ्नै जनताले पाउने । यस्तो सुसंयोग मिलेपछि कुन विदेशीले सहयोग गर्दैन नेपाललाई ? त्यसमाथि हात थाप्न हौस्याएर नझुकेको पुर्खाको शिर झुकाई झुकाई इतिहासमै कालो पोत्न लाज नमान्ने नेपाली चरित्र भेट्टाएपछि सहयोग नगर्ने शक्ति राष्ट्र कुन होला र ? नेतृत्वलाई देख्यौ त मेरो पहुँच कहाँ-कहाँसम्म छ ? भनेर चुनाव जित्न, जनता झुक्याउन, डलर कुम्ल्याउन र विदेश सैरमा पटकपटक हामफाल्न साइत पनि सजिलै जुर्ने ! अझ भनौं नेताको निगाहा भयो भने त चन्द्रमा दाहिनाको दाहिना जाबो विदेशी बोतलको के खाँचो ? दराजभरि सजिएकै छन्, अरु थप्न पाइने !
नेपाली जाति स्वाभिमानका साथ पौरखमा रमेका पुर्खाको सन्तति हो । यसो भनेको सुन्दा वरिपरि नियालेर मुसुक्क मुस्कुराउने बानी पनि छ नेपालीको आफ्नै । विडम्बना कहाँ पुगेर ठोकिन्छ र घाइते हुन्छ भनी मेलो नपाएपछि यस्तो दुर्घटना घट्छ ? नेपाली आपैm विवेकपूणर् भई छलफल र बहसबाट निष्कर्षमा पुग्नुपर्ने हो तर विवेक बौचामा थन्क्याएर ह्वात्तै हामफाल्ने र फुर्सतमा पछुताउने संस्कारले गर्दा पराइको कूटनीतिक सिकार भइरहेको छ आज एक्कइसौं शताब्दीमा पनि नेपाली र नेपाली राजनीति । हिलोमा पिठोसरि लथालिङ्ग पोखिएको छ नेपाली राजनीतिक चेतना ।
पटक-पटक धोका पाए पनि सुझबुझपूणर् निणर्यतिर लाग्दै नलाग्ने भौतिक सुखमा सीमित भई महमा माखाभैmँ जाकिने खन्चुवा संस्कृतिमा रमेको छ नेपालीपन जसले पुख्र्यौली अस्मिता बोकेको नेपाली मौलिकता र जातीय स्वाभिमानको हत्या गरिरहेको छ । यस्तो दुर्घटना दोहोरिन नदिन नेपाललाई माया गर्छु भन्ने सरकार, विदेश मामिलाका जानकार भनिने बुद्धिजीवी, त्वम् शरणम् भन्न नहिचकिचाउने जनप्रतिनिधि र तिनका कार्यकर्ता मित्रवर्ग समेत समस्त सबै नेपालीको इमानदार प्रयास नभई इतिहासमा दाग नलाग्ने गरी निकास प्राप्त हुँदैन भन्ने ! व्यवहारले तलुवा चाट्ने ? थाहा छ तर पहल गर्ने कसले ? कसले दिने यो प्रश्नको उत्तर ? कसले त्याग्न सक्छ स्वार्थ ? यस्तो हिम्मतिलो त्याग किन गर्ने ? कसले जोगी बन्नलाई राजनीति गर्या हो र ?
मान्छे आपूm परिश्रम नगरी खान पाउँदा जति आनन्द मान्छ त्यति नै नियम कानुन पालना नगर्दा खुसी हुन्छ, नियम मिचेर बहादुर बन्ने होडबाजीमा बँधुवा साँढेसरि डुक्रिदिन्छ घरभित्र तर वस्तुतथ्य पत्याउने हो भने गिदीको विवेक र इमानको अंकुश सन्दुकमा लुकाएर फोहोरको डंगुरमा रमाउन थालेपछि मान्छे दुर्घटनामा नपरेर छाड्छ ? दुर्घटित मनमस्तिष्कले भविष्य देख्ने कुरै भएन । उसले त अगाडिको भाग हेरेर राल काढ्ने रोग पालेको छ, लत लागेको रोगीले अरु के गर्छ ? यस्तो कमसल चिन्तनबाट अलिकति जोगिएर मानवीय मर्म र राष्ट्रिय अस्मिताको रक्षा गर्ने जिम्मेवारी कसले पूरा गर्ने होला ? जनता आपैm सचेत भएर कर्ममा समर्पित हुने हो भने केही राहत हात लाग्थ्यो कि ! तर के गर्नू जनताका आँखामा पट्टी छ, उनीहरू समग्रमा होइन कुनै एक पक्षमा टाँसिन्छन्, विश्लेषणै नगरी समर्थन दिन र लिन तम्सिन्छन् हल्लैहल्लामा ! दौडिने, कान छाम्न बिर्सने, यस्तै हुन्छ रे तिखो चेतनाका बोधा मान्छेको भीड !
जनता बबुरो कति सोझो ? जसले जे भनेर बोलाए पनि गइदिन्छ सडकमा । हिजो जङ्गल पसेकाले बोलाए त्यतै हानिए । नाकाबन्दीले पेल्यो, मौन बसे । देशमा अरुको हाली-मुहाली चल्छ जनता कोठेगफ गरेर बस्छ, असन्तोष आपसमा पोख्छ । न नेतृत्वलाई खबरदारी गरेर राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्छ ? न आपसमा मिलेर पराइलाई परास्त गर्ने गरी सडक तताउन जान्दछ । खालि आपसी छिनाझम्टी गरेर विलासमा बौराउँछ नेतालाई सजिलो हुने गरी । कस्तो अचम्मको रीत, कि यताका कि उताका नेताले मात्र मार्छन् तर र धीत पूरा गर्छन्, डोल्याउँछन् आफ्नो हित ।
अन्त्यसम्मै आफ्नै फेरमा अल्झेर चुनावी चर्खा चलाई चलाई विदेशी बङ्गुरसँग साट्छन् जनता, साटिन्छन् जनता, मौलाउँछ बेथिति ! हामी ङिच्च दाँत देखाएर ‘हामी नेपाली हाम्रो नेपाली गीतगानसँग झुम्न थाल्छौं, ओठ-ओठमा बस्छ बेथितिले गाँसेको पिरती र त्यसैको तुना कसेर घरघरमा पुग्छ बौचो ! बौचो फुकाएर घाममा सुकाउने साहस नयुवा अगुवामा छ सार्वभौम न जनतामा ! खालि सीमित सामल र भ्रमपूर्ण आश्वासनले डकारेर सन्तोषको सास फाल्ने होडबाजीमा रमाउन पल्केको निम्छरो चिन्तनले चाउरिएको राजनीतिक संस्कार बोकेर पुर्खाको सान थिचिरहेका छन् । उर्वर फाँटमा विचारको बिउ रोपेर नैतिक चरित्रमा साहसिलो सिँचाइ गर्ने दूरदर्शी युवाको प्रतीक्षा कहिलेसम्म गरिरहनुपर्ने हो ? ‘अस्तु’
०००
पर्वत, हाल काठमाडौं







































यथार्थ गुरुवर ।🙏